८ वैशाख २०८१ शनिबार
समाज

नेपाल रिपब्लिक मिडिया नवौं वर्षमा, सबैभन्दा ठूलो छापा नेटवर्क बनाउने घोषणा

वार्षिकोत्स केक काट्दै नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनाेदराज ज्ञवाली। तस्विरः नागरिकन्युज

काठमाडौं- नेपाल रिपब्लिक मिडिया सोमबारबाट आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको छ। यो अवसरमा नेपालको अग्रणी प्रकाशनगृह मिडियाले राजधानीमा आठौं वार्षिकोत्सव मनाएको छ। आठ वर्षअघि लोकतन्त्र स्थापनाकै दिन नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिक प्रकाशन सुरु भएको अवसरमा संस्थाले वैशाख ११ गते वार्षिकोत्सव मनाउँदै आएको छ।

यसै अवसरमा राजधानीको सोल्टी होटलमा आयोजित विशेष समारोहबीच कम्पनीका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले वार्षिकोत्सव केक काटेका थिए।

कर्पोरेट सल्लाहकार सोहन श्रेष्ठले छिटै पोखरा र बुटवलबाट प्रकाशन थाल्न लागेको जानकारी दिए। यी दुई स्थानबाट प्रकाशन सुरु भएपछि नेपाल रिपब्लिक मिडिया नेपालको सबैभन्दा ठूलो प्रिन्ट नेटवर्क हुने उनले बताए।

आठौं वार्षिकोत्सव अवसरमा शुभकामना सन्देश दिँदै मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले सवल लोकतन्त्रका निम्ति सशक्त सञ्चार माध्यमको आवश्यकता हुने भन्दै उनले सञ्चार माध्यमको विकासका लागि पनि लोकतन्त्र अपरिहार्य रहेको जनाएका छन्। 

मिडियाकी निर्देशक शोभा ज्ञवालीले आमनागरिकका विषयलाई कम्पनीका प्रकाशनमा प्राथमिकता दिएको उल्लेख गर्दै उनले सम्पूर्ण कर्मचारीको तलब पाँच प्रतिशत वृद्धि भएको बताइन्। कम्पनी ह्याप्पी अर्गनाइजेसनको रुपमा अघि बढिरहेको भन्दै उनले त्यो खुशीका लागि चुनौतीसँग खेल्न तयार हुनुपर्ने उल्लेख गरिन्।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले ९ वर्षको अवधि मिडियाका लागि धेरै नभए पनि यो अवधिमा नेपाल रिपब्लिक मिडिया नेपालको प्रवभाशाली मिडियाको रुपमा स्थापित हुन सफल भएको बताए। पत्रकारले जति अप्ठ्यारोमा पनि काम गर्ने भन्दै उनले सजिलो परिस्थितिमा उसका कामहरु सरल ढंगले अघि बढ्ने बताए।

रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेले मिडिया क्षेत्रमा नयाँ प्रयोग र नयाँ प्रविधिको उपयोगमा जुटिरहेको उल्लेख गरे। डिजिटल युगसँग अघि बढ्न अप्ठ्यारो नभएको भन्दै उनले समयसँगै पत्रकारहरु अपग्रेट हुनुपर्ने बताए।

शुक्रबार तथा नागरिक परिवार म्यागेजिनका सम्पादक राजन नेपालले अहिलेको क्रान्ति भनेको काम भएको उल्लेख गरे। 'राम्रो काम गरे हामी सबै राम्रो स्थानमा पुग्छौं', उनले भने।

नेपालकै सबैभन्दा ठूलो प्रिन्ट नेटवर्क बनाउने घोषणा

कार्यक्रममा कर्पोरेट सल्लाहकार सोहन श्रेष्ठले छिटै पोखरा र बुटवलबाट प्रकाशन थाल्न लागेको जानकारी दिए। यी दुई स्थानबाट प्रकाशन सुरु भएपछि नेपाल रिपब्लिक मिडिया नेपालको सबैभन्दा ठूलो प्रिन्ट नेटवर्क हुने उनले जानकारी दिए। मिडियाले अहिले अफ्ना प्रकाशनहरु स्थानीय संस्करणसहित काठमाडौं, विराटनगर, नेपालगञ्जबाट प्रकाशन गर्दै आइरहेको छ। विराटनगरबाट पूर्वेली र नेपालगञ्जबाट पश्चिमेलीको प्रकाशन गरिरहेको छ।

उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई सम्मान

सातौं वार्षिकोत्सवमा संस्थाले उत्कृष्ट पाँच पत्रकार/कर्मचारीलाई बेस्ट पफर्मेन्स अवार्डले सम्मान गरेको छ। सम्मानित हुनेमा नागरिक दैनिकका झापा संवाददाता राजु अधिकारी, रिपब्लिका अंग्रेजी दैनिकका दीलिप ढकाल, विष्णुराम घिमिरे (मार्केटिङ), श्याम आचार्य (फाइनान्स), अरविन्दमान सिंह (डिजाइन) छन्। बेस्ट पफर्मरहरुलाई कम्पनीका प्रबन्ध निर्देशक विनाेदराज ज्ञवालीले अवार्ड वितरण गरेका थिए।

राजु अधिकारी (बेस्ट पफर्मर नागरिक दैनिक)

स्थापनाकालदेखि नागरिक दैनिकमा आद्ध राजु अधिकारी झापामा रहेर अनुसन्धानमूल र नेपाली राजनीतिलाई सबैभन्दा पेचिलो अवस्थामा पुर्‍याउने नाकाबन्दीका बेला काला बजारीविरुद्ध विशेष रिपोर्टिङ गरेका थिए। उनले गरेका रिपोर्टिङ तथा विश्लेषणले सर्वसाधारणलाई सुसूचित गर्नुका साथै उपभोक्ताहितमा वकालत गरेको थियो।

दीलिप ढकाल (बेस्ट पफर्मर, रिपब्लिका अंग्रेजी दैनिक)

स्थापनाकालदेखि रिपब्लिका दैनिकमा कार्यरत दिलिप ढकाल पत्रिकाको नाइट डेस्क प्रमुख हुन्। रिपब्लिकाको विषय चयन, भाषा सम्पादनमा उनको योगदान उल्लेखनीय छ। सही विषय छनौट गरेर पाठकीय सर्वोच्चता स्थापित गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

विष्णुराम घिमिरे (बेस्ट पफर्मर, मार्केटिङ)

नेपाल रिपब्लिक मिडियाको मार्केटिङ विभागमा कार्यरत विष्णुराम घिमिरेले आफूले पाएको लक्ष्य प्रत्येक महिना पूरा गरेका थिए। भूकम्प र नाकाबन्दीले बजार अप्ठ्यारो परिस्थितिमा पुगे पनि उनले आफूले पाएको लक्ष्य सधैँ पूरा गरेका थिए।

श्याम आचार्य (बेस्ट पफर्मर, फाइनान्स)

नेपाल रिपब्लिक मिडियाको फाइन्नास विभागमा कार्यरत श्याम आचार्य कम्पनीको लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

अरविन्द मानसिंह (बेस्ट पफर्मर, डिजाइन)

नेपाल रिपब्लिक मिडियाको स्थापना कालदेखि नै कम्पनीसँग आवद्ध अरविन्द मानसिंह आफ्नो सिर्जनशील डिजाइन क्षमताका लागि बेस्ट पफर्मर भएका हुन्।

नेपाल रिपब्लिक मिडिया नवौं वर्षमा सबैभन्दा छापा नेटवर्क बनाउने घोषणा