७ वैशाख २०८१ शुक्रबार
अन्य

बालकृष्ण ढुङ्गेल बिरूद्ध उज्जन र गणेश श्रेष्ठका पिताद्वारा उजुरी दर्ता

काठमाडाैं-सशस्त्र द्वन्द्वकालमा माओवादीले आफ्ना दुई छोरालाई हत्या गरेको अभियोग सर्वोच्च अदालतबाट ठहर हुँदा पनि कार्यान्वयन नभएको भन्दै ओखलढुङ्गाका उज्जन र गणेश श्रेष्ठका पिता रामेश्वर श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् । 

रामेछापको तारेवारी र ओखलढुङगामा गैरन्यायिक हत्या गरिएको ११ वर्ष पुगिसक्दा संलग्नहरुलाई कारवाही नभएको उजुरीमा उल्लेख छ । 
आयोगले अदालतबाट किनारा भएका र विचराधिन मुद्दाहरु हेर्न मिल्ने वा नमिल्ने विवाद चलिरहेको समयमा श्रेष्ठ परिवारले आयोगमा उजुरी दर्ता गराएको हो । 

कुनै पनि राजनीतिक दलमा संलग्न नरहेका आफ्ना छोराहरुलाई सुराकीको आरोपमा माओवादीका नेता बालकृष्ण ढुङ्गेलको संलग्नतामा हत्या गरिएको उजुरीमा दावी गरिएको छ ।  निशस्त्र मानिसलाई हत्या गरि जनयुद्धको नाममा जोगिन नमिल्ने भएकाले अदालतको फैसला कार्यान्वयनका लागि आयोगले सहयोग गर्नुपर्ने उजुरीमा दावी गरिएको छ । हत्या गरिए पनि न्याय दिन आलटाल भइरहेकाले पीडित परिवार आयोगमार्फत न्याय दिलाउन पहल गरिदिन आग्रह समेत गरेको छ ।
उजुरी दर्ता गराउन गणेशकी पत्नी लक्ष्मिदेवी श्रेष्ठ र दिदी सावित्री श्रेष्ठ समेत पुगेकी थिइन् । सर्वोच्चले कर्तव्य ज्यानमा दोषी ठहर भएका ढुंगेललाई जोगाएर दल तथा सरकारले न्यायलाई मारेको आरोप उनीहरुले  उजुरीमा गरेका  छन् । 

श्रेष्ठको जेठो छोरो उज्जनको हत्या भएको १९ वर्ष पुगेको छ भने अर्को गणेशको हत्या भएको  १३ वर्ष बितेको छ । 

२०५५ साल असार १० गते ओखलढुङगा तारकेरावारी खहरे खोलामा उज्जनलाई माओवादी कार्यकर्ताहरुले  गोली हानि हत्या गरेका थिए । गणेशलाई उज्जनको हत्यारा भनि किटानी जाहेरी दिएको भन्दै  खेतमा काम गरिहेको समयमा २०५९ सालमा माओवादी कार्यकर्ताहरुले नै  हत्या गरेको उजुरीमा उल्लेख छ । उज्जनको उक्त मुद्दामा सर्वोच्चले पनि दुई पटक परमादेश जारी गरिसकेको छ भने गणेशको मुद्दा जिल्ला अदालत रामेछापमा दर्ता हुने तयारीमा रहेको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३  गते पछिल्लो फैसला कार्यान्वयन गर्न दोस्रो पटक परमादेश जारी गरेको थियो । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, शुसिला कार्की, बैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलाशले उज्जनको हत्यामा संलग्नहरुको विषयमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न भनेको थियो । 

गणेश श्रेष्ठको मुद्दा दर्ताको चरणमा 

उज्जनको हत्यारालाई कारवाही माग गर्दै किटानी जाहेरी दिएको भन्दै माओवादी कार्यकर्ताले हत्या गरेको गणेशको उजुरीमा पनि जिल्ला सरकारी वकिल कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने तयारी गरेको उजुरीमा उल्लेख छ । २०५९ साल मंसिर ६ गते श्रेष्ठको हत्या माओवादीले गरेका थिए । हत्यापछि एक सातासम्म शव उठाउन नदिएको र उक्त शव जलाउन नदिइएको उजुरीमा उल्लेख छ । अन्तिम संस्कार गर्न पाउने मानव अधिकार तथा सांस्कृतिक अधिकार समेत माओवादीले खोसेको उजुरीमा उल्लेख छ । 

दुबै घटनामा द्वन्द्वकालमा माओवादी कार्यकर्ताहरुको संलग्नता रहेका उजुरीमा दावी गरिएको छ  ‘हामी पीडित परिवारको अन्तिम माग भनेको न्याय र अदालतको फैसला कार्यान्वयन हो‘ उजुरी दर्ता पछि श्रेष्ठले भने ‘सर्वोच्चबाट भएको फैसला कार्यान्वयन भई आफूहरुलाई सरकारले अविलम्ब न्याय दिनु पर्दछ ।’ 

प्रकाशित: ३१ असार २०७३ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App