७ वैशाख २०८१ शुक्रबार
राजनीति

गाउँ प्रमुख र वडा प्रमुखका लागि शिक्षकको राजीनामा

खोटाङ – खोटाङमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि विभिन्न दलमा आस्थावान शिक्षकले राजीनामा दिन थालेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा गाउँ प्रमुख र वडा प्रमुखमा उठ्नका लागि शिक्षकको राजीनामा आउन थालेको हो । 

कतिपय शिक्षकले उम्मेदवार पाउने निश्चित भएपछि राजीनामा दिएका छन् भने कतिपयले पदबाट राजीनामा दिएर टिकटका लागि कसरत गरिरहेका छन् । जिल्ला शिक्षा कार्यालय खोटाङका अनुसार वैशाख ३ गते यता १२ शिक्षकको राजीनामा आएको छ । 

सिमपानी क्याम्पस सिमपानीका प्रमुख राजनप्रसाद ढकाल, माक्पा मावि माक्पामा शिक्षक विश्वनाथ निरौला, सरस्वती मावि डाँडाखर्क छितापोखरीका शिक्षक केशवराज कार्की, जनता मावि बतासेका शिक्षक बसन्त राई, पञ्चकन्य आधारभुत विद्यालय डाँडागाउँका शिक्षक बिमल खड्का, सरस्वती प्रावि पौवासेराका शिक्षक हरिकुमार राई, हिरा प्रावि महेश्वरीका शिक्षक राजेशकुमार राजभण्डारी, राष्ट्रिय मावि बासपानीका शिक्षक खगेन्द्रबहादुर गुरुङ, प्रतिभा प्रावि मात्तिमका शिक्षक रोहित राई, शारदा मावि हौंचुरका शिक्षक यज्ञनारायण श्रेष्ठ, चन्द्र प्राबि सिमखर्क सुंदेलका शिक्षक कालिकाप्रसाद रिजाल र डाँडाखर्क प्राबि बराहपोखरीका ढाकबहादुर कार्कीको राजीनामा आएको छ । 

अस्थायी शिक्षककारुपमा कार्यरत केशवराज कार्की, रोहित राई र ज्ञयनारायण श्रेष्ठको भने विद्यालय व्यवस्थापन समितिले राजीनामा स्वीकृत गरेर जिल्ला शिक्षा कार्यालयमा जानकारी पठाएको जिशिअ ज्ञानमणि नेपालले बताए । अन्य स्थायी शिक्षकको भने राजीनामा स्वीकृतिका लागि शिक्षामा फायल आएको छ । उम्मेदवारका इच्छुक कतिपय शिक्षकले वैसाख ३ गतेअघि पनि राजीनामा दिइसकेको शिक्षाले जनाएको छ । पारिवारिक, घरायसी र व्यक्तिगत कारण देखाउँदै शिक्षकको राजीनामा आएको भएपनि अधिकांशले गाउँपालिका र वडा प्रमुखमा उठ्नका लागि राजीनामा पेश गरेका हुन् । 

सिमपानी क्याम्पस प्रमुख पदबाट राजीनामा दिएका ढकालले नेकपा माओवादी केन्द्रकातर्फबाट खोटेहाङ गाउँपालिकाको प्रमुखमा उठ्ने तयारी गरिरहेका छन् । यस्तै, श्रोतव्यक्तीबाट राजीनामा दिएका निरौला कांग्रेसकातर्फबाट ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा चुनाव लड्ने कसरतमा छन् । सरस्वती माबि डाँडाखर्क छितापोखरीको प्रअको जागीर हापेका कार्की र जनता मावि बतासेको जागीर छाडेका राई दिप्रुङ गाउँपालिकाको प्रमुखको टिकट हात पार्ने दौडधुपमा छन् । पञ्चकन्य आधारभूत विद्यालय डाँडागाउँका प्रअबाट राजीनामा दिएका खड्का एमालेकातर्फबाट दिप्रुङ गाउँपालिका–५ सछितापोखरीबाट वडा प्रमुखमा उठ्ने तयारीमा रहेको श्रोतले जनाएको छ । 

श्रोतव्यक्तीको पद छाडेर ऐसेलुखर्क गाउँपालिका प्रमुखमा उठ्ने तयारी गरेका निरौला कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि समेत हुन् । दिप्रुङ गाउँपालिकाको प्रमुखको दौडमा लागेका कार्की हाल कांग्रेसका महासमिति सदस्यको भूमिकामा छन् । शिक्षण पेशाामा आवद्ध रहेकै समयमा उनीहरु पार्टीको जिम्मेवार ठाउँमा पुगेका थिए । 

प्रकाशित: १३ वैशाख २०७४ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App