रसुवागढी- 'दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन-२०१७' लाङटाङ राष्ट्रिय निकुञ्जको क्यान्जिङ गुम्बाबाट सुरु भएको छ। म्याराथन प्रतियोगिमा एक सय दुई जना अन्तर्राष्ट्रिय धावकहरुले सहभागी भएको ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपालले (टान) जनाएको छ।
दुई वर्षअघि वैशाख १२ गते नै भूकम्पले लाङटाङ क्षेत्र पूर्णरुपमा क्षति भएकाले अहिले उक्त क्षत्र सुरक्षित रहेकाले उक्त म्याराथन गरिएको टानले जनाएको छ।
नेपालका महत्वपूर्ण पदयात्रा गन्तव्यको रुपमा रहेको लाङटाङ क्षेत्र दुई वर्षअघि भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको थियो। पदयात्राको लागि लाङटाङ क्षेत्र सुरक्षित रहेको सन्देश विश्वभरि दिनका लागि उक्त म्याराथन गरिएको टानका महासचिव कर्ण लामाले बताए।
प्रतियोगिता लाङटाङ राष्ट्रिय निकुञ्जको क्यान्जिङ गुम्बाबाट सुरु भई लाङटाङ गाउँ हुँदै थाङस्याप घाडा तवेला लामा होटल रिम्चे शेर्पागाउँ खान्जिम ब्रिदिम लिङलिङ हुँदै स्याब्रुबेशीमा पुगेर समापन हुनेछ।
उनले भने, 'यस क्षेत्रको पर्यटकीय गतिविधिलाई पुनर्जीवन दिनुका साथै नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद पर्यटन स्थल प्रवर्द्धनमा टेवा पुर्याउन उदेश्यका साथ गतवर्षदेखि म्याराथन गर्दै आएका छौं।'
म्याराथनमा १४ जना अन्तर्राष्ट्रिय महिला धाविका, पाँच जना विदेशीसमेत रहेको महासचिव लामाले बताए। आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने धावकलाई एक लाख, द्धितीय हुनेलाई ७५ हजार र तृतीय हुनेलाई ५० हजार रुपैंया नगदसहित सम्मान पत्र पाउनेछन्।
टानले गत वर्ष 'प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथन-२०१६' आयोजना गरिएको थियो।
प्रकाशित: १२ वैशाख २०७४ ०५:०३ मंगलबार