coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अथक अनुसन्धाता

झापा- उनलेे सधैँ अफ्ठ्यारा काम रोजे, अफ्ठ्यारै बाटो हिँडे पनि । उनले पढेको र अनुसन्धान गरेको विषय पनि अरु धेरैका लागि अफ्ठ्यारोको पहाडसरह नै थियो। तर, ती असजिला काम जे–जे गरे, हेर्नेहरूका लागि सजिलो लाग्ने गरी गरे अनि धेरैका लागि उपयोगी सावित हुने गरी गरे।

वैज्ञानिक अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान गरेकै कारण प्रा.डा. कालुराम (केआर) खम्बु स्वदेशी तथा विदेशी अनुसन्धाताहरुका लागि खोजीको विषय बन्दै आएका छन्। उनका अनुसन्धानका ठेलीहरुले नेपाली मात्रै होइन, विदेशी अध्येताहरुलाई पनि लगातार लोभ्याइरहेको छ। यस्तो लोभलाग्दो प्राज्ञिक उचाई बनाउन खम्बुले कठोर  मिहिनेत र अथक साधनाको धेरै वटा सगरमाथा उक्लेका छन्। कयौं हण्डर भोगेका छन्।

अध्येताहरू उभयचर तथा सरिसृप (हर्पेटो फौना)को अनुसन्धानले सार्वजनिक गरेका तथ्य नेपाली अनुसन्धान क्षेत्रको 'ज्यादै ठूलो उपलब्धि' ठान्छन्। प्रा.डा. कालुराम (केआर) खम्बुले गरेको अनुसन्धान नेपालका लागि मात्र होइन, विश्वभरीकै प्राणीशास्त्र अध्येताका लागि गतिलो सामग्री बनेको छ।

सधैँ अफ्ठ्यारोमै रमाउने, जोखिम मोलेर अरुका लागि सजिलो र सुरक्षा खोज्नेको सूची बनाउने हो भने त्यसको  'इन्डेक्स' ज्यादै होचो हुनसक्छ। सामाजिक सञ्जालमा बढी समय बिताउने तर जीवनलाई भने पूरै व्यक्तिवादी तुल्याउने 'ट्रेन्ड सेट' भएको बेला त यस्ता मान्छे खोज्न पनि भेट्न मुस्किल छ। तर, डा. खम्बु त्यस्ता विरलाकोटी मान्छेमा पर्छन्, जसले अरुको सजिलो र सुरक्षाका लागि आफूलाई बारम्बार असजिलो बाटोको यात्री बनाए।  

'खै किन हो, सधैँ अफ्ठ्यारै–अफ्ठ्यारो आइलागे जीवनमा,' झापा भद्रपुरको मेची बहुमुखी क्याम्पसनजिकै रहेको घरमा प्रा.डा. कालुराम (केआर) खम्बु भन्दै थिए, 'जे जति अफ्ठ्यारो आए, सबैलाई सजिलै गरी लिएँ। अनि छिचोल्ने प्रयास गरेँ। अहिलेसम्म हार मान्नुपर्ने गरी अफ्ठ्यारोले सताएन।' उनको सन्तुष्ट आवाजको आधार हो, उनले गरेको चुनौतीपूर्ण वैज्ञानिक अनुसन्धान, जसले प्राणीशास्त्रका अध्येताका लागि सम्भावनाका धेरै नयाँ ढोका त खोल्यो नै, समाजको वातावरणीय सुरक्षाका लागि पनि उल्लेख्य योगदान गर्‍यो।

अध्येताहरू उनले उभयचर तथा सरिसृप (हर्पेटो फौना)बारे गरेको अनुसन्धान नेपाली अनुसन्धान क्षेत्रमा 'ज्यादै ठूलो उपलब्धि' ठान्छन्। उनको अनुसन्धान नेपालमा मात्रै होइन, विश्वभरकै प्राणीशास्त्र अध्येताका लागि गतिलो सामग्री बनेको छ। 'बाघभालुका विषयमा अध्ययन अनुसन्धान गर्ने मानिस संसारमा प्रशस्त छन्, नेपालमै पनि धेरै भेटिन्छन्,' धरानस्थित हात्तीसार क्याम्पसका प्राणीशास्त्रका सहायक प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, 'तर, सर्प र भ्यागुताबारे अनुसन्धान गर्ने औंलामा गन्न सकिनेभन्दा पनि थोरै छन्। सर्प र भ्यागुताकै अध्ययन गरेर विद्यावारिधी गर्ने उहाँ सम्भवतः नेपालकै पहिलो हो।'

अरुले आँटै नगरेको, विश्वविद्यालयका उनैका गुरुलेे पनि नपत्याएको विषयमा अनुसन्धान गरेर उनले डिग्री मात्रै लिएनन्, सिंगै विश्वलाई सर्प र भ्यागुताको अलग संसारमा भएका विल्कुलै नौला, चाखलाग्दा र महŒवपूर्ण तथ्य पनि पत्ता लगाइदिए। उनले कञ्चनजंघा–सिंहलीला क्षेत्रमा २६ प्रजातिका उभयचर पत्ता लगाएका छन्। केही भ्यागुता त धरतीकै नौला रहेको प्रमाणित नै गरे। उनले पत्ता लगाएका भ्यागुताको नाम पनि उनकै नामबाट राखिएको छ, 'कालुराम्स फ्रग'। 'उनले पत्ता लगाएका ती भ्यागुता संसारभरी उनैको नामबाट चिनिन्छ,' सहायक प्राध्यापक अधिकारीले भने।

त्यसो त उनका अनुसन्धान उपलब्धिको फेहरिस्त यत्तिमै टुंगिदैन। प्राणीशास्त्रमा पनि 'हेटेड एनिमल' (डिस्गस्ड)को अध्ययनको बाटो रोजेका उनले त्यसक्रममा जे जति तथ्य फेला पारे, त्यसैबाट वातावरणीय जोखिमको सम्भावना औंल्याएर सुरक्षाको दरिलो पाइला चाल्न सरकारलाई पनि बाध्य पारे। त्यसैको परिणाम हो, झापाका विभिन्न सिमसार तथा इलामको माइपोखरी रामसार क्षेत्रमा सूचीकृत हुन्। ती सबैलाई रामसार र सीमसार किन बनाउनुपर्छ भन्ने वैज्ञानिक अनुसन्धान उनैले गरेका हुन्। त्यो पनि व्यक्तिगत लगानी र चासोमै। 'वातावरणमा भएका धेरै विषालु पदार्थलाई न्यूट्रलाइज्ड गर्ने क्षमता सीमासारमा हुन्छ,' खम्बुको अनुसन्धानको सारले भन्छ, 'त्यसैले सकेसम्म तिनको संरक्षण गरिनुपर्छ। ताकी पर्यावरणीय सुरक्षामा तिनको उपयोग हुन सकोस्।' सहर नजिकैका सीमासार सुरक्षित हुँदा सहरको पर्यावरणीय सुरक्षामा धेरै टेवा पुग्ने उनको निष्कर्ष छ।

०००

खोटाङ डम्बरखु शिवालय गाउँको धुले स्कुलमा अक्षर चिन्न धाउँदै गर्दा खम्बुसँग सपनाका ठूला पोका केही थिएनन्। अभिभावकको करले स्कुल जानुपर्दा मन गह्रौं पारेर स्कुलतिरको बाटो नाप्थे उनी। तर, वर्षमा मुस्किलले तीन महिना मात्रै खुल्ने र अरु ९ महिना बन्द नै हुने स्कुल उनका लागि विस्तारै प्रिय लाग्दै गयो। स्कुल बन्द रहँदा भीरपाखामा घाँस दाउरा गर्ने र जंगलमा गोठालो गर्दै दिन बित्थ्यो। छोराको तिक्ष्णपनले बाबुआमालाई सधैँ झक्झक्याइरहन्थ्यो, उनकै पढाईका लागि परिवार खोटाङबाट झापा झर्‍यो। उनको शिक्षादिक्षा झापाकै कोहवराबाट सुरु भयो।

उनका सहपाठीका अनुसार स्कुल होस् वा कलेज, खम्बुले सधैँ मेधावी विद्यार्थीको पहिचान बनाए। सँगै जोसिलो आन्दोलनकारी उनको व्यक्तित्वसँग जोडिएको अर्को पाटो थियो। कापी–कलम बोकेर पठनपाठनमा मात्रै घोटिने सुविस्ता उनको पुस्तालाई थिएन। किनभने उनले स्कुल–कलेज चहार्दै गर्दा मुलुक पञ्चायतको पञ्जामा थियो। खम्बुका अनुसार सिंगो व्यवस्था नै नागरिकका लागि यातनासरह थियो। त्यसैले पढाईसँगै आन्दोलन पनि उनको उच्च प्राथमिकतामा पर्थ्यो।

२०२९ मा गौरीगञ्ज हाइस्कुलबाट एसएलसी गरेर महेन्द्र मोरङ क्याम्पस विराटनगर जाँदै गर्दा उनले कयौं भूमिगत काम गरेका थिए। तत्कालीन व्यवस्थाको विरोधमा पर्चाबाजी गर्ने, कम्युनिष्ट पार्टीको संगठन विस्तारमा सघाउनेलगायतका गतिविधि उनको दैनिकीमै पर्थे।  बीएस्सी सकेर उनले केही समय स्कुलमा पढाउन थाले। तर, आन्दोलनमा सहभागी भएको, अझ बामपन्थी (२०२८ को झापा विद्रोहको समर्थक) रहेका उनलाई सजिलै गरिखाने अवस्था कतै पनि थिएन। त्यसैले उनी पढाईलाई निरन्तरता दिन लागे राजधानीतिर। कीर्तिपुरमा स्नात्तकोत्तर तह सक्नेबित्तिकै उनको प्राध्यापन यात्रा सुरु भयो। धरान हात्तीसार क्याम्पसमा नियुक्ति लिएर आएका उनलाई पञ्चायत प्रशासनले त्यहाँ पनि लामो समय टिक्न दिएन। 

ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज सरुवा भएर गए। २०४२ देखि २०४९ सम्म वीरगन्जमा प्राध्यापन गरेपछि उनी मेची क्याम्पस झापा आए। उनकै पालामा भद्रपुरमा बीएस्सी सुरु भयो। कक्षाकोठाको सीमितताभित्र मात्रै अटाउने स्वभाव उनको थिएन। 'त्यहीबेला मलाई पिएचडी गर्नुपर्छ भन्ने लाग्यो,' उनले सुनाए।

त्यस्तो सोचिरहेकै बेला जर्मनीस्थित युर्निभर्सिटी अफ म्युनिखका प्राध्यापक डा. हर्मन स्लाइसले त्रिभुवन विश्वविद्यालयलाई खबर गरे, 'यदि कोही विद्यार्थी उभयचरमा अनुसन्धान गर्न इच्छुक भए आवेदन आह्वान गर्नुहोला।' तत्कालीन डिनले यही सूचना सार्वजनिक गरे। खम्बुले पनि इच्छा जाहेर गरेर प्रस्ताव पत्र पेश गरे। 'पछि थाहा भयो त्यसमा आवेदन गर्ने म एक्लै परेछु,' उनले भने, 'त्यही भएर धेरै प्रोफेसरले यो गाह्रो काममा हात नहाल्न भनेर मलाई सम्झाउनु भएको थियो। तर, म दृढ संकल्पित थिएँ। स्लाइसको सुपरभिजनमा अनुसन्धान थालेँ।' यो नै उनको जीवनको यस्तो 'टर्निङ प्वाइन्ट' सावित भयो, जहाँबाट उनलाई विद्यावारिधी उपाधि मात्रै प्राप्त भएन, प्राणीशास्त्रका लागि धेरै उपयोगी नयाँ तथ्य पनि फेला परे।

०००

लगातार अनुसन्धानमा जुटिरहने उत्साह र लगनले खम्बुलाई ठूलो उपलब्धिसम्म पुर्‍यायो। विद्यावारिधी उपाधि, अनुसन्धानमा सफलता र प्राध्यापकको जिम्मेवारी पाए। तर, यी उपलब्धिसँगै जलविन्दुका कारण उनले दुवै आँखाको दृष्टि भने सधैँका लागि गुमाए। २०६५ मा आँखाको ज्योति गुमाएका उनले अनुसन्धानकै कारण स्वास्थ्यमा ध्यान नदिएको सहकर्मी बताउँछन्। 'पीएचडी सक्दासक्दै उभयचरबारे धेरै नयाँ तथ्य पत्ता लगाएर पनि उनी मौन बसेनन्,' मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख उमानाथ ओली भन्छन्, 'त्यसपछि पनि सीमसारको संरक्षण, कछुवा, गोहोरो जस्ता जन्तु संरक्षणमा लगातार घोटिनुभो। दिनरात काममै जोतिने क्रममा आफ्नै स्वास्थ्यको ख्याल गर्नुभएनछ। त्यसैले यस्तो भयो।'

आँखाको ज्योति गुमेर पनि उनी थाकेका भने छैनन्। त्यसपछि अनुसन्धान यात्राबारे पुस्तक प्रकाशन गरे। प्राणीशास्त्रबारे केही पुस्तकको सहलेखन पनि गरे। अहिले पनि कम्प्युटरको सहायताबाट 'सलाइड' बनाएर विद्यार्थी पढाउन भने तल्लीन छन्। 'अहिले 'मेरो अनुसन्धान यात्रा' पुस्तकलाई अंग्रेजीमा अनुवाद गर्दैछु', उनले सुनाए, 'जर्मनीबाट र अन्यत्रबाट पुस्तक अनुवाद गर्न आग्रह आएपछि थालेको हुँ। अबको ६–७ महिनामा काम पूरा होला।'

पञ्चायतको 'बक्रदृष्टि'बाट जागिरमा पनि सरुवाको श्रृंखला व्यहोर्दै अघि बढेका उनले अनुसन्धानका क्रममा मेचीका मैदानी भागदेखि पहाडका कान्ला छिचोले। कहिले जंगलमा बसे, कहिले सर्पको प्वालमा हात हाले। 'मैले छेपारा समाएको देख्दा मान्छे जादुगर हो कि पागल हो भन्ने पनि सोच्थे,' उनी सम्भि्कन्छन्, 'त्यसबेला अफ्ठ्यारोले कहिलेकाँही निराश पनि बनाउँथ्यो।' तर, उनले हरेक अफ्ठ्यारोलाई सजिलै लिए। र, वैज्ञानिक अनुसन्धानको क्षेत्रमा ठोस योगदान गरे। दुवै आँखाको ज्योति गुमाउँदा पनि सजिलै झेलेर प्राध्यापन र लेखनमा उनी डटिरहेकै छन्।

प्रकाशित: ११ वैशाख २०७४ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App