७ वैशाख २०८१ शुक्रबार
अर्थ

मोबाइल बिक्रीपछिको सेवा आवश्यक

काठमाडौं- दूरसञ्चार क्षेत्रमा आएको चमत्कारिक विकासले मोबाइल प्रयोगकर्ताको संख्या बढेसँगै बिक्रीपछिको सेवामा पनि ध्यान दिनुपर्ने उपभोक्ताले माग गरेका छन्। सबै वर्गका व्यक्तिका लागि मोबाइलअनिवार्य आवश्यकताको साधन बनेपछि यसको मर्मतसम्भारमा पनि चासो बढेको हो।

बजारमा अन्तर्राष्ट्रिय ब्रान्डका मोबाइल प्रवेशसँगै उपभोक्ताको विश्वास जित्न सम्बन्धित कम्पनीको आधिकारिक विक्रेताले मर्मतसम्भारको कार्य पनि सुरु गरेका छन्। प्रयोगकर्ता सहरमा मात्र नभएर देशभर रहेकाले मोबाइल प्रयोगमा कुनै प्राविधिक समस्या आए वा मर्मतसम्भार गर्नुपरे स्थानीय तहमै व्यवस्था गनुपर्ने बिक्रेताको माग छ।

मोबाइल कम्पनीहरुले सर्भिस सेन्टरलाई विकेन्द्रित गर्नुपर्ने ललितपुर मल मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए। 'बजारमा ठूलो हिस्सा भएका ब्रान्डले क्षेत्रीय बजारमा सेवा दिन सुरु गरेका छन्,' बस्नेतले भने, 'सबै कम्पनीले उपयुक्त ठाउँ हेरेर नेपालभर विस्तार गर्नुपर्छ।' जिल्ला–जिल्लाबाट संकलन गरेर पठाउँदा धेरै समय लाग्ने भएकाले छिटो–छरितो सेवा दिनका लागि स्थानीय तहमा विस्तार गर्नुपर्ने माग उठेको छ। उनले सेवासँगै अझै सस्तो मूल्यमा मोबाइल उपभोक्ताले प्रयोग गर्न पाउनुपर्ने बताए। 'यहाँभन्दा भारतमा मोबाइल अझै सस्तो छ,' बस्नेतले भने, ' सरकारले कर छुट दिने र बिक्रेताले पनि मूल्य घटाउन पहल गर्नुपर्छ।'

बिग्रिएपछि व्यक्तिगत मर्मत केन्द्रले प्रयोगकर्तासँग मनोमानी रकम लिँदा उपभोक्ता ठगिने गुनासो बढेपछि विश्वास जगाउनका लागि ब्रान्डेड कम्पनीले सर्भिस सेन्टर विस्तार गरेको जनाएका छन्। नेपाली बजारमा सामसुङ, ह्वावे, कलर्स, माइक्रोम्याक्स, सोनी, एप्पल, एलजी, जियोनी साओमी, पानासोनिक, कार्बन, लाभा, बर्ड, वान प्लस, स्काइ, फ्लाई, स्पाइस, जी–फाइब सहित साढे दुई दर्जन स्वदेशी तथा विदेशी ब्रान्डका मोबाइलबिक्री हुन्छन्। मासिक करिब दुई अर्ब रुपैयाँको मोबाइल बिक्री हुने बिक्रेता बताउँछन्। औपचारिक च्यानल(भन्सारहुँदै)बाट एक वर्षमा करिब ३५ लाख सेट र अनौपचारिक रुपमा ठूलो संख्यामा मोबाइल भित्रिने गरेकाले सुरक्षाको चासो बढेको हो। 'मोबाइल सेटको ब्रान्ड'लाई आफ्नो प्रतिष्ठाको रुपमा समेत लिन्छन्। महँगा–महँगा मोबाइल नेपाली बजारमा भित्रिएका छन्। १५ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्ममा मोबाइल बजारमा बिक्री हुन्छन्। जिएसएम र सिडिएमए मोबाइलको २ करोड ८२ लाख ५९ हजार सिम बिक्री भएको तथ्यांकले देखाउँछ। यसलेनै नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या पुष्टि गर्छ। ती प्रयोगकर्तालाई गुणस्तरीय सेवा दिनु मोबाइल कम्पनीको दायित्व बनेको छ।

अधिकांश कम्पनीले राजधानी केन्द्रित सेवा केन्द्र स्थापना गरेपनि बजारमा मुख्य हिस्सा ओगटेका कम्पनीले उपत्यकाबाहिर पोखरा, विराटनगर, नारायणगढ, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्ज लगायत सहरमा सेवा दिन थालेका छन्। मोबाइल कम्पनीले मोफसलका प्रयोगकर्ताका लागि पनि ध्यान दिनुपर्ने माग छ। अधिकांश कम्पनीले मोबाइलमा एक वर्ष ग्यारेन्टी दिने गरेका छन्। उक्त अवधिमा बिग्रिएमा सम्बन्धित कम्पनीले मर्मत गर्ने वा नयाँ दिने गरेका छन्। सामान्यतया मोबाइलको आयु दुई वर्ष मानिन्छ। नयाँ–नयाँ सफ्टवेयर फेरेर पनि चलाउन सकिन्छ।

सूचना प्रविधिको युगमा मोबाइलमा बहुप्रयोगको रुपमा क्यामेरा, अनलाइन टेलिभिजन, मुभी हेर्न, गीत/संगीत सुन्न, बैंकिङ सेवा, समाचार, सामाजिक सञ्जालको प्रयोग,  इमेल, इन्टरनेट, मौसम, बजार, लोडसेडिङ तालिका, ट्राफिक जामबारे जानकारी लिन, गेम खेल्न प्रयोग हुन्छ। यसलेनै मोबाइलको माग बढाएको हो।

ठाउँ–ठाउँमा सो–रुम सहित सर्भिस सेन्टर सञ्चालनमा ल्याएको ह्वावेले जनाएको छ। 'सर्भिस सेन्टर विस्तार गर्ने तयारीमा छौं,' ह्वावेको डिभाइस मार्केटिक मेनेजर सुमित प्रधानांगले भने, 'ब्रान्डप्रतिको विश्वास जगाउन सर्भिस अनिवार्य छ।'उपभोक्ताले सजिलै सेवा दिन आफ्नो कम्पनी जिम्मेवार रहेको उनले बताए। 'हाम्रा उत्पादनमा बिग्रिने  सम्भावना कम छ,' उनले भने, 'गुनासो आयो भने सुल्झाउन प्रयत्नशील छौं।'नेपालमा मोबाइलको बजार वृद्धि भएकाले नयाँ कम्पनीले सर्भिस सेन्टर विस्तार गर्नुपर्ने नीतिगत रुपमा व्यवस्था गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। मोबाइल बजार बढेकाले बिग्रिएको बेलामा मर्मतसम्भारको जिम्मेवारी लिनुपर्नेमा व्यवसायी पनि सहमत छन्। नक्कली सामान फेर्ने भएकाले आधिकारिक बिक्रेताकहाँ जान पनि उनीहरुले आग्रह गरेका छन्।सम्बन्धित कम्पनीको आउटलेटमा नजाँदा ठगिने सम्भावना रहेकाले कम्पनीकै सर्भिस सेन्टरमा जान आग्रह गरेका छन्।

ग्राहकको सजिलोका लागि प्रमुख सहरमा सर्भिस सेन्टर स्थापना गरेको सामसङको नेपाल बिक्रेताका प्रमुख प्रणयरत्न स्थापितले बताए। 'मोबाइल प्रयोग गर्दा समस्या परेको खण्डमा तत्काल सामसङका केन्द्रमा सम्पर्क गर्न आग्रह गरेका छौं,' स्थापितले भने, 'उपभोक्तालाई सन्तुष्टि दिनुनै हाम्रो उद्देश्य हो।'

उपभोक्तालाई सेवा दिनका लागि तीन वर्षदेखि नै सर्भिस सेन्टर विस्तार गर्नुपर्ने नीतिगत व्यवस्था गरेको दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले बताए। 'मोबाइल बेच्ने सम्बन्धित कम्पनीले मर्मतसम्भारको पनि जिम्मा लिनुपर्छ,' खनालले भने, 'त्यसका लागि सर्भिस सेन्टर राख्नुपर्ने कानुनी व्यवस्था गरेका छौं।' प्राधिकरणले सर्भिस सेन्टरको पनि अनुगमन गर्न सुरु गरेको जनाएको छ। प्राधिकरणको चासोले बिक्रेता थप जिम्मेवार बनेर अन्ततः उपभोक्तालाई फाइदा पुग्ने व्यवसायी बताउँछन्।

प्रकाशित: ३१ असार २०७३ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App