coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्मचारीको व्यवस्थापन नहुँदा भूकम्पपीडितलाई सास्ती

काभ्रे – दोस्रो किस्ताका लागि सम्झौता भएर पनि भूकम्पपीडितले राहत रकम पाउन सकेका छैनन् । स्थानीय तहमा कर्माचारीको व्यवस्थापनको अभावकै कारण भूकम्पपीडितले रकम पाउन नसकेका हुन्। 

गत २०७३ फागुन २८ गते जिल्ला प्रशासन कार्यालयबाट दोस्रो किस्ताका लागि सम्झौता भए पनि अहिलेसम्म राहत रकम पाउन नसकेको गुनासो साविक रबिओपी गाविस हाल धुलिखेल नगरपालिकाकी स्थानीय कल्पना कोइरालाले पोख्नुभयो । “घर बनाउन त ऋण गरेर सुरु गरियो तर अहिले दोस्रो किस्ताबापतको रकम नपाउँदा ब्याज बुझाउन निकै गाह्रो भएको छ” – उनले भने । 

कोइरालाले पहिलो किस्ता पाउनेबित्तिकै ऋण गरेर घर बनाउन सुरु गरेका थिए । अहिले दोस्रो किस्ताको रकम नपाउँदा उनी निकै समस्यामा छन् । उनले सरकारले ऋण उपलब्ध गराउने घोषणा नगरेको भए आफूहरुले आफ्नै किसिमबाट काम गर्ने आक्रोशसमेत पोखे। 

कोइरालाजस्तै त्यहाँका अन्य भूकम्पपीडित पनि दोस्रो किस्ता उपलब्ध नहुँदा निकै समस्यामा छन् । दोस्रो किस्ता नपाएकै कारण निर्माण सामग्री किन्न र ज्यामीलाई ज्याला उपलब्ध गराउन कठिन भएको स्थानीयवासी सुदीप कोइरालाले बताए । तत्काल राहत उपलब्ध भए घर बनाएर छाप्रोबाट घरमा सर्न पाउने उनको भनाइ छ । घरमा बस्न नपाउँदा हावाहुरी र झरीले समस्या पर्ने गरेको उनले गुनासो गरे । 

सरकारले तत्काल रकम उपलब्ध गराउने भन्ने आश्वासन देखाए पनि हालसम्म उपलब्ध नभएको आक्रोश त्यहाँका स्थानीयवासीले पोखेका छन् । त्यहाँका कतिपय स्थानीयवासीले पहिलो किस्ताबाट आएको रकमले घडेरी खारे पनि रकमकै अभावका कारण काम सुरु गर्न सकेका छैनन् । सरकारले उपलब्ध गराउने भनेको रु तीन लाख रकम एकमुष्ट पाएको भए घर बनाउने स्थानीयवासी तारा पराजुलीले बताए। 

काभ्रेका विभिन्न नगरपालिका र गाउँपालिकामा कर्मचारीको व्यवस्थापन हुनेबित्तिकै राहत वितरणको काम सुरु गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काभ्रेका प्रमुख ध्रुव गैँडाले बताए । 

दोस्रो किस्ताको लागि रकम जिल्लामा आइसकेको र कर्माचारीको व्यवस्थापन हुनेबित्तिकै पीडितलाई रकम उपलब्ध गराउने उनले बताए। रासस

प्रकाशित: ११ वैशाख २०७४ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App