coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संघर्षकी प्रतिमूर्ति

लहान- वैवाहिक बन्धनमा बाँधिएको पाँच वर्ष नबित्दै पतिले अर्की पत्नी भिœयाए। एकातिर, नाबालक दुई छोराको लालनपालनको जिम्मेवारी अनि अर्कोतिर, पतिसँग छुट्टिनु पर्दाको पीडाले एक निरक्षर महिलालाई सम्हालिन कम्ता गाह्रो थिएन। तर, उनले हिम्मत हारिनन्। 

पारिवारिक तथा सामाजिक अपहेलनाको बाबजुद पनि सिरहा, धनगढी नगरपालिका–९ (साविक मुसहरनिया–८) की फूलकुमारी योन्जन (श्रेष्ठ), ५३, जीवनका चुनौती सामना गर्दै अगाडि बढिरहिन्। अदम्य साहस र हिम्मतले उनी आफू मात्र अगाडि बढिनन्, समाजका विपन्न तथा पछाडि परेका महिलालाई आर्थिक रूपमा आत्मनिर्भरसमेत बनाइन् ।

१९ वर्षअघि 'निरक्षर' फूलकुमारी योन्जनको अगुवाइमा सुरु गरिएको सहकारीले सफलता चुम्दै अगाडि बढेको छ। उनले महिला सशक्तीकरण तथा चेतनामूलक कामलाई पनि उत्तिकै महत्व दिएकी छन्।

मुसहरनिया बस्तीका ३७ महिलाबाट १८ हजार ५ सय रुपैयाँ संकलन गरी १९ वर्षअघि उनको अगुवाइमा सुरु गरिएको बुद्ध महिला बचत तथा ऋण सहकारी संस्थाले सफलता चुम्दै अगाडि बढेको छ। संस्थामा अहिले २५ करोड ९६ लाखभन्दा बढी जम्मा भइसकेको छ।

२०५५ साल पुस १५ गते सहकारी संस्था दर्ता गराएर समाजलाई समृद्ध बनाउनका लागि गाउँमै बचत गर्ने परिपाटी फूलकुमारीले सुरु गरिन्। मधेसको गाउँमा महिला जागरण तथा बचतसम्बन्धी काम  गर्न त्यति सजिलो कहाँ थियो र? सामाजिक परिवेशले उनको यो बाटोमा प्रशस्त काँडा ओछ्याइदियो। महिला समृद्धि अभियान रोक्न समाजका केही पुरुष सदस्य खुलेरै लागे। तर, उनको दृढ अठोट र इच्छाशक्तिका अगाडि सबै अवरोध पन्छिँदै गए। 

संघर्ष यात्रा

 २२ वर्षअघिको घटना सम्झेर उनका आँखा अझै इन्›ावती बनेर ओइरिन्छन्। त्यो दिन आउला भन्ने उनले कहिल्यै सोचेकी थिइनन्, जसले उनलाई जीवनकै सबैभन्दा ठूलो चोट दियो।

 तीन छोराकी आमा फूलकुमारीको जीवन हाँसीखुसी चल्दै थियो। पतिले एक्कासि सौता भिœयाएपछि उनको मुटु छियाछिया बन्यो। असह्य भएपछि उनले अठोट गरिन्– लालाबालासाथ अलग्गै बाँच्ने।

 पतिबाट अलग्गिएर समाजमा बस्नु सजिलो थिएन।  लालाबाला पाल्नुपर्ने जिम्मेवारीको भार। उनले हरेस खाइनन्। समाजसँग जु‰दै जीवनको गति अगाडि बढाइरहिन्।

 घरबाट बाहिर निस्कियो कि गाउँलेले उनको कुरा काट्न थालिहाल्थे। तर, उनी त्यसलाई वास्ता गर्दैनथिइन्। बरु, आफूलाई सम्हाल्दै पाइला अगाडि बढाउँथिन्। त्यही समाजका केही महिला उनका सहयोगी बने। हौसला बढाउने महिला समूहकै कारण उनका पाइला डगमगाएनन्।

 फूलकुमारी अक्षर चिन्दैन थिइन्, उनका सहयोगी पनि त्यस्तै। गाउँमा प्रौढ शिक्षाको अभियान चल्यो। फूलकुमारी आफ्ना सहयोगीका साथ प्रौढ कक्षामा भर्ना भइन्। ६ महिनाजति प्रौढ कक्षा पढेपछि उनले अक्षर चिन्न थालिन्। त्यसपछि उनलाई महिला सशक्तीकरण तालिममा सहभागी हुने रहर जाग्यो।

 उनीमा आत्मबल बढ्दै गयो। सालीन स्वभाव तथा कम बोल्ने बानीले उनी महिलाबीच अगुवा भूमिकामा अग्रसर भइन्। आफैं घरेलु हिंसापीडित महिला भएर एक्लिएकी फूलकुमारी क्रमिक रूपमा सशक्त बन्दै  गइन्।

  आर्थिक रुपमा आत्मनिर्भर बनाए मात्र महिला सशक्तीकरण सम्भव हुन्छ भने उनले राम्ररी बुझिसकेकी थिइन्। त्यसैले, महिला समूह बनाएर आत्मनिर्भर अभियान अगुवाइ गर्ने अठोट पलायो उनमा।

 फूलकुमारीले आफ्नै नेतृत्वमा टोलका महिलालाई समेटेर समूह बनाउने कसरत गरिन्। ३७ जना महिलालाई एकत्रित पारेर महिला समूह गठन गरिन्।

 समूह त बन्यो तर आर्थिक कोष कसरी बढाउने? यसका लागि उनी विभिन्न कार्यालय धाउन थालिन्। यसै क्रममा उनी सडक डिभिजन कार्यालय, लहान पुगिन् जहाँ राजमार्गछेउ बिरुवा रोप्ने कार्यक्रम थियो। सडकसँग फूलकुमारीले यो कामको जिम्मा आफ्नै समूहलाई दिन आग्रहपत्र पेस गरिन्। सडकले सहजै यो कामको जिम्मा लगायो।

 धनगढीको मुसहरनिया बुद्धचोकदेखि मुख्य बजारसम्म करिब एक किलोमिटरमा बिरुवा (आँप) रोप्ने जिम्मा पाएकी फूलकुमारीको उद्देश्य सफा थियो। पारिश्रमिक (मजदुर) बापतको रकम जोगाएर समूहको कोष खडा गर्ने। सडकका दुवैपट्टि सडकले तोकेको मापदण्डअनुसार बिरुवा रोप्ने काम सजिलो थिएन।

 ढुंगा पन्छाएर खाल्डो खन्नु मुस्किल काम थियो महिलाका लागि। तर, यो नगरे आफूहरूको कोष नबढ्ने बाध्यता। फूलकुमारीले महिला समूहसहित गाउँका महिलालाई पे्ररित गरेर ढुंगा पन्छाउँदै बिरुवा रोप्न खाल्डो खन्न सुरु गरिन्। दृढ अठोट भएपछि कुनै पनि कार्य असम्भव हुँदैन। फूलकुमारीले काम सफल बनाएरै छाडिन्। यही कामबाट महिला समूहको कोष खडा भयो, १८ हजार रुपैयाँको।

 त्यसपछि उनी वन कार्यालय पुगिन्। वनमा पनि वृक्षारोपणको बजेट आएको रहेछ, धनगढी गाउँकै चुरे फेदको बगरमा। करिब डेढ हेक्टर जमिनमा वृक्षरोपण गर्ने वनको कार्यक्रम पनि फूलकुमारीले समूहकै नाममा फुत्काइन्।

यो काम पनि समूहले आफैं पूरा गर्‍यो। २०५३ सालमा फूलकुमारी नेतृत्वको महिला सहयोगी समूह वृक्षारोपणबापत कोषमा थप २० हजार रकम जोड्न सफल भयो।

 महिलाको पारिश्रमिकबापतको रकम कोषमा थपिँदै गयो। अब फूलकुमारीको दिमागमा सहकारीमार्फत् रकम व्यवस्थापन गर्ने सोच फुर्‍यो। उनी सहकारी निर्माणतर्फ बढिन्। सहकारी त खोल्ने तर कसरी? सहकारीबारे उनलाई खासै ज्ञान थिएन। प्रौढ कक्षाले समान्य लेखपढ गर्न सिकेकी उनका लागि यो कार्य गठिन थियो।

 जहाँ इच्छा त्यहाँ उपाय। फूलकुमारीले सहकारीको व्यवस्थापनबारे छमहिने तालिम लिइन्। सहकारी खोल्न ३७ जना महिला तयार थिए तर, उनीहरू धेरैसँग नागरिकता थिएन कारण– महिलालाई किन चाहियो नागरिकता भनेर पतिले नागरिकता नबनाइदिने चलन रहेछ। उनले ती महिलालाई नागरिकताको अधिकार दिलाउन कसरत सुरु गरिन्।

 समाजका पुरुष अब उनका आँखी बन्न थाले। फूलकुमारीले बढी बु‰न थालिन्, महिलालाई बिगार्न थालिन् भन्दै अनेक अड्चन खडा गर्न थाले–समाजका पुरुषले।

 उनी रोकिइनन्, समूहका सबै महिलालाई नागरिकताको अधिकार दिलाएरै छाडिन्। नागरिकता प्राप्त गरिसकेपछि ती महिलालाई साथमा लिएर सहकारी संस्था गठन गर्न लम्किइन् फूलकुमारी।

 ‘बुद्ध महिला सहकारी संस्था' गठन भयो। ३७ जना महिला सदस्य रहेको यो संस्था दर्ता गराएर उनी गाउँका महिलाबाट बचत संकलनलाई आधिकारिक ढंगले गति दिन थालिन्। सुरुमा १८ हजार ५ सय थियो सहकारीमा।

 गाउँका महिलालाई उनले बचतको तरिका मात्र  सिकाइनन्। चुरोट–बिँडी, मदिरालगायत समाजमा विकृति फैलिने पदार्थ सेवनमा हुने खर्च बचाएर जम्मा गर्नु लगाइन्।

उनको यो तरिकालाई गाउँका महिलाले सिद्धान्त मानेर बचत सुरु गरे। बिस्तारै ३७ जनाबाट बचत गर्ने महिलाको समूहमा सदस्यता बढ्दै गयो।

 अब महिलाले पुरुषलाई जुवातास, मदिरा सेवनमा रोक लगाउने अभियान सुरु गरे। यो कार्यको उद्देश्य एउटै थियो– बचत वृद्धि। बिस्तारै गाउँका महिला पुरुषमाथि अनावश्यक खर्चमा लगाम लगाउन सफल भए। परिणाममा बचत वृद्धि हुन थाल्यो।

 पुरुषहरु ‘भाले बास्ने ठाउँमा पोथी बास्न थाले' भनेर गिज्याउँथे। फूलकुमारीले केही सुनिनन्। त्यस बेला संस्था नवजात शिशुजस्तै थियो, जसलाई हुर्काउने अठोटसाथ उनी एकहोरो महिला बचत अभियानमा सक्रिय भइरहिन्।

फूलकुमारीको सोच फैलँदै थियो। सहकारीमा महिला सदस्य पनि थपिँदै थिए। सदस्य थपिएसँगै बचत रकम पनि बढ्दै गयो। ३७ सदस्यबाट २ हजार नाघ्यो। सदस्य संख्या बढेसँगै सहकारीको घर पनि फुच्चे लाग्न थाल्योप ्कूलकमारीलाई। उनी फराकिलो घरको सपना बुन्न थालिन्। दस धुर जमिनमा बनाएको घरबाट चार कट्ठा जमिन र त्यसमा फराकिलो घरको सपना पूरा गर्न फूलकुमारीलाई दस वर्ष पनि लागेन।

 उनी पुरानो घर बेचेर धनगढीमै चार कट्ठा जमिन र फराकिलो घर जोड्न सफल भइन्। ०६९ सालदेखि बुद्ध महिला सहकारी फराकिलो भवनमा सञ्चालित छ।

 फराकिलो भवनसंगै सहकारीको कारोबार पनि फैलिएको छ। अहिले यो सहकारीमा २ हजार २ सय ८९ सेयर सदस्य (महिला) छन्। सहकारीको कारोबार २५ करोड ९६ लाख ९८ हजार ५ सय ३१ पुगिसकेको छ।

 संस्थालाई यो उचाइमा पुर्‍याउन फूलकुमारीले तीन छोराको समेत पर्वाह गरिनन्। ‘पुरुषमा निर्भर समाजका महिला अहिले आत्मनिर्भर हुँदैछन,' उनी भन्छिन्, ‘मेरा लागि यो नै ठूलो सन्तुष्टि हो।'

 अहिले उनलाई हेर्ने समाजको नजर पनि बदलिएको छ ‘पहिले मलाई अँखी बनाएका पुरुष अहिले सम्मानको आँखाले हेर्छन,' फूलकुमारी भन्छिन, ‘निष्ठापूर्वक गरेको कामले अवश्य फल दिँदोरहेछ।'

सबैकी दिदी ‘फूलकुमारी’

फूलकुमारी योन्जन अचेल गाउँमा फूलकुमारी 'दिदी' नामले परिचित छिन्। सेयर सदस्य, कर्मचारी, सञ्चालक समितिसमेत महिला रहेको उनको संस्थामा फूलकुमारीले  महिलालाई संस्थामार्फत आयआर्जनका लागि सीपमूलक तालिम दिलाई उद्यमशीलताका लागि सहुलियत दरमा रकम उपलब्ध गराएर स्वरोजगार बनाउने अभियानलाई निरन्तरता दिँदै आएकी छन्।

 संस्थामा फूलकुमारीले महिलाका लागि 'सुविधा कोष' स्थापना गरेकी छन्। कुनै महिलामाथि घरेलु हिंसा भए वा परिवारमा महिलालाई विपद् परे २ हजारदेखि १० हजारसम्म त्यही कोषबाट सहयोग गर्दै आएको संस्थाकी सहलेखापाल देवकुमारी पाखि्रनले जानकारी दिइन्।

 हालसम्म विपतमा परेका ७९ महिला यसबाट लाभान्वित भएका छन्। त्यसमा ४ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ। त्यसरी आपतविपद् पर्दा लिएको रकम पूर्णतः सहयोग हो, जुन फिर्ता गर्नु पर्दैन।

 'घरेलु हिंसा, झैझगडा भएमा मेलमिलापका लागि प्रहरी कार्यालयदेखि बैठकहरूमा पुग्छु,' उनले भनिन, 'राजनीतिक, सामाजिक परिवर्तन भए पनि देहातमा अझै  महिलाको पक्षमा न्यायको अवस्था सन्तोषजनक छैन, यसका लागि आफैं अग्रसर हुन्छु। आफूले पाएको दुःख अरु महिलाले भोग्नु नपरोस, उनको अठोट छ।

 संस्थाले विपन्न र पीडित महिलाका लागि सीपमूलक दिएर जीविकोपार्जनमा रकमसमेत सहयोग गर्दै आएको छ। सयौं महिला स्वरोजगारमा संलग्न छन्।

बिहानै घरबाट सामाजिक काममा महिला टोलीसँगै निस्कने गरेकी फूलकुमारी 'दिदी' दिनभर महिला सशक्तीकरणमै लागि परेकी हुन्छिन्। 'समुदायप्रति चासो बढाउँदै टोलमा सरसफाइसहित शौचालय अभियान सञ्चालन गरेको छु,' उनले भनिन, 'संस्थाबाट सबैजना मिलेर जिरोमाइल चौंकसहित विपन्न बस्तीमा सार्वजनिक शौचालय निर्माण गरेका छौं, शौचबाट सबैभन्दा बढी समस्या महिलालाई परेको देखेपछि सार्वजनिक चोकमा शौचालय निर्माण गरेका हौं, उनले थपिन।

अपहेलना सहेरै 'आदर्श' बनिन्

चुरोट, बिँडीलगायत धूमपानले दीर्घरोग निम्त्याउने भएकाले धनगढीका अधिकांश टोलबस्तीमा फूलकुमारकै नेतृत्वमा 'धूम्रपान बन्द गरौं' अभियान चलाइएको छ। अभियानले महिलामात्र होइन, पुरुषलाई पनि फाइदा पुगेपछि पुरुष पनि सहभागी हुन थालेका फूलकुमारीले सुनाइन्।

 २०५५ सालदेखि उनी नेतृत्वमा रहँदै आए पनि संस्थामा कुनै विवाद र झगडा भएको छैन। बरु उनलाई नै नेतृत्वमा राखिरहन संस्थामा आबद्ध महिलाले 'दिदी' उपनामको दर्जा दिएका छन्। महिला मात्र होइन, अहिले यस क्षेत्रका पुरुषले समेत उनलाई 'दिदी' भनेर सम्बोधन गर्छन्।

पति र समाजबाट अपहेलित हुँदै सँघर्षको कठिन बाटो तय गर्ने क्रमममा मुर्झाएकी तिनै फूलकुमारी अभियान एक हदसम्म सफल हुँदा फक्रिएकी छन्। माटोले लिपेको र टायलले छाएको घरमा बस्दै आएकी उनले समाजले माया र सम्मान गर्नुका साथै फक्रिन उर्जा प्रदान गरेको बताइन्।

सहकारीले महिलामा परिवर्तन

बुद्ध महिला सहकारीमा पदाधिकारीदेखि सेयर सदस्यसम्म सबै महिला छन्, यो सहकारीको विशेषता हो। सहकारीमा २२ सय ८९ जना महिला बचनकर्ता तथा  बचत १ करोड १३ लाख २३ हजार ३ सय ५३ छ। बचतकर्ताले ८ प्रतिशत ब्याज पाउँछन्।

 बाल बचततर्फ ८ सय ८४ जना बचतकर्ताबाट ४८ लाख ४ हजार ७ सय ६ रुपैंयाँ संकलन भएको छ। ऐच्छिक बचततर्फ ६ सय ५५ जना बचतकर्ताबाट १ करोड ६१ लाख ६१ हजार ७ सय ४४ रुपैंयाँ संकलन भएको छ। यसको ब्याजदर ६ प्रतिशत छ।

मुद्दती बचततर्फ १९ जना बचतकर्ताको ३० लाख ११ हजार १ सय ३५ रुपैंया बचत छ।

 सहकारीमा ६ सय १४ जना महिलाले दैनिक बचत गर्छन् , जसको बचत ७५ लाख ६८ हजार ८ सय ६२ रुपैंयाँ छ। दोब्बर बचतकर्ता महिला २ सय ४ जना छन्, जसको बचत ११ लाख ५० हजार ८ सय ६५ रुपैंया छ। युवा स्वरोजगार बचततर्फ २२ जनाको १ लाख ४१ हजार ८ सय ८६ रुपैंया बचत जम्मा रहेको सहकारीको अभिलेखमा छ।

प्रकाशित: ११ वैशाख २०७४ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App