६ वैशाख २०८१ बिहीबार
विचार

भारतमा भानुको भक्ति

'भानुभक्तका कविता क्षणिक नभएर सधैँ जीवित रहन्छन्। उनका कवितामा मानवता र यथार्थ चित्रण गरिएको छ। त्यस्ता कविको जन्मजयन्तीमा सहभागी हुन पाउँदा गौरवान्वित छु।' यो भनाइ कुनै नेपाली भाषाविद् वा साहित्यकारको होइन, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको हो। असार २९ गते दार्जीलिङमा आयोजित भानु जयन्ती समारोहमा राष्ट्रपति मुखर्जीले आफ्नो मुलुकमा नेपाली साहित्यको चर्चा–परिचर्चा भइरहेको र भारतमा ठूलो संख्यामा नेपाली साहित्यकार रहनाले दुई देशबीचको सम्बन्ध सुमधुर पार्न सहयोग मिलेको उल्लेखसमेत गरे। भारत सरकारअन्तर्गतको सूचना तथा संस्कृति विभागले नै नेपालीभाषीको बाहुल्य रहेको दार्जीलिङमा भानु जयन्ती समारोह आयोजना गर्नुका साथै भारतकै अन्य कतिपय स्थानमा निजी संघ–संस्थाको अग्रसरतामा भव्य ढंगमा कार्यक्रम गरी भानुलाई सम्झने काम भएको छ। यता, नेपाल जहाँ भानुभक्त जन्मिए, विगत केही वर्षदेखि करबलले मात्रै भानु जयन्ती मनाउन थालिएको छ। अब वर्षको एक पटक भानु जयन्ती मनाउन पनि कुनै समूह वा राजनीतिक दलको डर मान्नुपर्ने अवस्था सृजना भएको छ। किन यस्तो अवस्था आयो? यसको खोजबिन गर्ने जिम्मा सरकारको हो। दुर्भाग्य, सत्ताको जोडघटाउमा लिप्त सरकारलाई भाषा, साहित्य, कला, संस्कृतिको जगेर्ना गर्ने फुर्सद यतिखेर मिलिरहेको देखिँदैन।

सबैलाई थाहा छ, नेपाली बहुभाषी मुलुक हो। यहाँ करिब सवा सय जीवित भाषा छन्। तीमध्ये कतिपय लोपोन्मुख अवस्थामा छन्। तिनको जगेर्ना गर्ने दिशामा पनि कोही लागिपरेका छैनन्। भाषा, संस्कृति, सम्पदा हाम्रा परिचय हुन्, सम्पत्ति हुन्। तिनैले हामी नेपाली हुनुको पृथक परिभाषा प्रस्तुत गर्दै आएका छन् र संसारमा बेग्लै स्थान बनाउन मद्दत पुर्‍याउँदै पनि आएका छन्। तर, हाम्रो राष्ट्रिय गीतमा भनिएझैँ 'सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली...' बन्न हामी सकिरहेका छैनौँ। हामी भानुभक्तको सालिक तोड्दा आफूलाई ठूलो क्रान्तिकारी र अग्रगामी सोच्छौँ। भानुभक्तलाई ढाल्दा आफू ठडिएको आत्मरतिमा रमाउँछौँ! तर, भानुको जति योगदान दिने कुरामा कहिल्यै अग्रसर हुँदैनौँ। आजभन्दा २०३ वर्षअघि तनहुँजस्तो विकट स्थानमा जन्मिएका भानुभक्तले नेपाली भाषा र साहित्यमा पुर्‍याएको विशिष्ट योगदानलाई स्मरण गर्न र ती प्रतिभालाई सम्मान गर्दै उनी जन्मिएको दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन किन सक्दैनौ? विभिन्न नाममा बिदा दिने सक्ने सरकारले भानु जयन्तीका दिन बिदा घोषणा गर्न किन सक्दैन? नेपालमा बोलिने अन्य भाषा–साहित्यको उत्थानमा योगदान पुर्‍याएको प्रतिभाको खोजबिनमा लाग्न किन चाहँदैन सरकार? यस पटक सरकारले भानु जयन्ती मनाउनका निम्ति कुनै उत्साह नै देखाएन। नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितात्मक कविता कार्यक्रममा गएर 'नेपाल आशुकविहरूको देश हो' भन्न भ्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीबारे एक शब्द पनि बोल्नु आवश्यक देखेनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि यस विषयमा कुनै चासो राखेको देखिएन। राजधानी तथा मोफसलका केही स्थानमा कविगोष्ठी र सामान्य कार्यक्रमबाहेक उल्लेखनीय समारोह भएको देख्न–सुन्न पाइएन। यसले हामी कतिसम्म कृतघ्न र असहिष्णु हुँदै गइरहेका छौँ भन्ने प्रश्न खडा गरिदिएको छ।

भाषालाई सूत्र र मन्त्र बनाएर खल्तीभित्र राख्ने गलत परम्पराका विरोधी थिए भानुभक्त। उनले त्यस्तो परम्पराको विरोध गरी रामायणलाई सरल, सुबोध र पठनीय पारी सर्वसाधारणले पनि बु‰ने बनाए। भानुभक्त विकासवादी र आधुनिक थिए भन्ने कुरा उनका कविताले नै स्पष्ट पार्छन्। राणाशासनको क्रूरताको समय उनले जे जति र जस्ता कविता लेखेर समाज परिवर्तनका निम्ति योगदान पुर्‍याए त्यो स्तुत्य छ। त्यस समयको क्रान्तिकारिता त्यही नै थियो। नेपाली भाषालाई सहज पारेर उनले ठूलो गुन लगाएका छन्। भानुभक्तको योगदानको स्मरण गर्दै जसरी छिमेकी भारतमा राष्ट्रिय उत्सव आयोजना गरियो, त्यसबाट पाठ सिक्दै नेपाल सरकारले आगामी दिनमा भानुबारे नयाँनयाँ खोज–अनुसन्धान गर्दै उनको योगदानको उच्च कदर गर्नेतर्फ पाइला चाल्नु अपरिहार्य छ।     

प्रकाशित: ३१ असार २०७३ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App