coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अमलाको उत्कृष्ट प्रदर्शन जारी

राजकोट- ओपनर हासिम अमलाले उत्कृष्ट प्रदर्शनलाई जारी राखेपछि इन्डियन प्रिमियर लिगमा आइतबार किङ्स–११ पन्जाबले गुजरात लायन्सलाई २६ रनले हराएको छ। यसअघिको खेलमा अमलाले अविजित १ सय ४ रनको योगदान गरे पनि पन्जाब मुम्बई इन्डियन्ससँग ८ विकेटले पराजित भएको थियो। 
तेस्रो ओभरमा ओपनर मनन बोहरा २ रनमा आउट भएका थिए। तर अमलाले पन्जाबको इनिङ सम्हालेका थिए। 
गुजराती बलरमाथि हाबी देखिएका अमलाले ६५ रन बनाए। म्यान अफ द म्याच अमलाले ४० बलमा ९ चौका र २ छक्का प्रहार गरेका थिए। पन्जाबका लागि आक्रामक ब्याटिङ गरेका ग्लेन म्याक्सवेलले ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रन बनाए। अक्षर पटेलले ३४, सन मार्सले ३० रन बनाए। गुजरातका एन्ड्री टाइले २ विकेट लिए। जबाफमा गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन मात्र जोड्न सक्यो। गुजरातका लागि दिनेश कार्तिकले अविजित ५८ रनको योगदान गरे पनि टोलीलाई सफलता दिलाउन सकेनन्। कप्तान सुरेश रैनाले ३२ रन जोडे। 
पन्जाबका सन्दीप शर्मा, केसी कारिप्पा र अक्षरले समान २ विकेट लिए। 
यसै गरी शनिबार बेलुकी मुम्बईले घरेलु मैदानमा दिल्ली डेरडेबिल्सलाई १४ रनले पराजित गरेको छ। सुरुआतमा ब्याटिङ गरेको मुम्बईले १ सय ४२ रन बनाएको थियो। तर बलरले कडा मेहनत गरेपछि मुम्बईले सानो स्कोरलाई रक्षा गर्दै सफलता हात पार्यो१। 
मुम्बईले यसअघि २०१३ को आइपिएलमा १ सय ५० रन बनाएको थियो। सुरुआतमा दिल्लीका ब्याट्सम्यान आत्मविश्वासी देखिएका थिए। तर लगातार विकेट पतन हुन सुरु भएपछि भने डेरडेबिल्स कमजोर देखिएको थियो। मिचेल म्याकक्लिगनले तीन विकेट लिएपछि दिल्लीले ६ विकेट गुमाउँदा २४ रन मात्र जोडेको थियो। ‘हामीले सही समयमा सही मिहिनेत गरेका थियौं। बलमा हामीले नियन्त्रण राख्यौं,' मिचेलले भने, ‘हामीले धेरै खेल खेलेका छौं। जसमा हामी जित्छौं भन्ने लाग्दैन। हामीसँग राम्रो आत्मविश्वास थियो। तर हामीमा दम्भ थिएन। जुन टोलीमा भएको राम्रो कुरा हो।' मिचेलले कप्तान रोहित शर्माको तारिफ गर्दै उनमा उत्कृष्ट नेतृत्वक्षमता भएको बताए। मिचेलले थपे, ‘मैदानभित्र र बाहिर रोहितमा राम्रो नेतृत्व गर्न सक्ने क्षमता छ। उनलाई थाहा छ कोही दिन उनका लागि हँुदैन। तर पनि उनमा असाधारण रूपमा आत्मविश्वास थियो।' पहिलो खेल हारेको मुम्बईले शनिबारको जितसँगै आइपिएल इतिहासमा लगातार ६ खेल जित्दै उत्कृष्ट सुरुआत गरेको छ। मुम्बईका लागि ओपनर जोस बटलरले २८, किरोन पोलार्डले २६ र हार्दिक पाण्डेले २४ रन बनाए। दिल्लीका अमित मिश्रा र पाट कुमिन्सले समान २ विकेट लिए। 
जबाफमा दिल्लीले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय २८ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि क्रिज मोरिजले अविजित ५२ रन बनाए। उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। कागिसो रब्बदाले ४४ रन जोडे। 
म्यान अफ दी म्याच मिचेलले ४ ओभरमा २४ रन खर्चे। जसप्रित बुमराहले २ विकेट लिए। 

प्रकाशित: ११ वैशाख २०७४ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App