पोखरा- सगरमाथा आरोहण उति सजिलो छैन, त्यसैले त सिजनका बेला सीमित आरोही मात्र सर्वाेच्च शिखर आरोहण गर्न सफल हुन्छन्। ज्यानै हत्केलामा राखेर गरिने सगरमाथा आरोहण सबैका लागि चुनौतीपूर्ण छ। सर्वाेच्च शिखरको सफल आरोहण यसै त हम्मेहम्मे छ। तर, त्यही चुचुरोबाट प्याराग्लाइडिङ उडान गर्न के सहज होला? कतिपयले यसलाई असम्भव पनि मान्दै आएका थिए।
०००
'प्याराग्लाइडिङ जस्तो साहसिक प्रडक्टलाई थप बजारीकरण गर्न सुनुवारको साहसले साथ दिएको छ। साहसिक पर्यटकीय गतिविधिमा सुनुवार साच्चै हिरो हुन्।'
सानोबाबु सुनुवार (३३) रामेछापका स्थायी बासिन्दा हुन्। घरमा छँदा सुनकोशीमा गोरा (विदेशी पर्यटक)ले र्याफ्िटङ गरेको उनले धेरैपटक देखे। २०५५ मा एसएलसी दिएपछि बुबाले दिएको पाँच सय रूपैयाँ बोकेर उनी काठमाडांै हानिए। काठमाडौंमा गलैंचा उद्योगमा काम गर्न नसकेपछि त्यहाँबाट भागेर उनी पोखरा पुगे। त्यतिन्जेलसम्म उनलाई पोखरामा धेरै पर्यटक आउँछन् भन्ने थाहा थियो। राजधानीमा रहँदा बचेको २० रूपैयाँ बोकेर उनी पोखरा आए। पोखरामा पहिलो रात लेकसाइडको एक पाटीमा बिताए। त्यहीक्रममा गोरखाका एक जनाले टे्रकिङ जाने काम उनलाई मिलाइदिए। ट्रेकिङ थालेको केही समयमै उनले छाडेर र्याफ्िटङ कम्पनीमा काम थाले।
र्याफ्िटङमा काम गर्दै जाँदा कायक चलाउन जान्ने भए। त्यतिबेला भएको कायक प्रतिस्पर्धामा उनी जुनियर च्याम्पियन भए। सुनुवारको साहस त्यतिबेला नै देखिन थालेको थियो। सन् २००३ मा भएको सेती रिभर कायकिङ प्रतियोगिताका उनै सुनुवार च्याम्पियन बने। त्यसपछि उनमा साहसको कदम अझै बढ्यो। अनि विभिन्न नदीमा कायकिङ गर्ने उनमा चाख बढ्यो। सोख मात्र होइन, उनको कीर्तिमान पानीमा झनै डरलाग्दो छ। अप्ठ्यारा गल्छी, खोँच, खोल्सा र भित्रिभित्र लुकेको नदीमा कायकिङ गरेर साहस देखाइसकेका छन्। जमिन भित्रबाट बगेको पोखराको सेती नदीको केआइसिंह पुलदेखि रामघाटसम्म कायकिङ गरेर सुनुवारले नै रेकर्ड राखेका छन्। सन् २००४ मा गुमनाम सेती हेर्दै दुई घण्टामा उनी रामघाट पुगेका थिए। त्यसपछि यो नदीमा कसैले कायाकिङ गरेको छैन।
०००
सन् २००५ मा स्वीजरल्याण्डका पाइटलसँग भेट भएपछि सानोबाबुको नाता प्याराग्लाइडिङसँग जोडियो। डेबिट भन्ने पाइलटले उनलाई सुरुमा प्याराग्लाडिङमा सराङकोटको आकाश उडाएका थिए। र, बिस्तारै उड्न पनि सिकाए। झण्डै तीन वर्षको उडान अनुभवले सन् २००८ मा सुनुवारलाई अमेरिकाले पाइलटको लाइसेन्स दिलायो। त्यो बेलासम्म उनी टेण्डम पाइलट (दुई जना उड्ने) बनिसकेका थिए।
सानोबाबु सानैदेखि साहसिक गतिविधिमा रुची राख्ने व्यक्ति हुन्। त्यसैले त उनलाई साहससँग जहिल्यै पौठेजोरी खेल्न मन लाग्छ। चाहे पदयात्रा होस, वा र्याफ्िटङ तथा प्याराग्लाइडिङ, सबैतिर साहसकै खोजी हुन्छ। सानैदेखि साहसिक गतिविधि रुचाउने उनले प्याराग्लाइडिङ–पाइलट बनेपछि पोखरादेखि विभिन्न गन्तव्यसम्म उड्न थाले। उनले पोखराबाट प्याराग्लाडिङमा उडेर सिक्लेस, लमजुङ, काठमाडौं र महाकाली–मेचीसम्मको यात्रा उडेरै पूरा गरे। संविधानसभा निर्वाचनमा मत खसाल्न काठमाडौंबाट रामेछापसम्म प्याराग्लाडिङमा पुगे। महाकाली–मेची यात्रा गर्दा ३६ दिनमा ८ सय ३२ किलोमिटर हवाई दूरी पार गर्न पनि उनले भ्याए।
०००
सन् २०११ मा सुनुवारले 'समिट टु सी' अभियान सुरु गरे। अभियानको उद्देश्य विश्वको सबैभन्दा अग्लो सगरमाथादेखि सबैभन्दा होचो समुन्द्री सतह (समिट टु सी)सम्म उडेर र नदीमा कायकिङ गरेर पुग्ने लक्ष्य राखेका थिए। सबैले असम्भवजस्तै भन्दै आएको सगरमाथाको चुचुरोबाट सन् २०११ मे २१ मा प्याराग्लाइडिङमा उडेर जुन २८ मा समुद्री सतह छुन उनी सफल भए। त्यसपछि बल्ल उनको साहसको चर्चा बढ्न थाल्यो। सबैले चुनौतीपूर्ण र असम्भव भन्दै आएको सर्वाेच्च शिखरबाट गरेको उडान सबैका लागि चाखपूर्ण थियो, उति नै मनछुने पनि। सुनुवारसँगै लाक्पा छिरी शेर्पा पनि साथमा थिए। सर्वाेच्च शिखर सगरमाथाबाट प्याराग्लाइडिङमा उडेर समुद्री सतहसम्म पुग्न सफल भएका उनै सुनुवार र शेर्पालाई नेसनल ज्योग्राफिक च्यानलले वर्षको साहसिक (एडभेन्चरर) व्यक्ति घोषणा गर्यो। सर्वाधिक मत पाएका सुनुवार र शेर्पालाई २०१२ को 'वर्षका साहसिक व्यक्ति' घोषित भए। उनीहरूले करिब ७२ हजार मत प्राप्त गर्दै विश्वभरका हजारौं प्रतिष्पर्धीलाई उछिनेर साहसिक व्यक्तित्वको अवार्ड जितेका थिए। नेसनल ज्योग्राफिक च्यानलले साहसिक यात्रामा सहभागी हुनेमध्ये सर्वाधिक मत ल्याउनेलाई वर्षकै साहसिक व्यक्तिको रूपमा यो अवार्ड दिने गर्छ।
'समिट टु सी' नाम दिइएको उक्त साहसिक यात्रा 'सर्वाेच्च शिखर सगरमाथादेखि समुद्री सतहको जिरो लेभल' सम्मको थियो। यात्राको क्रममा १२ दिनसम्म प्याराग्लाइडिङमा उडेर र २८ दिन पानीमा कायाकिङ गर्दै बंगालको खाडीसम्म पुगेर उनीहरूले दूरी पूरा गरेका थिए। संसारका हजारांै साहसिक यात्राका सहभागीलाई पछाडि पार्दै उनीहरूले अवार्ड हात पारेका थिए।
नेसनल ज्योग्राफिक च्यानलले २०१२ नोभेम्बरमा साहसिक यात्रा भन्दै उनीहरूको यात्रा विवरणलाई 'टप टेन'मा छनोट गरेको थियो। 'उत्कृष्ठ १० भित्र छनोट भएपछि यात्राको दृष्यलाई विश्वव्यापी रूपमा भोटिङ गर्नका लागि 'वर्ल्ड टुर'मा राखिएको थियो,' सुनुवारले सम्भि्कए, 'उत्कृष्ठ छनोटका लागि दुई महिनाभित्र करिब ७२ हजार मत पाएर उत्कृष्ठ भयौं।' इन्टरनेटमार्फत भोटिङ गर्न मिल्ने उक्त स्पर्धामा नेपाली भन्दा विदेशीले बढी सघाएको सुनुवार बताउँछन्।
'नेपालको साहसिक गन्तव्यलाई चिनाउने एउटा गतिलो अवसर पाएको अनुभव भएको छ,' अवार्डबारे बताउँदै सुनुवार भन्छन्, 'सर्वाेच्च शिखरबाट गरेको उडानमा पाएको सफलताले मलाई अझै साहसिक काममा अघि बढ्ने उत्साह थपेको छ।' साहसिक रूपमा संसारको सबैभन्दा अग्लो ठाउँबाट उडेर सबैभन्दा होचो ठाउँसम्म पुग्न सकेको भन्दै उनीहरूलाई त्यो बेला नै फ्रान्सको एक संस्थाले 'पब्लिक र जज' अवार्डसमेत दिएको थियो। त्यसैगरी क्यानडाको साहसिक पर्यटन सम्बन्धित संस्थाले 'रियल एडभेन्चर'को उपाधिसमेत दिएको थियो।
०००
सुनुवारको यात्रा सगरमाथामा मात्र रोकिएन। सगरमाथाबाट सफल आरोहण र नेसनल ज्योग्राफिकको अवार्डले उनलाई झनै हौस्यायो। त्यसपछि उनले अरु अग्ला चुचुराबाट पनि प्याराग्लाइडिङ गर्ने चाहना राखे। त्यसपछि उनी विश्वकै साहसिक खेलमा प्रतिष्पर्धा गर्न छानिए। विश्वमै साहसिक मानिएको रेडबुल एक्स आल्पसको छनोट चरणमा प्रतिष्पर्धा गर्न उनी छानिए। प्याराग्लाइडिङमा उडेर, दौडेर र हिँडेर गरिने स्पर्धाको २०१३ को संस्करणका लागि उनले विश्वभरका हजारौं साहसिक पाइलटबिच छनोट चरणका लागि प्रतिष्पर्धा गर्न पाए।
युरोपका विभिन्न देशका सबैभन्दा अग्ला डाँडा, झाँडी, नदीनाला पार गर्दै गरिने यो प्रतिष्पर्धा निकै जोखिम र चुनौतीपूर्ण थियो।
त्यसलगत्तै अफ्रिकी महादेशको सबैभन्दा अग्लो हिमाल किलिमान्जारोबाट प्याराग्लाइडिङमा उड्ने उनको सपना पनि पूरा भयो। अफ्रिकाको तान्जानियामा अवस्थित किलिमाञ्जरो समुद्री सतहदेखि ५ हजार ८ सय ९५ मिटर अग्लो छ। उक्त चुचुरोबाट प्याराग्लाइडिङमार्फत समुद्री सतहसम्म उडान गर्न विश्वव्यापी रूपमा सुनुवार छनोट भएका थिए। प्याराग्लाडिङ प्रतिष्पर्धाका लागि विश्वभरका हजारौं साहसिक पाइलटले आवेदन दिएकोमध्ये छनोट भएपछि उनले उडान गर्न पाए। त्यसमा पनि उनलाई सफलता मिल्यो।
सुनुवारले युरोपेली महादेशको सबैभन्दा अग्लो हिमालबाट पनि प्याराग्लाइडिङको सफल उडान गरेका छन्। युरोपेली महादेशको अग्लो चुचुरोबाट टेण्डम (दुईजना उड्ने) उडान गरेर नयाँ रेकर्ड बनाउने उनी पहिलो पाइलट हुन्। पोहोर जुलाईमा उनले युरोपेली मुलुक रसियाको माउन्ट एलब्रसको चुचुरोबाट सफल उडान गरे। माउन्ट एलब्रस समुद्री सतहदेखि ५६ सय ४२ मिटर अग्लो छ। माउन्ट एल्ब्रसबाट टेण्डम उडान गर्ने उनी विश्वकै पहिलो पाइलट बनेका छन्।
सात वटै महादेशका अग्ला हिमालबाट प्याराग्लाइडिङ गर्ने लक्ष्य राखेका सुनुवारले माउन्ट एलब्रसलाई निकै नै कठिन मानेका छन्। 'निकै कठिन हिमालबाट उडान गर्न सकियो। अधिक चिसोका कारण उडानमा जोखिम थियो। धेरै दिनको पर्खाइपछि बल्ल सफल भएको थिए,' उनले भने, 'सबैभन्दा अप्ठ्यारो चरण पार गरेकाजस्तो लाग्छ अहिलेसम्मका चुचुराबाट गरेको उडान सम्भि्कँदा।' सात वटै महादेशका अग्ला हिमालबाट प्याराग्लाइडिङ गर्ने लक्ष्य राखेका सुनुवारले अब चौथोका लागि पहल थाल्ने बताएका छन्।
०००
जहाँपायो त्यहाँ उड्न जोखिम छ, एकपटक सोचेर मात्र कदम चाल हैं, भन्दै धेरैले सुनुवारलाई सम्झाउँदा उनी बेलाबेला झस्किन्छन् पनि। 'तर, मेरो चाहना र साहसले गर्दा सफल भएको छु,' उनी भन्छन्, 'मेरो जिन्दगीको ऐतिहासिक उडान धेरै भएका छन्। सबैतिर असहज भनिएको उडानमा म सफल भएको छु। सायद भगवानले पनि मलाई साथ दिएका छन्।' साहसिक गतिविधिमा संलग्न हुँदा उनलाई कहिल्यै डर नलाग्ने पनि होइन। तर, साहसले उनको डरलाई भगाउँछ।
'सगरमाथाबाट उडान गर्छु भन्दा मलाई धेरैले नजान सुझाएका थिए,' उनले भने, 'घरपरिवारले पनि मलाई सचेत गराउँछन्। तर, साहस भएकैले त साहसिक गतिविधि गर्ने हुन् भन्ने मलाई लाग्छ, अनि आँट पलाउँछ।' सगरमाथा आरोहण आफैमा मुस्किल रहेको बेला विश्वकै अग्लो ठाउँबाट उड्दैछु भन्ने मनभित्र सोच्दा भित्रभित्र खुसी पलाएको उनले बताए। 'एक दिनमा सफल हुने यात्रा थिएन। लामो प्रयासले चुचुरोमा पुग्नु र सुरक्षित उडान मात्र मेरो मनमा खेलिरहेको थियो,' उनले त्यो बेला सम्झँदै भने, 'त्यसमा सफलता मिलेपछि अहिले अन्यत्र उतिसारो डर लाग्दैन।'
०००
सुनुवार साहिसिक व्यक्ति त हुन् नै उनैले नेपालमा पहिलो पटक प्याराग्लाइडिङ स्कुल खोलेर दक्ष पाइलट उत्पादन गर्ने सरकारी जिम्मा पनि पाएका छन्। दक्ष पाइलट उत्पादन गर्न सरकारले पोहोर बाबु एडभान्चर्सलाई स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल खोल्न स्वीकृति दिएको थियो। पहिलोपटक स्कुल खोल्ने अनुमति पाएका मुख्य प्रशिक्षक सुनुवारले अहिले व्यावसायिक भन्दा विद्यार्थीलाई सिकाउन थालेका छन्। सुनुवारका अनुसार पाइलट उत्पादन गर्ने यो अरु जस्तो शैक्षिक संस्था भने होइन। आधिकारिक रूपमा प्रशिक्षण दिने गरी स्कुलको अनुमति पाएको हो। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को प्रत्यक्ष अनुगमनमा उनले प्रशिक्षण दिन्छन्।
स्याङजाको स्वरेक–१ मा प्रशिक्षण स्थल राखेर पाइलटलाई तालिम दिन थालिएको थियो। बाबु एडभेन्चर स्कुलमा आधारभूत देखि एडभान्ससम्मको पढाइ हुन्छ। सरकारले तोकेको मापदण्डभित्र रहेर शारीरिक रूपमा सक्षम व्यक्ति प्याराग्लाइडिङ पाइलट बन्न पाउने गरी प्रशिक्षण दिन्छन्। उनले ५ वर्षअघि स्वरेकमा प्याराग्लाइडिङ उडान सुरु गरेका थिए। त्यो बेला व्यावसायिक उडान थियो। अहिले व्यावसायिक छाडेर स्कुल चलाएका छन्। प्याराग्लाइडिङ भित्रिएपछि स्वरेक मैदानले बल्ल पर्यटकीय गन्तव्यको पहिचान पाउन थालेको छ। झाडी जग्गा किनेर व्यवस्थित र सुविधासम्पन्न स्कुल बनेपछि अहिले स्वरेकको मुहार फेरिएको छ।
०००
प्याराग्लाइडिङबाट सर्वाधिक बढी साहसिक गतिविधि प्रस्तुत गरेका सुनुवारको पोखराका व्यावसायीले खुलेरै प्रशंसा गर्छन्। पर्यटन व्यावसायी विजय गुरुङ अन्तर्राष्ट्रियस्तरमा पोखराको प्रचार गर्न सुनुवारका साहसिक गतिविधि पर्याप्त रहेको बताउँछन्। 'पोखराको प्याराग्लाइडिङले अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन पाएको छ। सुनुवारको साहसिक उडानले नेपालको नाम विश्वमा चिनिएको छ,' उनले भने, 'नेपालमा पनि प्याराग्लाइडिङ उडान हुने रहेछ भन्ने एकखालको सन्देश गएको छ।'
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष सोमबहादुर थापा पनि सुनुवारको साहसले नेपालको पर्यटन क्षेत्रमा विशेष महŒव राख्ने बताउँछन्। 'नेपाली साहसिक हुन्छन् भन्ने एउटा सन्देश गएको छ। अर्काेतर्फ पर्यटनमा यस्ता गतिविधि प्रवर्द्धन भएको छ। प्याराग्लाइडिङ जस्तो साहसिक प्रडक्टलाई थप बजारीकरण गर्न सुनुवारको साहसले साथ दिएको छ,' थापाले भने, 'साहसिक पर्यटकीय गतिविधिमा सुनुवार साच्चै हिरो हुन्।'
प्रकाशित: ११ वैशाख २०७४ ०५:४३ सोमबार