८ वैशाख २०८१ शनिबार
समाज

भूकम्पकाे दुर्इ वर्षः ठडिँदै छ सिन्धुपाल्चोक

सिन्धुपाल्चोकका गाउँ–गाउँमा पीडितको अगुवाइमा निर्माणाधीन भूकम्प प्रतिरोधी घर । तस्बिरहरूः ध्रुवनागरिक

सिन्धुपाल्चोक– हिमाली गाउँ हेलम्बुमा मौसमको भर छैन । कतिखेर झरी दर्कने या घाम चर्कने हो, पत्तो छैन । अक्सर दिन हुस्सुले ढाकिँदा दिउँसै अन्धकार छाउँछ । बाक्लो हुस्सुको अन्धकार चिर्दै नाखोते गाउँमा चौतर्फी आएको टाक...टुक...टाकटाक, टुकटुकको चर्को आवाज कानमा ठोकियो । सडकनजिकै ५१ वर्षीय साङ्गे शेर्पा तन्नेरी जोस निकाल्दै ढुंगा काट्दै गर्दा भेटिए । ‘भूकम्पले ढालेका घर ठड्याउन व्यस्त छौँ,’ बिग्रिएको मौसम नियाल्दै उनले भने, ‘घाम चर्कियोस् कि पानी दर्कियोस्, काम छोड्दैनौँ ।’

शोकलाई शक्तिमा बदल्नुको विकल्प थिएन । सम्हालिनुको अर्को बाटो थिएन । सायद, यही सत्य बुझेका थिए जिल्लावासीले । र, त त्यत्रो विनासलीलाको दुई वर्षमै जुरुक्कै उठ्ने प्रयासमा छ सिन्धुपाल्चोक ।

महिनायता उनी पुनर्निर्माणमा जुटेका छन् । घामपानी, हुस्सुले निम्त्याउने ठन्डी नभनी साँझ–बिहान उनी निर्माणमै जुटेकै छन् । निर्माणमा साङ्गेलाई सघाउँदै छन्, भाइ कान्छा शेर्पा । उनको पनि घर ठडिँदै छ । मध्याह्नसम्म एकको र त्यसपछि अर्कोको घर बनाउँदा एकैसाथ दुवैको संरचनाले आकार लिँदैछ । ढलान गर्ने तहमा घर निर्माण भएपछि दाजुभाइ नै गमक्क छन्।

एक तले पक्की घर बनाइरहेका उनीहरूले ९/९ लाख रूपैयाँ खर्चिसकेका छन् । घर पूरा हुँदासम्म थप ६÷६ लाख रूपैयाँ लाग्ने दाजुभाइको अनुमान छ । केही तालिमप्राप्त डकर्मीको सहयोगमा पुनर्निर्माणमा खटिएका उनीहरूले भूकम्प गएको दिन पारेर वैशाख १२ गते ह्योल्मो संस्कारसहित नयाँ घर छिर्ने सुनाए । ‘टहरोको बसाई टुंगाउन आतुर छौँ,’ जालीमा बालुवा चाल्दै भाइ कान्छाले थपे ।

साङ्गे, कान्छा दाजुभाइ भारतमा मजदुरी गरे पेट पाल्थे । भूकम्पले उनीहरूलाई गाउँ फर्कायो । ठिही बोकेर आउने हिउँद उसै पनि ठन्डी हुन्छ । हेलम्बुको हिउँ पर्ने हिउँदमा कति कष्ट होला ? कष्टकर एक वर्ष टहरोमा गुजारेपछि बर्खाले अवरुद्ध तिम्बु–मेलम्चीघ्याङ सडक खुलेसँगै उनीहरूले भूकम्पले ढलेको घर ठड्याउने अठोट गरे । मंसिरयता निर्माण सामग्रीको जोहोमा लागेका थिए, शेर्पा दाजुभाइ । एक दिन टाढाको मेलम्चीस्थित बैंक खातामा अनुदानको पहिलो किस्ता ५० हजार रूपैयाँ आएको उनीहरूले सुनेका छन् । ‘पहिला घर ठड्याउँछौँ, त्यसपछि मात्र एकमुष्ट अनुदान लिने,’ साङ्गेले भने । उनको कुरा नसकिँदै भाइ कान्छाले भारतमा मजदुरीबाट गरेको कमाइ र केही ऋणधन गरेर घर बनाउन थालेको सुनाए । ‘पहिला आफ्नो घर आफैँ ठड्याउँछौँ । सरकारबाट पाइने लिँदै गरौला,’ कान्छाको भनाईमा समर्थन जनाउँदै दाइ साङ्गेले थपे ।

‘कुरै कुराले काम बिथिलियो,’ टहरोभित्रबाट साङ्गे पत्नीले खबरदार लगाइन् । हत्त न पत्त कान्छा बालुवा र सिमेन्टको घोल बनाउन जुटे । साङ्गे काटेर आकार मिलाइएको ढुंगा ओसार्न थाले । नभन्दै सिमसिम पानी प¥यो । नरोकिइ दाजुभाइ काममै जोतिए ।

शेर्पा दाजुभाइ जस्तै घर बनाउने चटारोमा छन्, नाखोतेवासी । ८० परिवारको बस्ती जुरुक्कै ठड्याउन कस्सिएका छन्, भूकम्पपीडित । भूकम्पअघि गाउँमा युवा भेटिँदैनथे, सबै कमाउन भारत जान्थे । अहिले सबै गाउँ फर्केर पुनर्निर्माणमा जुटेका छन् । दाजुभाइ तथा छरछिमेक हातेमालो गरेर आलोपालो घर बनाउन एकजुट छन् । घर ठड्याइसकेपछि छिमेकीलाई सघाइरहेका साम्बाखेन्डु लामाका अनुसार ४० जति युवा भारतबाट फर्केर पुनर्निर्माणमा खटिइरहेका छन् । ‘आफ्नो घर कसले बनाइदिन्छ ?’ उनी भन्छन् ।
नाखोतेका २० घर सम्पन्न भइसकेका छन् । ४५ घर धमाधम बनिरहेका छन् । राजधानी काठमाडौँ र मेलम्चीदेखि निर्माण सामग्री ओसारेर सिंगो बस्ती पुनर्निर्माणमा होमिएको छ । पराम्परागत ह्योल्मो संस्कृति झल्काउँदै एकै किसिमका घर बनिरहेका छन् ।

यो एउटा बस्तीको कथा हो । दुई वर्षअघि वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक खण्डहर र भग्नावशेषबाट क्रमशः ठडिँदै छ । धेरै बस्ती पीडितकै अगुवाईमा ठडिसकेका छन् भने केही ठडिने क्रममा छन् । पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म भूकम्प प्रतिरोधी घर पुनर्निर्माणको चटारो छ ।

२०७२ वैशाख १२ को भूकम्पले जिल्लाका ९५ प्रतिशत घरसंरचना ढाल्यो । ३ हजार ५ सय ७० को ज्यान लियो । त्यतिबेलाको अवस्था ‘गाँस न बास, जता हे¥यो सत्यानास’ मात्र थियो । भूकम्पपछिको केही साता पीडितका आँखा ओभाएनन् । अनुहारमा चमक थिएन । लगातारका पराकम्पनले पीडित भोकै खुला आकासमुनि बसे । एउटै बस्ती सक्ला भेटिएनन्, सबै खण्डहरमा बदलिँदा सिन्धु भुइँमा सुतेको थियो । अहो ! मृतकको दाहसंस्कारले जिल्लाका डाँडाकाँडा र खोलानाला सातासम्म धुवाएको दृश्य देख्दा लाग्थ्यो, सिन्धुपाल्चोक सजिलै ब्यूतिँदैन ।

शोकलाई शक्तिमा बदल्नुको विकल्प थिएन । सम्हालिनुको अर्को बाटो थिएन । सायद, यही सत्य बुझेका थिए जिल्लावासीले । र, त त्यत्रो विनासलीलाको दुई वर्षमै जुरुक्कै उठ्ने प्रयासमा छ सिन्धुपाल्चोक । पीडितका घाउमा खाटा बस्दैछ, मुस्कान फर्किँदैछ । भूकम्पको पीडा, शोक र भोक बिर्सेर जिल्लाबासी घर ठड्याउन जागेका छन् ।

भलबाढी छिर्ने र शीत चुहिने दुई हिउँद र बर्खा जस्ताको अस्थायी टहरोमा गुजारेका पीडित त्यसबाट मुक्ति चाहन्छन् । टहरोको कष्टकर बसाईँले उनीहरूलाई पुनर्निर्माणमा जुट्न बाध्य पारेको छ । त्यसैले गाउँगाउँमा घर बनाउने गज्जबको लहर ल्याएको हो । वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको चुनावी बहसमा गफिँदै गाउँले घर बनाउन व्यस्त छन् । आसन्न चुनावले पुनर्निर्माणमा उत्साह थपेको छ । छरछिमेक मिलेर आलोपालोमा टोल, बस्ती र गाउँ उठाउँदै छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख १२ गते सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकबाटै पुनर्निर्माण अभियान घोषणा गरेर पीडितलाई उत्साह थपेका थिए । उनले चौताराका सर्वे तामाङको घरको जग सिलान्यासपछि औपचारिक रूपमा पुनर्निर्माण सुरु भएको थियो । यो बीचमा कति घर बने भन्ने यकिन तथ्यांक छैन । पुनर्निर्माणको लहर देख्दा यसबीचमा झण्डै १५ हजार घर बनिसकेको अनुमान छ । त्यति नै संख्यामा संरचना निर्माण भइरहेका छन् । टहरा विस्थापित गर्दै आउँदो बर्खाअघि बन्ने कम्तिमा ३० हजार नयाँ घरमा पीडित सर्दैछन् ।

‘उत्साहका साथ पुनर्निर्माणले गति लिइरहेको छ,’ सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख डा. युवराज पौडेल भन्छन्, ‘पुनर्निर्माणलाई अझै तीव्रता दिने योजना अघि सार्दै छौँ ।’ भरपर्दो तथ्यांक नभए पनि बर्खाअघि २५–३० हजार घर बन्ने उनको अनुमान छ । पुनर्निर्माण अभियान सुरु नहुँदै भूकम्पपछिको एक वर्षमा झण्डै १० हजार घर बनेका थिए ।

हिमाली गाउँ गुम्बा, गोल्चे, हगाम, बराम्ची, फूल्पिङकोट, तातोपानी गाउँमा अधिकांश घर बनिसकेका छन् । भूकम्पमा ढलेका बस्ती अहिले ठडिएको देख्न पाइने ग्रामीण जनहित सेवा समितिका कार्यक्रम अधिकृत राजेन्द्र शर्मा बताउँछन् । ‘गाउँलेको प्रयासमा धेरै बस्तीको पुनर्निर्माण भइसकेको छ,’ पछिल्ला दुई महिनामा जिल्लाका धेरै गाउँ घुमेका शर्मा सुनाउँछन् ।

पुनर्निर्माणमा दुर्गम गाउँ अघि देखिएका छन् । प्रशासनिक केन्द्र सदरमुकाम चौतारा, पुरानो व्यापारिक केन्द्र बाह्रबिसे र पश्चिमी क्षेत्रीय मुकाम मेलम्चीमा पुनर्निर्माणले गति लिएको छ । त्यहाँ थुप्रै घर बनिरहेको देख्न सकिन्छ । जिल्लाका सबै गाउँलाई धुले सडकले जोडेकाले पुनर्निर्माणलाई सहज बनाएको छ । बर्खामा अधिकांश ग्रामीण सडक बन्द हुने भएकाले पीडित त्यसअगावै घर बनाउन चाहन्छन् । पुनर्निर्मित घर संख्या अझै थपिने अनुमान गर्न सकिन्छ ।

सरकारले तीन वर्षभित्र व्यक्तिगत घर र पाँच वर्षभित्र सम्पदा तथा सरकारी संरचना पुनर्निर्माण सक्ने लक्ष्य लिएको छ । जिल्लामा भूकम्पपीडित लाभग्राहीको संख्या झण्डै ७९ हजार छ । लक्ष्य अनुसार एक तिहाइले आगामी असारभित्र २६ हजार घर बन्नुपर्नेछ । पीडितको घर बनाउने जागरुकता देख्दा सहजै पुनर्निर्माण लक्ष्य भेटाउन सकिने डिभिजन कार्यालयका प्रमुख इन्जिनियर डा. पौडेल बताउँछन् ।
पुनर्निर्माणलाई सघाउन आएको ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले ६७ घरधुरीको गिरानचौर बस्ती निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको छ । जनस्तरबाट संकलित झण्डै ५ करोड रूपैयाँ खर्चेर निर्माण गरिएको यो एकीकृत नमुना बस्ती गत कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले समुदायलाई सुम्पेकी थिइन् । यसै वर्ष संघसंस्थाले शिखरपुरमा सय घरधुरीको एकीकृत माझी बस्ती पुनर्निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेका थिए ।

धुर्मुस–सुन्तलीको सिको गर्दै गिरानचौका स्थानीय जनस्तरबाट एकीकृत बस्ती बनाउन कस्सिएका छन् । ७५ रोपनी जमिनमा माघ १९ देखि १ सय ५० घरधुरीको एकीकृत बस्ती धमाधम निर्माण भइरहेको छ । पीडित आबद्ध सामुदायिक पुनर्निर्माण पर्यटन प्रवद्र्धन परियोजनाले एकीकृत बस्ती निर्माणको अगुवाइ गरिरहेको छ । सबै पीडितले सरकारी अनुदानमा पाउने तीन लाख रूपैयाँ एकीकृत गरेर बस्ती निर्माणमा खर्च गर्ने र नपुग रकम पीडितले नै व्यहोर्ने परियोजना संयोजक जनार्दन तिवारी बताउँछन् ।

गाउँमा बनिरहेका विभिन्न किसिमका आकर्षक संरचना देख्दा परम्परागत ढुंगा तथा माटोको कच्ची घरमा बस्दै आएका जिल्लावासीलाई भूकम्पले भवन निर्माणसंहिताअनुसार आफूले चाहेको भूकम्प प्रतिरोधी आधुनिक घर र बस्ती बनाउने अवसर भने दियो । सहरी बस्ती भन्दा कम देखिँदैनन्, अहिले जिल्लाका गाउँ ।

अविश्वसनीय सरकारी तथ्यांक

पुनर्निर्माणमा सरकार भन्दा पीडित अघि देखिएका छन् । पुनर्निर्माणको लहर चल्दा अहिलेसम्म कति घर बने भन्ने विश्वसनीय तथ्यांक सरकारी निकायसँग छैन । डिभिजनसँग मात्र ७ हजार घर बनिरहेको तथ्यांक छ । जनशक्ति अभाव र रिपोर्टिङ गर्ने प्रणाली व्यवस्थित नहुँदा यकिन तथ्यांक आउन नसकेको डिभिजन प्रमुख डा. पौडेल स्वीकार्छन् । उनी भन्छन्, ‘तथ्यांक संकलन भइरहेकाले यो नै अन्तिम होइन ।’

जिल्लाका ७५ हजार १ सय लाभग्राहीसँग अनुदान सम्झौता हुँदा ७३ हजार २ सयले पहिलो किस्ताको ५० हजार रूपैयाँ अनुदान लगेका छन् । झण्डै ४ सयले मात्र दोस्रो किस्ता डेढ लाख रूपैयाँ पाएका छन् । थप २ हजारले दोस्रो किस्ता माग गरेका छन् । निर्मित झण्डै एक हजार घर प्राविधिक जाँचपछि दोस्रो किस्ता निकासाको लागि डिभिजनले जिल्ला समन्वय समितिलाई सिफारिस गरेको छ ।

धेरै छन् समस्या

पुनर्निर्माण लहरसँगै समस्या पनि धेरै देखिएका छन् । यही कारण सबै पीडितले घर बनाउन थाल्न सकेका छैनन् । रकम भएर पनि पीडितले घर बनाउन सुरु गर्न सकेका छैनन् । झ्याल तथा ढोका बनाउन काठ अभाव छ । सरकारले पीडितलाई ९० प्रतिशत अनुदानमा सालको काठ उपलब्ध गराउने भने पनि दिन सकेको छैन । एकपल्ट आएको २ हजार क्युफिट काठ २ सय पीडितलाई पनि बाँड्न पुगेन ।

निर्माण सामग्रीमा कालोबजारी छ । माग बढ्दा इँटा, सिमेन्ट, छड, काठ, बालुवा र गिट्टीको भाउमा मनपर्दी छ । बालुवा र गिट्टीको सहज आपूर्ति छैन । एक ट्रिप गिट्टी किन्न क्रसर उद्योगमा चार दिनसम्म पालो कुर्नेपर्ने बाध्यता छ । मौज्दात सकिएको भन्दै क्रसर व्यवसायीले सहज रूपमा गिट्टी तथा बालुवा दिँदैनन् । बरु त्यसकै निहुँमा मनपरी शुल्क असुल्छन् । ढुवानी भाडामा उस्तै मनपरी छ । ट्रक तथा ट्रिपर व्यवसायी चर्को भाडा असुलिरहेका छन् ।

तालिम प्राप्त जनशक्तिको चरम अभाव कायमै छ । विभिन्न संघसंस्थाले झण्डै ५ सय तालिमप्राप्त कामदार उत्पादन गरेका छन् । डिभिजन कार्यालयका अनुसार वर्षमा एक तिहाइ घर बनाउन ८ सय तालिमप्राप्त डकर्मी चाहिन्छन् । ठूलो संख्यामा घर बन्न थालेकाले पीडित महँगो ज्याला तिरेर तराईका जिल्लाबाट कामदार ल्याउन बाध्य छन् । दाङ, मकवानपुर, बारा, पर्सा र सिन्धुलीबाट धेरै कामदारले पुनर्निर्माणमा सघाइरहेका छन् ।  

घर बनाउन पानीको झन् समस्या छ । हिउँद उसै पनि पानी स्रोत सुक्ने समय हो । त्यहीँमाथि भूकम्पले जिल्लामा झण्डै ६ सय खानेपानी आयोजना ध्वस्त पारेकाले पानी समस्या बढ्ने नै भयो । पुनर्निर्माणलाई सघाउन प्राधिकरणले खटाएका प्राविधिक कम छन् । ३ सय ६ प्राविधिक दरबन्दी रहेकोमा २ सय २३ मात्र कार्यरत छन् । ८३ प्राविधिक रिक्त छन् । उनीहरू धमाधम राजिनामा दिइरहेका छन् ।

दोस्रो तथा तेस्रो किस्ता अनुदान माग गर्न पीडित र प्राविधिकले भर्ने अनुसूची फाराम प्राधिकरणले पठाउन सकेको छैन । निवेदनका रूपमा पीडितले भर्ने र प्राविधिकले जाँच गर्ने दुई खाले फाराम गरी डेढ लाखभन्दा अनुसूची आवश्यक छ । प्राधिकरणले तत्कालीन गाविसलाई ५०÷५० का दरले फाराम उपलब्ध गराएको थियो । अनुसूची फाराम नहुँदा निर्माणाधीन घरको यकिन तथ्यांक मात्र आउन सकेको छैन, पीडितले किस्ता माग गर्ने र प्राविधिकले जाँचका आधारमा अनुदान निकासा सिफारिस गर्ने प्रक्रिया नै रोकिएको छ ।
स्थानीय तहका कार्यालय व्यवस्थित बन्दै कार्यकारी अधिकृतसमेत हाजिर भइसकेकाले पुनर्निर्माणलाई अझै व्यवस्थित बनाउने आयोजना कार्यान्वयन इकाइ प्रमुख डा. पौडेलले बताए । ‘स्थानीय निर्वाचन र अन्य बहानाले पुनर्निर्माण नरोकने गरी स्थानीय तहसँग मिलेर योजना बनाएका छौँ,’ उनले भने, ‘गति लिइरहेको पुनर्निर्माणमा अझै उत्साह थप्छौँ ।’

 

 

 

प्रकाशित: १२ वैशाख २०७४ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App