coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गाउँपालिकाका उम्मेदवार छान्दै दल

इलाम– जिल्लाका राजनीतिक दल स्थानीय तह निर्वाचनमा उठाउने गाउँपालिकाका–नगरपालिकाका उम्मेदवार छान्न व्यस्त छन्। यसअघिका निर्वाचनमा ठूलो दलका रूपमा मत ल्याएका नेकपा एमाले र नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रलगायत कुनै पनि दलले अहिलेसम्म उम्मेदवारको अन्तिम टुंगो लगाउन भने सकेका छैनन्।

जिल्लाका ६ गाउँपालिकामध्ये नेकपा एमालेले २ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको नाम टुंग्याएको छ। नेकपा एमालेले सन्दकपुर गाउँपालिका अध्यक्षका लागि उदय राई र उपाध्यक्षका लागि शोभा पराजुली तथा माङ्सेबुङ गाउँपालिकाका अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता लिम्बूको नाममा सहमति जुटाएको हो।     ‘बाँकी ४ गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षसहित अन्य उम्मेदवारको नाममा छलफल भइरहेको छ,’ एमाले जिल्ला सचिवालय सदस्य नवराज शंकरले भने।

उनका अनुसार एमालेले जिल्लाका ८१ मध्ये ५७ वडाका वडाध्यक्षका उम्मेदवारको नाम टुंग्याइसकेको छ । शंकरले भने, ‘गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको नाम प्रदेश कमिटीमा पठाइने छ । र, बाँकी वडाध्यक्षका उम्मेदवारको टुंगो आउँदो २० गते बस्ने जिल्ला कमिटी बैठकले लगाउने छ ।’

नेपाली कांग्रेसले अहिलेसम्म माङ्सेबुङ गाउँपालिका अध्यक्षको उम्मेदवारमा डिकेन्द्र इदिङ्गोको नाम मात्रै ‘सहमतिजनिक’ पु¥याएको छ । कांग्रेस जिल्ला सचिव निरोज खड्गीले जिल्ला समितिको बैठक बसिरहेको र केही दिनभित्रमा सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए । ‘केही गाउँपालिका प्रमुख–उपप्रमुखको नाममा पनि दलभित्र सहमति जुटिसकेको छ । तर, सबैको नाम एकैपटक सार्वजनिक गर्नेछौं,’ उनले मंगलबार दिउँसो भने ।

नेकपा माओवादीले ५ गाउँपालिका अध्यक्षका उम्मेदवारको नाम टुंगो लगाएको जनाएको छ । माइजोगमाई जोगमाई गाउँपालिकाका उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको माओवादीले जनाएको छ । माओवादीका कार्यलय सचिव जीवन शर्माका अनुसार सन्दकपुर गाउँपालिकामा प्रेमनाछिरिङ राई, रोङमा नवराज कट्टेल, चुलाचुलीमा तुला लिम्बू, माङ्सेबुङमा जनम राई र फाकफोकथुममा राजकुमार थापाको नाम अध्यक्ष पदको उम्मेदवारका लागि तय गरिएको छ ।

‘पार्टीबाट नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षका उम्मेदवारको नाम टुंगो लगाउन बाँकी छ,’ शर्माले भने । दलहरूले जिल्लाका ८१ वडामध्ये अधिकतरमा वडाध्यक्षका उम्मेदवारको नाम टुंगो लगाएको जनाएका छन् । बाँकी पदका उम्मेदवार छान्न केही दिन लाग्ने दलहरूको भनाइ छ ।

प्रकाशित: १२ वैशाख २०७४ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App