coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अदालतको आदेश अवज्ञा

काठमाडौं- प्रहरी प्रधान कार्यालयले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको छ। सर्वोच्चले प्रहरी अतिरिक्त महानिरीक्षक (डिआइजी) नवराज सिलवाललाई अदालतमा उपस्थित गराई तुरुन्त थुनामुक्त गर्न दिएको आदेश प्रहरी प्रधान कार्यालयले उल्लंघन गरेको हो।

अदालतको आदेशबारै हामीलाई औपचारिक जानकारी छैन। हामीले उहाँ (नवराज सिलवाल) लाई बयानका लागि घरबाटै ल्याएका थियौं। घरमै लगेर छोड्यौं।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले पक्राउ परेका सिलवाललाई सोमबारै अदालतमा उपस्थित गराई थुनामुक्त गर्न आदेश दिएको थियो। तर सोमबार बेलुकीसम्म सर्वोच्चमा सिलवाललाई उपस्थित गराइएन।

प्रहरी प्रधान कार्यालयले भने बयानका लागि सोमबार नियन्त्रणमा लिइएका सिलवाललाई घरमा लगेर छोडेको  दाबी गरेको छ। नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनाल सर्वोच्च अदालतको आदेशबारे औपचारिक जानकारी  नआएको बताए। खनालले भने, 'अदालतको आदेशबार हामीलाई औपचारिक जानकारी छैन। हामीले बयानका लागि उहाँलाई घरबाटै ल्याएका थियौं। घरमै लगेर छोड्यौं।'

 सर्वोच्चले साढे दुई बजेतिर आदेश जारी गरी तत्कालै प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको थियो।

सर्वोच्चका रजिष्ट्रार नृपध्वज निरौलाले अदालतबाट जारी आदेश प्रहरी प्रधान कार्यालय पठाइसकेको बताए। निरौलाले साँझ भने, 'हामीले आदेश पठाइसकेका छौं। बन्दी बनाइएका सिलवाललाई अहिलेसम्म ल्याइएको छैन। हामी कुरेर बसिराखेका छौं।'

सर्वोच्चले प्रहरी प्रधान कार्यालयलाई सिलवाललाई पक्राउ गर्नुको लिखित जबाफ  तीनदिनभित्र पेस गर्नसमेत भनेको छ।

सोमबार बिहान प्रहरीले सिलवाललाई पक्राउ गरेपछि बिहान साढे ११ बजेतिर अधिवक्ता पूर्णप्रसाद राजवंशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेका थिए। आदेशमा 'यस अदालतका रजिष्ट्रारको रोहबरमा निवेदकका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताको हाजिर जमानीमा थुनामुक्त गर्नु' भनिएको छ। बन्दी बनाइएका सिलवाललाई तत्काल थुनामुक्त गर्न पनि आदेश दिइएको छ। हाजिर जमानीमा थुनामुक्त गर्न सर्वोच्चमा सोमबार नै सिलवाललाई उपस्थित गराउन भनिएको छ।

सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको उत्प्रेषणलाई समेत असर पार्नेगरी पक्राउ गर्न नहुने भन्दै तत्काल थुनामुक्त गर्न आदेश भएको छ।

अधिवक्ता टिकाराम भट्टराईले सरकारले सिधै अदालतको अवज्ञा गरेको बताए। 'अदालतले आजै (सोमबार) रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहबरमा छोड्ने आदेश दिएको छ', भट्टराईले भने, 'जुनसुकै हालतमा सिलवाललाई अदालतमा उपस्थित गराउनुपर्थ्यो।'

भट्टराईले अदालतको आदेश हातमा राखेर आफू सिलवालसँगै रहेको बताए। उनले भने, 'उहाँलाई प्रहरीले सर्वोच्चको गेटसम्म लग्यो, त्यसपछि बबरमहल हुँदै बालकुमारी पुलमा पुगेर मलाई जर्बजस्ती गाडीबाट झारियो।' उनले थपे, 'आदेश कार्यान्वयन भएको छैन, 'उहाँ नियन्त्रणमै हुनुहुन्छ। साँझ बी एन्ड बी हस्पिटलमा प्रहरीकै निगरानीमा हुनुहुन्छ।'

मन्त्रिपरिषद्ले चैत २८ मा प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ति गरेपछि कार्यान्वयन हुनबाट रोक्न माग राखेर सिलवालको पक्षबाट सर्वोच्चमा रिट परेको थियो। चैत ३० मा सो रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई छलफलमा बोलाउने र अर्याललाई नियुक्त गर्नुको कारण पेस गर्न आदेश जारी गरेको थियो।

प्रकाशित: १२ वैशाख २०७४ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App