coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पर्वतमा उम्मेदवार छनोट अझै टुंगिएन, प्रमुख दलमा घम्साघम्सी

पर्वत– आकांक्षीको घम्साघम्सीले प्रमुख दलले यहाँ अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा एकले अर्कोलाई स्वीकार नगर्दा सर्बसम्मतको प्रयास सफल नभएको ती दलका नेताले बताएका छन्। नेपाली कांग्रेसले वडा तहदेखि नै उम्मेदवार छनौटको प्रक्रिया थाले पनि सर्वसम्मत नहुँदा क्षेत्रीय समितिमा ल्याएर रोकिएको छ।

दुई नगर र पाँच गाउँपालिका रहेको पर्वतमा काँग्रेसले पैंयू गाउँपालिकाबाहेक अन्यत्र सर्वसम्मत बनाउन सकेको छैन। पैंयूमा ७ वटै वडाका नेता कार्यकर्ताले १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा पराजित खगेन्द्रप्रसाद तिवारीलाई सर्वसम्मत प्रमुखमा सिफारिस गरेका छन्। पैंयूमा उपप्रमुखमा समेत सर्वसम्मत पूर्वमहासमिति सदस्य जसमति गुरुङ सिफारिस भएको नेपाली कांग्रेस पैंयू गाउँपालिका समन्वय समितिका संयोजक डम्बरबहादुर प्रधानले जानकारी दिए।

उनका अनुसार कांग्रेसले पैंयुका ७ वटै वडामा सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरेको छ। पैंयु–१ टकलाकमा पिताम्बर भुसाल, पैंयु–२ त्रिवेणीमा भीमसेन गुरुङ, पैंयु–३ बेउलीबासमा थानप्रसाद भुसाल, पैंयु–४ हुवासमा बेनुप्रसाद भुर्तेल, पैंयु–५ हुवासमा सोमप्रसाद प्रधान, पैंयु–६ सरौखोलामा थानेश्वर तिवारी र पैंयु–७ भोर्लेमा भीम गुरुङको वडा अध्यक्षमा टुंगो लागेको छ।

कांग्रेसको तर्फबाट बिहादी गाउँपालिकामा ४ जना, महाशीला गाउँपालिकामा ४ जना, फलेबास नगरपालिकामा १० जना, कुश्मा नगरपालिकामा १२ जना, मोदीमा ६ जना, जलजला गाउँपालिकामा १३ जना आकांक्षी देखिएका छन्। गाउँ र नगरमा सर्वसम्मत नभएपछि उनीहरुको नाम क्षेत्रीय समितिमा पुगेको छ। क्षेत्रीय समितिले दैनिक बैठक चलाए पनि टुंग्याउन सकेको छैन। कुनै पनि आकांक्षी पछाडि नहट्दा सर्वसम्मत रुपमा उम्मेदवार छनोट गर्न नसकिएको नेपाली कांग्रेस पर्वत क्षेत्र नम्बर २ का सभापति धनबहादुर थापाले बताए।

आकांक्षी जतिधेरै भए पनि कांग्रेसस्रोतका अनुसार कुश्मा नगरपालिकामा गंगाधर पौडेल र रामचन्द्र जोशी, जलजला गाउँपालिकामा कृष्ण केसी, यमबहादुर मल्ल, चन्द्रबहादुर जिसी, विप्लब हमाल, मोदी गाउँपालिकामा विश्वप्रकाश प्रसाई, बलभद्र शर्मा, रामबहादुर प्रसाई, फलेबास नगरपालिकामा गंगाधर तिवारी, युक्तप्रसाद श्रेष्ठ र राधाकुमारी कुँवर, महाशीला गाउँपालिकामा अशोक उच्चै ठकुरी र उज्वल गुरुङ, बिहादीमा आनन्द भुसाल र प्रबिन गुरुङमध्येबाटै उम्मेदवार छनौट गर्ने तयारी छ।

कांग्रेसको अहिलेसम्म ६१ वडा मध्ये ३० वटा वडा अध्यक्ष सर्बसम्मत टुंगो लागेको छ। कांग्रेसले जलजलाका ९ वटै वडामा उम्मेदवार टुंगो लगाएको छ। जलजला–१ मा चन्द्रबहादुर फकामी, २ मा गोबिन्द खत्री, ३ मा रवि भण्डारी, ४ मा भिष्म मल्ल, ५ मा यमप्रसाद शर्मा, ६ मा बलबहादुर पुन, ७ मा रुद्रलाल उपाध्याय, ८ मा हरिविकास जिसी र ९ मा होमबहादुर पुर्जा अध्यक्षको उम्मेदवार छनोट भएका छन्।  

त्यस्तै कांग्रेसले बिहादी–१ मा हेम आचार्य, २ मा गोबिन्द पराजुली, ३ मा धनबहादुर क्षेत्री, महाशीलाअन्र्तगत होश्राङ्दीमा भीमबहादुर थापा, बालाकोटमा चमबहादुर गुरुङ, भोक्सिङमा बिष्णु राना, पाखापानीमा देवेन्द्र गुरुङ, फलेबास नगरपालिकाअन्र्तगत १ मा नारायणप्रसाद पौडेल, ३ मा अर्जुन कार्की, ६ मा किरण श्रेष्ठ, ७ मा मोती रेग्मी, ८ मा रोशन गुरुङलाई वडा अध्यक्षको उम्मेदवार चयन गरेको छ।

यता मोदी गाउँपालिकाको राम्जामा नारायण गौतम, देउपुरमा लीलानाथ शर्मा सर्बसम्मत सिफारिस भएका छन्। सबैभन्दा बढी कुश्मा नगरपालिकाअन्र्तगतका वडामा आकांक्षी बढी छन्। उनीहरुमध्ये आकांक्षीको प्रभाव, त्याग, निष्ठा, निरन्तरताको आधारमा उम्मेदवार छनौट गर्ने तयारी गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति गंगाधर पौडेलले जानकारी दिए।

नेकपा एमालेमा पनि आकांक्षीको संख्या उत्तिकै रहेको छ। एमाले पर्वतले पैंयू र महाशीला गाउँपालिकाको प्रमुख मात्रै सर्वसम्मत रुपमा सिफारिस गरेको छ। पैंयुमा मित्रलाल बस्याल र महाशीलामा राजु पौडेल प्रमुखको उम्मेदवार हुने भएका हुन्। अन्यमा सर्वसम्मत नभएपछि सबै नाम प्रदेश कमिटिमा सिफारिस गरिएको एमाले प्रचार विभागका सचिव किशोर सापकोटाले जानकारी दिए।

एमालेले कुश्मा नगरपालिकामा मेधनाथ सुवेदी र शान्त पौडेल, फलेबास नगरपालिकामा पदमपाणी शर्मा, देवेन्द्रराज पाण्डेय, पूर्ण गौतम, बिष्णु रिजाल, बैकुष्ठ भुसाल, सीतादेवी सुवेदी, कृष्ण लम्साल, बिहादी गाउँपालिकामा ओम कुँवर र कमल भुसाल, मोदीमा भक्त कुँवर र प्रेम पौडेल, जलजला गाउँपालिकामा लालबहादुर अधिकारी, उदय सुवेदी, लोकनाथ सुवेदी, सम्झना अधिकारीको नाम सिफारिस भएको छ।

एमालेले ४७ वटा वडा अध्यक्षको टुंगो लगाएको जनाएको छ। ‘अब १४ वटा वडाको मात्रै उम्मेदवारको टुंगो लगाउन बाँकी छ,’ प्रचार सचिव सापकोटाले भने, ‘केही दिनभित्रै सबै टुंग्याएर सार्वजनिक गर्छौ।’

माओवादी केन्द्रको अर्कै दाउ

यता नेकपा माओवादी केन्द्रले भने आफू एक्लै चुनावमा जाँदा सबै सिट गुम्ने निष्कर्ष निकाल्दै कांग्रेस र एमालेसँग तालमेल गर्ने तयारी गरेको छ। माओवादी केन्द्रले उम्मेदवार छनौटलाई स्थगन गरेर काँग्रेस र एमालेसँग तलमेलको बार्ता अगाडि बढाइरहेको छ।

केन्द्रले पर्वतका सात वटा स्थानीय तहमध्ये तीन वटा तह र ४० प्रतिशत वडा अध्यक्ष दाबी गरेको छ। तर कांग्रेस र एमाले तालमेलका लागि माओबादी केन्द्रलाई त्यो दिन तयार देखिएका छैनन् ।

 

प्रकाशित: १२ वैशाख २०७४ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App