६ वैशाख २०८१ बिहीबार
राजनीति

मध्य रमजानमा निर्वाचनको घोषणाले मुस्लिम समुदाय खिन्न

रौतहट – मुस्लिम समुदायको एक महिने पवित्र रमजान पर्वको बीचैमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन घोषणा भएपछि रौतहटका मुस्लिम समुदाय खिन्न देखिएका छन् । रमजानको अवधिमा स्थानीय तह निर्वाचनको सम्पूर्ण कार्यक्रम परेपछि मुस्लिम समुदायमा उत्साहभन्दा खिन्नता देखिएको मुस्लिम अगुवाहरुले गुनासो गरेका छन् ।

जमियत उल्माए नेपालका केन्द्रीय सदस्य हाजी जिक्रुल्लाहले स्थानीय तहको संशोधित मितिले मुस्लिम समुदायको पवित्र रमजान प्रभावित हुने देखिएको आरोप लगाएका छन् । सरकारले चार प्रदेशमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको तिथि घोषणा गर्दा मुस्लिम समुदायको एक महिने लामो पवित्र रमजान पर्वतर्फ ध्यान नदिएकोमा दुःख लागेको बताएका छन् ।

एक घुटको पानीसमेत खान नहुने कठिन साधनाको व्रतको अवधिमा चिर्वाचनको कुनै पनि कार्यक्रममा मुस्लिम समुदायलाई सहभागी हुने वातावरण नै नबन्ने हुनाले रमजान सुरु हुनुभन्दा कम्तीमा दुई दिन पहिले वा रमजानको समापन हुने इद–ऊल–फित्रको दुई दिनपछि निर्वाचनको मिति घोषणा गर्दा मुस्लिम समुदायले आग्रह गरेका छन् । संसारभरका मुस्लिम समुदायले एकसाथ मनाउने सबैभन्दा ठूलो पर्वलाई समेत सरकारले वेवास्ता गरी सम्पूर्ण मुस्लिम समुदायलाई नै वेवास्ता गरेको आरोप मुस्लिम अगुवा महम्मद मकसुद राँकीले लगाएका छन् ।

जेठको चर्को घाममा निर्वाचन सम्बन्धी जनचेतना जगाउन, मुस्लिम उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न र निर्वाचनलाई सहयोग गर्ने अन्य कार्यक्रमहरूमा सहभागी हुने वातावरण बनाइदिन राँकीले सरकारसित आग्रह गरेका छन् ।

गौर नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार शम्भु साहले एक विज्ञप्ति प्रकाशित गरी मुस्लिम समुदायको भावनाको सम्मान गर्न आग्रह गरेका छन् । जिल्लामा सबैभन्दा बढी संख्यामा रहेको मुस्लिम समुदायलाई सम्मानका साथ स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले ध्यान दिनुपर्ने साहले माग गरेका छन् ।

रमजानको बीचैमा स्थानीय तहको निर्वाचनको घोषणा गरिएको र मुस्लिम समुदायको सबैभन्दा मुख्य पर्वलाई वेवास्ता गरिएकोले जेठ ३१ को विकल्प खोज्न सरकारलाई मंगलवार ज्ञापनपत्र बुझाइने जमियत उल्माए नेपालका केन्द्रीय सदस्य जिक्रुल्लाहले बताएका छन् । ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण हुने विश्वास केस जिक्रुल्लाहको रहेको छ ।

प्रकाशित: ११ वैशाख २०७४ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App