७ वैशाख २०८१ शुक्रबार
अर्थ

निगमले तिर्‍यो सञ्चय कोषलाई १ अर्ब ५८ करोड

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई १ अर्ब ५८ करोड रुपैयाँ चुक्ता गरेको छ। निगमले गएको १५ महिनामा यो रकम चुक्ता गरेको हो। वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग १५ महिनाअघि खरिद गरी ल्याएका दुईथान नयाँ जहाजको रकम सञ्चय कोषसँग ऋण स्वरूप लिएको थियो। निगमले कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो। त्यसैको सावाँ र ब्याज गरी १५ महिनामा १ अर्ब ५८ करोड ४६ लाख १७ हजार ४ सय २१ रुपैयाँ चुक्ता गरेको हो।

'दुई जहाज खरिद गर्दा लिएको ऋणको पाँच किस्ता सावाँ र ब्याज गरी १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ सञ्चय कोषलाई चुक्ता गर्‍यौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बिहीबार नागरिकसँग भने, 'अब छैठौं किस्ता आगामी असोजमा तिर्ने छौं।'

उनका अनुसार पाँचौं किस्तावापत बिहीबार सञ्चय कोषलाई ३२ करोड ३६ लाख १७ हजार ४ सय २१ रुपैयाँ चुक्ता गरिएको हो। एयरबससँग खरिद गरिएका १ सय ५८ सिट क्षमतायुक्त दुईथान 'ए३२०–२००' सिरिजका जहाजको ऋण सञ्चय कोषलाई पहिलो किस्ता २०७२ असारमा २९ करोड २० लाख, दोस्रो किस्ता असोजमा ३२ करोड ३० लाख, तेस्रो किस्ता पुसमा ३२ करोड ३० लाख तथा चौथो किस्ता चैतमा ३२ करोड ३० लाख रुपैयाँ चुक्ता गरिएको थियो।

अर्थ मन्त्रालयले २०७० जेठ २३ मा निगमलाई जहाज किन्न आवश्यक १० अर्ब रुपैयाँ ऋण दिन सञ्चय कोषलाई स्वीकृति दिएको थियो। त्यसपछि निगम र कोषबीच २०७० असार ४ गते १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो। त्यसबेला कोषले वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको थियो भने चुक्ता अवधि १५ वर्ष राखेको थियो।

सञ्चय कोषले सुरुमा १२ प्रतिशत ब्याज दर तोके पनि पहिलो किस्ता चुक्ता गर्दा ११ प्रतिशतमात्र ब्याज लिएको थियो। त्यसपछि अझ सहुलियत दिँदै दोस्रो किस्तादेखि वार्षिक १० प्रतिशतका दरले मात्र ब्याज लिइरहेको छ। निगम र कोषबीचको सम्झौताअनुसार प्रत्येक तीन महिनामा एक पटक गरी वार्षिक चार किस्तामा सावाँ–ब्याज चुक्ता गर्नुपर्छ। १५ वर्षमा ६० किस्ता तिर्नुपर्ने सम्झौताअनुसार हालसम्म पाँच किस्ता चुक्ता भएको छ। अब निगमले ५५ किस्ता तिर्न बाँकी छ।

दुई संस्थाबीच भएको सम्झौतामा कोषले दिने ऋण (सावाँ, ब्याज, ब्याजको ब्याज, हर्जाना ब्याज) लगायत सबै रकम चुक्ता नभएसम्म ऋण तथा जमानत ऐन २०२५ अनुरूप सरकारको जमानत कायम रहने उल्लेख छ। कोषसँग सम्झौता भएको नवौं दिन (२०७० असार १३) मा निगमले एयरबससँग जहाज खरिद सम्झौता गरेको थियो।

सम्झौताअनुसार जहाज खरिद भएर व्यापारिक उडान सुरु भएको मितिबाट ऋणको सावाँ भुक्तानी अवधि १५ वर्षसम्म हुनेछ। जहाज आएर उडान नभए पनि ब्याज भने तिरिरहनुपर्छ। निगमले कर्जाको ब्याज प्रत्येक त्रैमासिक (असार, असोज, पुस र चैत) भित्र भुक्तानी गर्नुपर्छ।

सम्झौताअनुसार १० अर्ब रुपैयाँको १२ प्रतिशतका दरले वर्षको १ अर्ब २० करोड रुपैयाँ ब्याज उठ्ने भए पनि कोषले ब्याज दरमा सहुलियत दिँदै १० प्रतिशतमा झारेपछि वार्षिक १ अर्ब रुपैयाँमात्र तिरे पुग्ने भएको छ। यो हिसाबले महिनैपिच्छे ८ करोड ३३ लाख रुपैयाँ ब्याज तिर्नुपर्छ। दुई नयाँ जहाज उडाएर प्रत्येक महिना अधिकतम ८ करोड रुपैयाँसम्म नाफा गर्ने निगमको व्यापारिक योजना छ।

सम्बद्ध स्रोतका अनुसार निगमले वर्तमान १० प्रतिशतको ब्याजदरमा अझै कटौती गरी ८ प्रतिशतमा झार्न सञ्चय कोषलाई आग्रह गरेको छ। तोकिएको मितिमै ठूलो परिमाणको किस्ता चुक्ता गर्दै आएको निगमको आग्रहप्रति सकारात्मक हुँदै कोषले ८ को सट्टा ९ प्रतिशत ब्याज दर कायम गर्नेबारे पुनर्विचार गरिरहेको कोष सम्बद्ध स्रोतले दाबी गरेको छ।  

ऋण सम्झौताअनुसार कान्तिपथस्थित निगम केन्द्रीय कार्यालय भवन र त्यसले चर्चेको करिब १५ रोपनी जग्गालगायत कोषको सुरक्षणमा रहने, नयाँ आउने दुइटै जहाज कोषको नाममा धितो हुने, कर्जा सुरक्षणका लागि निगमले कोषलाई संस्थागत जमानत दिने, जहाजको समष्टिगत बिमालेख निगमले आफ्नै खर्चमा खरिद गर्नुपर्ने, उक्त बिमालेखको लाभग्राही कोष हुने तथा टिकट बिक्रीबाट प्राप्त हुने कुल आयको कम्तिमा ३० प्रतिशत ऋण नियमित गर्ने प्रयोजनका लागि कोषले तोकेको बैंकमा छुट्टै विशेष कोष खडा गरी महिनैपिच्छे रकम जम्मा गर्नुपर्छ।

निगमले एयरबससँग खरिद गरी २०७१ माघ २५ मा पहिलो ए३२०–२०० जहाज काठमाडौं ल्याएको थियो। यो जहाजले फागुन दोस्रो सातादेखि नियमित व्यापारिक उडान सञ्चालन गरेको थियो। त्यसपछि यही सिरिजको दोस्रो जहाज २०७२ वैशाख १८ मा ल्याएको थियो। दुवै जहाज १ सय ५८ सिट क्षमताका हुन्। दुवैमा १ सय ५० इकोनोमी क्लास र आठवटा बिजनेस क्लास सिट छन्।

दुबई उडान भदौ २ बाट

नेपाल वायुसेवा निगमले आगामी भदौ २ बाट युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईका लागि पुनः उडान गर्ने घोषणा गरेको छ। यसअघि निरन्तर आठ वर्ष दुबई उडान गरी सन् २०१२ बाट बन्द गरेको थियो।

'यात्रुको माग उच्च भएपछि दुबई उडान पुनः सञ्चालन गर्न लागेका हौं,' निगमका कर्पाेरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बिहीबार नागरिकसँग भने, 'यसबाट वैदेशिक रोजगारीमा जाने नेपाली यात्रुदेखि विदेशी पर्यटकसम्म सबै लाभान्वित हुने विश्वास छ।'

उनका अनुसार आगामी भदौ २ बाट प्रत्येक साता तीन दिन आइत, मंगल र बिहीबार काठमाडौंबाट सिधा दुबई उडान गरिने तालिका बनाइएको छ। दुबईका लागि न्यूनतम भाडा दर करसहित एकतर्फी २५ हजार र दुईतर्फी ४२ हजार रुपैयाँ तोकिएको छ।

निगमले दुबईका लागि काठमाडौंबाट राति ११ः३० बजे उड्ने र भोलिपल्ट बिहान १०ः१० बजे फर्कने तालिका बनाएको छ। दुबईका लागि १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजको जहाज प्रयोग गर्ने निगमको भनाइ छ। 'अर्को साताबाट दुबईका लागि टिकट बुकिङ सुरु हुन्छ,' प्रवक्ता शर्माले भने।

मर्मतपछि बि७५७ जहाज उड्यो  

प्राविधिक समस्या उत्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' भएको नेपाल वायुसेवा निगमको एउटा जहाजले मर्मतपछि उडान सुरु गरेको छ।

कलसाइन '९एन–एसिबी' भएको निगमको 'बि७५७' सिरिजको उक्त जहाजले बुधबार राति ११ः४९ बजे मलेसियाको क्वालालम्पुर उडान गरेको हो। एयरकन्डिसनको पाइप चुहिएपछि यो जहाज गत आइतबारदेखि ग्राउन्डेड थियो।

सिंगापुरबाट सामान ल्याएर फेरेपछि जहाज उडानयोग्य भएको थियो। एसिबी जहाजले क्वालालम्पुर जाँदा यहाँबाट १ सय १४ जना र उताबाट फर्कंदा १ सय ८२ यात्रु लिएर आएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए। 

प्रकाशित: ३१ असार २०७३ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App