८ वैशाख २०८१ शनिबार
अर्थ

'उज्यालो नेपाल'का निर्माता

काठमाडौं- रुकुम उज्यालो अभियानमा लागेका ऊर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर)ले ऊर्जा मन्त्रालयको कार्यभार सम्हालेपछि मुलुकै ऊज्यालो बनाउन पुगे। 'पहिला जन्मस्थान रुकुमलाई उज्यालो बनाउने अभियानमा लागेको थिएँ। ऊर्जामन्त्री भएपछि त्यसै अभियानलाई 'उज्यालो नेपाल'मा बदलेको हुँ,' मन्त्रालयमा निकै व्यस्त देखिएका उनले भने, 'मुलुकलाई अन्धकारबाट उज्यालो बनाए अब आत्मनिर्भर बनाउन बाँकी छ।'

'पहिला जन्मस्थान रुकुमलाई उज्यालो बनाउने अभियानमा लागेको थिएँ। ऊर्जामन्त्री भएपछि त्यसै अभियानलाई 'उज्यालो नेपाल'मा बदलेको हुँ,' ऊर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर)

मुलुकलाई लोडसेडिङमुक्त गरेका ऊर्जामन्त्री शर्माले अहिले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने गरी भावी योजनाको खाका कोर्दै छन्। भेटका क्रममा उनले भावी योजना पनि सुनाए।

७ वर्षमा १७ हजार मेगावाट

लोडसेडिङ हटाएर चर्चा कमाएका ऊर्जामन्त्री शर्माले सात वर्षमा १७ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने योजना सुनाए। हिउँदमा १२ देखि १६ घन्टा लोडसेडिङ झेलेका नागरिकलाई लोडसेडिङमुक्त बनाएर वाहवाही कमाएका उनले देशलाई १५ वर्षभित्र आत्मनिर्भर बनाउन सकिने बताए। 'यसका लागि बोलेर होइन, काम गरेर देखाउनुपर्छ,' उनले भने, 'नेपाल समृद्ध बनाउन अन्य देशजस्तो धेरै समय लाग्दैन।'

१० वर्षमा १० हजार होइन, २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने उनको दाबी छ। 'अन्तर्राष्ट्रिय लगानी, सरकारी पूँजी, बैंक तथा वित्तीय संस्था र विदेश तथा स्वदेशमा रहेका नेपाली नागरिकबाट उठाएको रकमले जलविद्युत आयोजना निर्माण गर्न सकिन्छ,' ऊर्जामन्त्री शर्माले भने, 'बिजुलीको सहज आपूर्तिले समग्र अर्थतन्त्रलाई समृद्धितर्फ लैजान्छ।'

उनले सात वर्षमा आठ हजार मेगावाटका ठूला जलाशययुक्त र ९ हजार मेगावाटका अन्य ठूला र साना नदी प्रवाहमा आधारित आयोजना सम्पन्न गर्न सकिने योजना सुनाए। 'सन् २०२२ सम्म प्रतिव्यक्ति विद्युत खपत हालको १ सय ६० बाट बढाएर दुई हजार युनिट पुर्‍याउने योजनामा छौं,' भावी योजना सुनाउँदै उनले भने, 'हामीले गर्नुपर्ने धेरै काम प्रकृतिले नै गरिदिएको छ।' एकले व्यक्तिले गर्न नसकेको काम सामूहिक रूपमा सहजै गर्न सकिने उनको अनुभव छ।

'सामूहिक प्रयास'ले लोडसेडिङ हट्यो

लोडसेडिङ अन्त्य सबैको सामूहिक प्रयत्नले सम्भव भएको उनको भनाइ थियो। 'सबैको इफोक्टले लोडसेडिङ अन्त्य गर्न सम्भव भएको हो,' उनले भने, 'एक्लैले यो सम्भव थिएन।'

ऊर्जा मन्त्रालयका कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्पूर्ण टिमको प्रयत्नले मात्र लोडसेडिङ हटाउन सफल भएको उनले बताए। 'मैले त बाटो देखाउने काम मात्र गरेको हुँ,' उनले भने। बिजुली कता कति दिने भन्नेबारे ज्ञान नभएको र त्यसको प्रबन्ध मिलाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको महŒवपूर्ण भूमिका रहेको उनको भनाइ थियो। 

'लोडसेडिङ अन्त्य गर्न सामूहिक म्याराथुन दौड गरेका हौं, म्याराथुन एउटा कर्मचारीले हारेको भए टिमले नै हार्ने थियो,' ऊर्जामन्त्री शर्माले भने, 'दौडमा कमजोर भएकालाई ग्लुकोज खुवाएर भएर पनि लोडसेडिङ हटाउने लक्ष्य प्राप्त गरेरै छाड्यौं। असम्भव भनिएको लोडसेडिङ हटाउन सम्भव भयो।' जलविद्युत् आयोजना निर्माण गर्न सानो रकमले नपुग्ने भएकाले पनि विदेशी लगानीकर्ता तथा स्वदेशी नागरिकलाई समेट्ने गरी योजना ल्याएको पनि उनले सुनाए।

श्रमलाई शेयरमा परिणत

जनताको स्वामित्व जलविद्युतमा बढाउन श्रमलाई शेयरमा परिणत गर्ने योजना रहेको पनि ऊर्जामन्त्री शर्माले सुनाए। 'श्रमिकले आयोजनामा लगानी गर्न सक्दैनन्, उनीहरूले गरेको श्रमलाई रकममा परिणत गरि शेयर दिनुपर्छ,' उनले भने, 'यसो गर्न सकिए श्रमिकलाई न्याय हुनेछ।'

लोडसेडिङ हटाएर मात्रै होइन, नयाँ योजना सार्वजनिक गरेर पनि उनी चर्चामा छन्।

ऊर्जामन्त्रीको चर्चा

१० वर्षे सशस्त्र द्वन्द्वमा माओवादी लडाकुको 'डेपुटी कमान्डर'समेत सम्हालेका शर्मा त्यतिबेला पनि चर्चामा थिए। ऊर्जामन्त्रीको कार्यभार सम्हालेपछि पनि त्यतिकै चर्चाको केन्›मा छन्। मुलुकलाई उज्यालो बनाउने श्रेय शर्मालाई दिने गरिएको छ। उनकै नेतृत्वमा लोडसेडिङमुक्त गर्न सकिएको यर्थाथता पनि जगजाहेर नै छ।

नेपालीको मुहारमा खुसी भर्न सफल उनको मुहार भने खुसी देखिँदैन्। 'कमिसनखोरले जहिले पनि कमिसनकै कुरा गर्छन्,' उनले दुखेसो गर्दै भने, 'काम गर्नेलाई कमिसन आयो होला भन्ने र काममा बाधा गर्छन्। उनीहरू न आफू गर्छन् न अरुलाई गर्न दिन्छन्,' प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले भने।

'शोषण र उत्पीडनको विरोध'

ऊर्जामन्त्री शर्माले विगतमा नागरिकले भोगेका कुरा स्मरण गर्न चाहान्छन्। 'बुबा र आमा पनि शोषण र उत्पीडनको खुलेरै विरोध गर्नुहुन्थ्यो,' उनले सम्भि्कए, 'म पनि यस कुराबाट विमुख रहन सकिन।'

२०२० मा रुकुमको सेरेगाउँमा जन्मिएका ऊर्जामन्त्री शर्माले २०३४ मा पार्टीको सदस्यता लिएका थिए। १४ वर्षे ठिटोबाट सुरु भएको त्यो वि›ोह शर्माको जीवनमा कायमै छ। 'शोषण र उत्पीडन भएको देख्नै चाहान्न,' उनले भने, 'अहिले पनि त्यस्तो भएको सहन सक्दैन्।' अलि कडा स्वभावका उनी हुने कामलाई हुँदैन कहिल्यै भन्दैनन्। नहुने काम छ भने 'मबाट हुँदैन अर्को मन्त्रीको काम हो त्यहाँ जानुस' भन्ने गर्छन्।

व्यस्त मन्त्री

वैशाख ७ गते सिंहदरबारस्थित मन्त्रालयमा भेट्द जाँदा उनी अत्यन्त व्यस्त थिए। निजी कार्यालयबाहिर उनलाई भेट्न कार्यकर्तादेखि जलविद्युत् आयोजना निर्माण गर्ने प्रवर्द्धकसमेत कुरिरहेका थिए। उनी मात्र होइन, उनको सचिवालयलाई पनि एउटा कोठाबाट अर्को कोठामा पुग्न भ्याइनभ्याई थियो। सचिवालयका कर्मचारी एकैछिन नआउँदा पनि 'खै कहाँ गए' भन्दै थिए।

यो व्यस्तताबीच मन्त्रालयमा तीनतिरबाट टेबलले घेरिएर बसेका ऊर्जा मन्त्री शर्मालाई भेट्न तोकिएको समयबाट पनि झन्डै आधा घन्टाभन्दा बढी कुर्नुपरेको थियो। 'यो व्यस्तता नै यस्तै,' भेटिसकेपछि उनले भित्री कोठामा लगेर कुराकानी थालनी गरे, 'कतिबेलै सकिने होइन, लौ हामी कुराकानी गरौँ। बाहिर डेलिगेसनको टिम आएको छ।'

चैत १ गतेदेखि मुलुकबाटै 'लोडसेडिङ हटाएको' जस पाएका उनलाई पहिलोपटक भेट्ने अधिकांशले सुरुमा धन्यवाद र बधाईसँगै दिन्छन्।

काम गर्ने फरक शैली

माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डर रहेका ऊर्जामन्त्री शर्माको काम गर्ने तरिका पनि सैनिकको जस्तै छ। उनी प्रष्टस“गै सक्ने कामलाई 'गर्छु' र नसक्नेलाई 'सक्दिन' भन्छन्। अर्थात उनी सबैलाई 'हुन्छ, हुन्छ' भन्दै अल्झाउ“दैनन्। कार्यालय समयमा मन्त्रालयमै भेटिन्छन्। उनी प्रायः बिहान १० बजेभन्दा अगाडि नै कार्यालय पुग्छन् र सा“झ अबेरसम्म मन्त्रालयमै हुन्छन्। दिनभर बसी मन्त्रालयका काममा र भेटघाटमा व्यस्त हुन्छन्। शनिबार र सार्वजनिक बिदाका दिन मन्त्री निर्माणाधीन आयोजनाको स्थलगत अवलोकनमा जाने गरेका छन्।

'अनुकूल' टिम

मन्त्री नियुक्ति भएलगत्तै ऊर्जामन्त्री शर्माले आफू अनुकुलको टिम निर्माण गरेका थिए। विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई  राजीनामा दिन लगाएर भदौ ३० मा कुलमान घिसिङलाई त्यस स्थानमा नियुक्त गरेका थिए। त्यसपछि लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण, अलपत्र निर्माणाधिन आयोजनाका काम अगाडि बढाएका थिए।

प्रकाशित: ११ वैशाख २०७४ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App