coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

नयाँ शक्तिमा पुरानै शैली

जेठ ३० गते नयाँ शक्ति, नेपालको घोषणा सभा, दशरथ रंगशालामा चर्चित सिने अभिनेत्री करिश्मा मानन्धरले उद्घोषिकाको गहन भूमिका निभाउने क्रममा आफ्नो करिश्मा देखाएकी थिइन्। अहिले उनी नयाँ शक्ति, नेपालको केन्द्रीय सांस्कृतिक विभागको गरिमामय संयोजक पदमा विराजमान भएकी छन्। यस्तै कतिपय नयाँ—नयाँ स्वनामधन्य अनुहारहरु अप्रत्यासित ढंगले पार्टीको जिम्मेदार पदमा आरूढ भएका छन्। यसैलाई नयाँ भन्ने हो भने पंक्तिकारको भन्नु केही छैन। तर नयाँको नाममा नयाँ बोतल पुरानै रक्सी हो भने नयाँ शक्ति नभनेर पुरानै शक्ति भन्दा हुन्छ। कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै नयाँ शक्तिको नाममा गाईजात्रा देखाउने हो भने यो पार्टी पनि हात्ती आयो फुस्सामा परिणत हुनेछ।

नयाँ शक्ति, नेपालमा विभिन्न पार्टीबाट आएका छन्। तिनमा बढी एमाओवादीबाट आएका छन् र केही स्वतन्त्र पनि छन्। कांग्रेस एमालेलगायत विभिन्न घटकबाट आएका पुरानै संस्कार, शैली र संस्कृति लिएर आएका छन्। ती कुनै पनि रूपान्तरित भएका छैनन्, नयाँ कसरी हुन सक्लान्? जो एमाओवादीबाट आएका छन् ती त झन् अधिकांश आर्थिक अपारदर्शी तमाम विकृति विसंगतिमय बनेर आएका छन्, ती झन् कसरी नयाँ हुन सक्लान्? यस्तो लाग्छ, नाम नयाँ शक्ति राखे पनि पुरानै सांस्कृतिक परम्पराको निरन्तरता छ, कुनै क्रमभङ्ग र छलाङ्ग छैन। तब यो पार्टी कसरी नयाँ शक्ति बन्न सक्छ?

जहाँतक विचारको प्रश्न छ, यसमा कुनै खोट लाउने छिद्र छैन। यसको दार्शनिक पक्ष, राजनीतिक र सांगठनिक पक्ष एवं सांस्कृतिक पक्ष, विकाससम्बन्धी अवधारणा आदि सबै यौटा युगको अन्त्य भएर अर्को नयाँ युगको शुभारम्भ भएको वर्तमान परिप्रेक्ष्यमा नयाँ युगको नेतृत्व गर्ने खालकै छ। तर त्यसलाई व्यवहारमा उतार्ने  सवाल जटिल छ। विचार नयाँ, परिवेश नयाँ, आवश्यकता नयाँ तर त्यसको कार्यान्वयन गर्ने शक्ति नयाँ नहुने र पुरानै ढाँचा, आचरण, शैली र संस्कृतिमा अल्भि्कदा न हाँसको चाल न कुखुराको चाल हुने कुरा निश्चित छ।

घोषणा सभा हुनु अघिसम्म जुन रफ्तारमा सक्रियता बढेको थियो, त्यसपछि असारमा धान रोपी सकेर आराम गर्दै मस्त निदाएका किसानजस्तै कार्यकर्ताहरु सुतेका छन्। सरकार मंसिरमा स्थानीय, त्यसपछि प्रदेश सभा, राष्ट्रिय सभा र व्यवस्थापिका संसद्को निर्वाचन क्रमशः गराउने कुरा गर्दैछ, सो होला नहोला, त्यो आफ्नो ठाउँमा छ  तर नयाँ शक्ति नेपालले चुनावमा भाग लिने कुरा गरिसकेको छ, के यस्तै चालाले चुनावमा श्रेष्ठता हासिल हुन सक्ला?

विक्रम सम्वत् १९९७ सालदेखि २०७२ सालसम्म नागरिक अधिकार प्राप्तिका लागि आन्दोलनमुखी राजनीति चलिरहेको थियो। त्यो आन्दोलन कहिले अहिंसात्मक कहिले हिंसात्मक जनविद्रोहात्मक थियो। त्यसबाट देशमा युगान्तकारी राजनीतिक परिवर्तन भयो र देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक भएको छ तर यस बीचमा आर्थिक परिवर्तन हुन सकेन। देश परनिर्भर बन्न गयो। आर्थिक रुपमा आत्मनिर्भर बन्न नसके पनि परिवर्तित विश्व परिस्थितिमा अन्तरनिर्भर बन्नुपर्थ्यो। उल्टो पुरै परनिर्भर बनेको छ, नेपाल। यस्तो अवस्थामा आर्थिक विषयलाई मुख्य एजेन्डा बनाएर विकासमुखी राजनीति गर्नु अहिलेको आवश्यकता हो। समावेशी, समानुपातिक सहभागितापूर्ण लोकतन्त्रको विकास गर्न र समुन्नत समाजवादको आधार तयार गर्दै स्वाधीन, समृद्ध र समावेशी नयाँ नेपाल निर्माण गर्न आर्थिक पारदर्शिता, समाचार र सुशासनको खाँचो पर्दछ तर नयाँ शक्ति नेपालका अधिकांश नेता कार्यकर्ताहरुको जीवन शैली, आचरण, व्यवहार, कार्यशैली र बोली वचन सुन्दा र हेर्दा नयाँ बोतलका पुरानै रक्सीजस्ता देखिन्छन्। तब यति ठूलो गहन युगको अभिभारा कसरी वहन हुन सक्ला? प्रश्न अनुत्तरित छ।

यतिबेला अगाडि बढेको राजनीतिक सम्बन्ध र पछाडि परेको आर्थिक सम्बन्धका बीच गहिरो अन्तरविरोध छ। त्यसको हल नगरी संविधानमा जतिसुकै जनपक्षीय कुरा लेखिएका भए पनि आर्थिक समृद्धि बिना सम्भव छैन। संविधान फगत कागजको खोस्टो हुनेछ। अर्कातिर आन्तरिक रूपमा विविध राष्ट्रियताहरु छन्, मुख्यतः तीन वटा क्लस्टरहरु छन्, ती बीच ऐक्यबद्धता कायम नगरी नेपाललाई समृद्ध र बलियो राष्ट्र बनाउन सकिन्न। ठीक त्यसैगरी भारत र चीन बीचको जुन राजनीतिक सम्वेदनशीलता छ, त्यसको सन्तुलन नमिलाई प्रगतिशील राष्ट्रवाद हुन्न र सो बिना नेपाललाई स्वाधीन राष्ट्र बनाउन सम्भव छैन। नयाँ शक्तिले पुराना शक्तिबाट सम्भव छैन भनेको छ तर नयाँ शक्तिको नाममा आएका यी पुरानै रक्सीबाट यो सम्भव छ प्रश्न गम्भीर छ।

नयाँ शक्ति, नेपालको राजनीतिक दस्तावेजमा आर्थिक एजेन्डा नै मुख्य एजेण्डा बनाउने कुरा उल्लेख गरिएको छ। नारामा यो एकदम ठीक छ। मुख्य कुरा त्यसको कार्यान्वयन हो। नेता कार्यकर्तामा आर्थिक पारदर्शिता, सदाचार र सुसंस्कृति भएन भने कुनै उपलब्धि हुँदैन। आर्थिक विकास र समृद्धिको कार्यक्रम लिएर जनताका बीचमा जाने कार्यदिशा तय त गरिएको छ तर त्यसलाई लैजाने कसले? के करिश्मा मानन्धरले? के रामेश्वर खनालले? कि उनै हिजोका झोले कार्यकर्ताले? भन्न सजिलो छ, गर्न गाह्रो छ। भन्न त हिजोका पञ्च–महापञ्चले पनि भन्थे– विकासको मूल फुटाउने कुरा। तर व्यवहारमा विकासको नाममा चरम विनाश भएको कुरा सर्वविदितै छ। कथनी र करनीमा जमीन आसमानको भिन्नता छ। नयाँ शक्तिले जुन एजेन्डा ल्याएको छ त्यसलाई विरोधी विपक्षीले पनि रेख लाउने ठाउँ छैन। त्यसको अग्निपरीक्षा त्यसको कार्यान्वयनमा हुन्छ। कार्यान्वयन गर्ने पार्टी कार्यकर्ताहरुको आचार कार्यशैली र संस्कृतिमा भर पर्छ।

जहाँतक नयाँ शक्तिमा वैचारिक विचलन भयो भन्ने आरोप छ। यसले नयाँ जनवाद परित्याग गर्‍यो भन्ने छ, सरासर गलत छ। नयाँ शक्तिको लक्ष्य समाजवाद नै हो र अझ समुन्नत समाजवाद हो। समाजवादमा नगएसम्म पूँजीवादका विभेद र असमानता हटाउन सकिन्न भन्ने नै छ। समाजवादी लक्ष्य समाजवादी रणनीतिअन्तर्गत तत्काल पुँजीवादी उत्पादक शक्तिको विकास गर्ने नै हो। त्यसका निम्ति लोकतन्त्र भनिएको छ। नयाँ जनवाद र जनताको जनवादजस्ता शब्द नराखी समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र जुन भनिएको छ, त्यही नै नयाँ जनवाद वा जनताको जनवाद हो। वैचारिक विचलन हैन विचारको मार्क्सवादी विकास हो।

कुरा राम्रा छन्, काम राम्रा हुनुपर्‍यो। एजेन्डाले नयाँ युगको प्रतिनिधित्व गरेको छ। त्यसको सही कार्यान्वयन हुनुपर्‍यो। नयाँ शक्तिमा पुराना र नयाँको जमात छ, नयाँमा रुपान्तरित हुनुपर्‍यो। नत्र नाम नयाँ, काम पुरानै, नाम नयाँ शक्ति, अनुहार पुरानै र उनको कार्यशैली पुरानै भयो भने नयाँ शक्तिको गायत्री मन्त्र जप गरेर नयाँ युगको नेतृत्व कसरी हुन्छ? सांगठनिक ढाँचा, त्यसमा आबद्ध व्यक्ति तिनका सबै क्रियाकलाप नयाँ हुनु पर्‍यो।

नयाँ शक्ति नेपाल पार्टीको राष्ट्रवाद प्रगतिशील राष्ट्रवाद हो। प्रगतिशील राष्ट्रवादको कार्यान्वयनका लागि छिमेकी भारत र चीन बीच समदूरी र समनिकटता आवश्यक हुन्छ। तर चीन आफ्नो पक्षमा गराउन चाहन्छ, भारत आफ्नो पक्षमा। यी दुइ ठूला छिमेकी शक्ति राष्ट्रका बीच रहेको नेपाल गतिशील पुल कसरी बन्न सक्ला? दुवैको चाहना बिना सो सम्भव देखिँदैन। बाबुराम हुन् वा रामबाबु, दुवैको चेपुवाबाट उम्कन त्यति सहज छैन। मुखले असंलग्न भने पनि एकातिर संलग्न नभै टिक्न सक्ने स्थिति छैन। त्यसका लागि बाम एकता गरी बलियो बन्नु पर्दछ। सोबारे नयाँ शक्ति नेपालका मुख्य अभियन्ताले गम्भीरता पूर्वक सोच्नु आवश्यक छ।

मुख्य कुरा विचार सिद्धान्त हो, नीति कार्यक्रम हो, आर्थिक एजेन्डा हो। त्यसमा सहमत हुनेसँग सहकार्य गर्ने र त्यसको नेतृत्व गरेर मुलुक हाँक्ने अवसर आउँछ भने त्यसलाई छोपेर देशको भाग्य भविष्य समुज्ज्वल पार्ने कुरामा पछि पर्न हुँदैन। युगको मागअनुसार ल्याएको नीति कार्यक्रम र एजेन्डालाई साकार पार्न देशको माग र आवश्यकताको बोध गरी विराट छाती बनाएर सबैलाई त्यसभित्र समाहित गरेर आफ्नो योग्यता, क्षमता र कार्य कुशलतालाई नयाँ नेपाल निर्माण गर्न लगाउनु पर्दछ।

प्रकाशित: ३१ असार २०७३ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App