८ वैशाख २०८१ शनिबार
अर्थ

कृषि-पर्यटनका अभियन्ता

टीकापुर- हरेक मान्छे उच्च सरकारी ओहदामा पुग्न चाहन्छ। व्यापार व्यवसाय गरेर मनग्ये आम्दानी गर्न चाहन्छ। राजनीतिमा लागेर नेतृत्व गर्न चाहन्छ। तर, कृषि पेशामा लाग्न कोही चाहँदैन।

कैलालीको टीकापुरका कालु हमाल (५८) यी सबै कुराका अपवाद हुन्। सानै उमेरदेखि उनमा सफल किसान हुने सोच थियो। कक्षा ८ मा पढ्दै गर्दा ऐच्छिक कृषि विषयले ध्यान तान्यो। माध्यमिक तहपछि पनि कृषि विषय नै रोजे। २०३९ मा चितवनबाट कृषि विषयमा स्नातक (बिएस्सीएजी) गरे।

देशभरका किसानलाई पछि पार्दै कैलाली, टीकापुरका कालु हमाल २०७१ को 'राष्ट्रपति सर्वोत्कृष्ठ कृषक पुरस्कार'बाट सम्मानित भएका छन्।

टीकापुर अगुवा खड्गबहादुर सिंहसँग उनका बुबाको राम्रै चिनजान थियो। सिंह पनि टीकापुरमा आधुनिक कृषि खेती गर्न चाहन्थे। त्यसैले उनले हमाललाई जागिरका लागि 'अफर'समेत गरे। घरपरिवारको चाहना पनि जागिर गरोस् भन्ने थियो। तर, उनले कहिल्यै जागिरबारे सोचेनन्। 'मलाई अर्काको नोकर बन्नु थिएन,' उनले भने, 'म आफ्नै प्रयासमा मालिक बन्न चाहन्थे।'

२०४० मा एकसाथ उनले केरा, तरकारी तथा कागती खेती, बंगुर, हाँस, कुखुरा, गाई तथा भैंसी पालन र नर्सरीलगायत काम सुरु गरे। तर, केरा खेतीबाहेक अरुमा उनी सन्तुष्ठ भएनन्।

उनले १० बोटबाट केरा खेती सुरु गरेका थिए। त्यहि १० बोट केराले उनलाई अहिले 'बनाना किङ' भनेर चिनाएको छ।

उनले केरा खेती विस्तार गरेर साढे २६ बिघा पुर्‍याएका थिए।

टीकापुरलाई केरा खेतीका रूपमा चिनाउँदै थिए। देशमा बढेको माओवादी द्वन्द्वले उनलाई अछुतो राखेन। ज्यान जोगाउन मुस्किल भएपछि उनी केरा खेती छोडेर बजार सरे। यो समयमा उनले आर्थिक रूपमा निकै घाटा व्यहोर्नुपर्‍यो। 'मेरो ५० लाख रूपैयाँ नोक्सान भयो। ज्यान नै जोखिममा परेपछि भाग्नै पर्‍यो,' उनले भने, 'एक लाख केराका बोट पुर्‍याउने लक्ष्य चकनाचुर भयो।'

उनी करिब ६ वर्ष केरा खेतीबाट टाढा रहे। देशको माहोल विस्तारै शान्त बन्दै गयो। उनी पुनः केरा खेतीमै फर्किए। अहिले ३/४ वर्षदेखि निरन्तर केरा खेतीको व्यवसायीकरणमा सक्रिय छन्।

पछिल्लो समय उनले केरा खेती भन्दा परिकारमा जोड दिएका छन्। अहिले टीकापुर नगरपालिकाभित्र तीन ठाउँमा केराका परिकार पाउने रेस्टुरेन्ट चलाएका छन्। ती रेस्टुरेन्टमा केराका ४० परिकार पाइन्छन्। टीकापुर पार्क रोडमा रहेको रेस्टुरेन्ट आफै हेर्छन्। मनिकापुरमा रहेको बनानाज् रिसोर्ट छोराको जिम्मा लगाएका छन्। दौलतपुरघाट नजिकै रहेको रानी महल रिसोर्ट तयारी अवस्थामा छ।

'मैले अहिले केरा खेतीभन्दा परिकारमा जोड दिएको छु,' उनले योजना सुनाए, 'परिकारका लागि भए पनि केरा खेती विस्तार गर्ने सोचमा छु।'

उनले आफ्नै १० बिघामा केरा खेती गरेका छन्। यो वर्ष परिकार बनाउन केरा अपुग भएपछि चार बिघा भाडामा लिएर खेती गर्दैछन्। उनले थप पाँच लाख बराबरको केरा किन्नु परेको बताए।

उनले खेती सुरु गर्दा शत प्रतिशत केरा भारतबाट आयात हुन्थ्यो। उनका अनुसार अहिले ४० प्रतिशत माग स्वदेशी केराले धानेको छ। र्दिया, रूपन्देही, केरा खेती देशका विभिन्न जिल्लामा फैलिएको छ। उनले कैलालीका साथै कञ्चनपुर, बचितवन, नवलपरासीलगायत जिल्लाका किसानलाई केरा खेतीबारे सिकाएका छन्। उनको रिसोर्टमा केराका परिकारबारे जान्न विभिन्न ठाउँबाट मान्छे आउने गर्छन्। उनी विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाबाट केराबारे प्रशिक्षण दिने गर्छन्।

'प्रशिक्षण लिन विद्यालय, क्याम्पसका विद्यार्थी मात्रै होइन, अन्य व्यक्तिसमेत आउने गर्छन्,' उनले भने, 'कति ठाउँमा त आफै गएर सिकाएको छु।'

सरकारले २०७१ मा 'राष्ट्रपति सर्वोत्कृष्ठ कृषक पुरस्कार'को घोषणा गर्‍यो। देशभरका सबै किसानलाई पछि पार्दै हमालले सोही वर्ष 'सर्वोत्कृष्ट कृषक'को पुरस्कार प्राप्त गरे।

उनी पुरस्कार थाप्न काठमाडौं गए। अन्य किसान पनि पुरस्कृत भएका थिए। अरु किसान दाउरा सुरुवालमा सजिएको कार्यक्रममा उनी सामान्य पोशाकमा देखिए। कसैले उनलाई पोशाकका बारेमा जिज्ञासा राखेपछि 'खेतमा काम गर्दा गर्दै पुरस्कार थाप्न आएको' जवाफ दिए। उनको जीवनशैली निकै सामान्य छ। उनको दैनिकी प्रायः बारीमै बित्छ।

उनका भाइहरू संलग्न दिनेश ग्रुप सुदूरपश्चिमको प्रमुख व्यापारिक घराना हो। गोपाल हमाल (गोपी), श्याम हमाल र देवेन्द्र हमाल धनगढीमा बसेर व्यापार गर्छन्। उनीहरू सुदूरपश्चिमका अग्रणी व्यापारीमध्ये पर्छन्। तर, उनी कर्णाली किनारको मनिकापुर गाउँमा केरा खेती गरेर बसेका छन्। उनले कृषिबाहेक अन्य कुरामा चासो दिएनन्। 'मेरो मन कृषि पेशामै अभ्यस्त भइसकेको थियो,' उनले भने, 'कृषिबाहेक अरु केही सोच्नै सकेन।'

उनलाई हटिकल्चर सोसाइटी (बागबानी समाज), नार्क, नेपाल जेसिज, खाद्य तथा गुणस्तर विभागलगायत दर्जन बढी संघसंस्थाले सम्मान गरेको छ। विभिन्न मेला महोत्सवमा केराका परिकारले दोस्रो हुनु परेको छैन। 'धेरै ठाउँमा प्रथम पुरस्कार पाइएको छ,' उनले भने, 'केराका परिकारमा धेरैको चासो बढ्दै गएको छ।'

उनले केरालाई दुइटा कुरामा जोड दिएका छन्। एउटा खाद्यवस्तुको विकल्प र दोस्रो कृषि पर्यटन। उनले खाद्यवस्तुको विकल्पले भोकमरीलाई अन्त्य गर्ने र कृषि पर्यटनले आम्दानीको स्रोत बढाउने बताए। उनले केरालाई खाद्यवस्तुका रूपमा प्रयोग गर्न सके भारतलगायत देशबाट आयात हुने खाद्यान्न रोकिनुका साथै अर्बौं रूपैयाँ जोगिने बताए। केरा मात्रै नभएर आलु, फापर, स्याउ लगायतलाई खाद्यान्नको विकल्पका रूपमा प्रयोग गर्न सकिने उनी सुझाउँछन्।

कृषि पर्यटनको विकास गर्न सके एक वर्षमा भारत र चीनका मात्रै २ करोड ८० लाख व्यक्तिलाई पर्यटकका रूपमा भिœयाउन सकिने हमाल बताउँछन्। 'भारत र चीनको एक प्रतिशत जनसंख्या मात्रै पर्यटकका रूपमा भिœयाउन सक्ने हो भने कृषि पर्यटनले मुलुकको आर्थिक अवस्थालाई निकै माथि पुर्‍याउँछ,' उनी भन्छन्, 'यसका लागि राज्यको ध्यान जानु जरुरी छ।'

कृषि प्रधान देश भनिए पनि राज्यले कृषि विकासमा ध्यान दिन नसकेको उनको बुझाइ छ। 'राज्यका निकाय नै कृषिप्रति जिम्मेवार देखिँदैनन्,' उनले भने, 'अनि कसरी लगानी बढ्छ। लगानी बढाउन कानुन पनि अस्पष्ट छ।' उनको सबैभन्दा धेरै दुखेसो वित्तीय संस्थाप्रति छ।

'पढ्न, घर बनाउनलगायतमा ऋण दिन्छन्। तर, कृषि पेशा गर्छु भन्दा पाइँदैन,' उनले भने, 'घरजग्गा धितो राख्दा पनि बैंकले ऋण दिन मान्दैनन्।'

विदेशबाट फर्किएका धेरै युवा कृषि पेशामा लागेका छन्। हमाल यसलाई सुखद सुरुवातका रूपमा लिन्छन्। कृषि विकासका लागि योजना ल्याउनुपर्ने यो राम्रो मौका भएको उनको भनाइ छ। कर्णाली नदीको पश्चिम किनारमा रानी जमरा कुलरीया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेको छ। यो चिसापानीदेखि मोहना नदीको संगमस्थलसम्म हुनेछ। आयोजनाले तटबन्धमाथि सडक निर्माण गर्ने योजना बनाएको छ। यो सडक निर्माण भयो भने चिसापानीदेखि मोहनासम्मको ओहोरदोहोर निकै सहज हुनेछ। हमाल सडक आसपासको क्षेत्रलाई कर्णाली करिडोर बनाउने अभियानमा छन्। उनी कर्णाली करिडोरमा वन्यजन्तु र वन सम्पदाको दृश्यावलोकनका साथै कर्णाली नदीमा डल्पि्कन र कर्णाली किनारमा बसेर आनन्द लिन सकिने बताउँछन्।

'यो निकै राम्रो गन्तव्य स्थल बन्नेछ,' उनले भने, 'भारतीय पर्यटकलाई भिœयाउन सक्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ।' उनले कर्णाली करिडोर मानसरोवर र खप्तडको बेस बन्ने बताए।

नयाँ पर्यटकीय स्थलको पहिचान नहुनु र भएका दोहन हुँदा मुलुकको पर्यटन व्यवसाय संकटमा पर्दै गएको उनी बताउँछन्। मुलुक सम्पन्न भए पनि नेपालीको सोच अभावग्रस्त भएको उनले बताए। 'भविष्यमा के गर्नेबारे अधिकांशले सोच नै बनाउँदैनन्। अनि कसरी सफलता पाइन्छ?' सफलता सुत्रबारे उनी सुझाउँछन्, 'लक्ष्य तय गरेर अघि बढेमात्र सफलता पाइन्छ।' आफू सत प्रतिशत सन्तुष्ठ रहेको उनले बताए।

कृषि पर्यटनका अभियन्ताका रूपमा चिनिँदै गएका हमालको एक लुकेको पाटो पनि छ। उनी भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी पनि हुन्। सन् १९८२ मा दिल्लीमा भएको एसियन गेममा ५२ केजी तौल समूहमा उनले सातौं स्थान हासिल गरेका थिए। तत्कालीन समयमा एसियन गेम ओलम्पिक पछिको ठूलो मानिन्थ्यो। त्यतिबेला एसियन गेममा करिव ५० देशको सहभागिता रहन्थ्यो।

'त्यत्तिबेला निकै गाह्रो हुन्थ्यो। अहिले जस्तो सजिलो थिएन,' उनले भने, 'त्यो बेला ठूलै उपलब्धि हासिल गरेको मानिन्थ्यो।'

उनी २०३९ र २०४१ मा आफ्नो ब्याचमा राष्ट्रिय च्याम्पियन बनेका थिए। कृषि पेशामा लागेपछि उनले खेल जीवन त्यागेको बताए।

प्रकाशित: ११ वैशाख २०७४ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App