८ वैशाख २०८१ शनिबार
खेल

गल्फमा उत्कृष्ट १६ सहभागी हुने

काठमाडौं- सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले सोमबार रोयल नेपाल गल्फ क्लबको कोर्समा सुरु हुने भएको छ। अघिल्लो सिजनको प्रदर्शनका आधारमा छानिएका उत्कृष्ट १६ व्यावसायिक खेलाडीको सहभागिता रहने प्रतियोगिता तीन दिनसम्म चल्नेछ। सबै म्याच प्ले प्रतिस्पर्धा १८ होलमा खेलाइनेछ। फाइनल भने ३६ होलमा हुनेछ। पहिलो चरणका आठ खेल सोमबार हुनेछन् भने क्वार्टरफाइनल र सेमिफाइनल मंगलबार हुने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए)ले जनाएको छ। फाइनल तथा तेस्रो स्थानको खेल अन्तिम दिन बुधबार हुनेछ।

पहिलो चरणमा नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले १६औं वरीयताका प्रदीपकुमार लामासँग खेल्नेछन् भने आठौं वरीयताका सूर्यप्रसाद शर्माले नवौं वरीयताका जयराम श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन्। अन्य खेलमा पाँचौं वरीयताका रवि खड्काले १२औं वरीयताका रमेश नगरकोटी, चौथो वरीयताका धनबहादुर थापाले १३औं वरीयताका रामकृष्ण श्रेष्ठ, छैटौं वरीयताका रामे थापा मगरले ११औं वरीयताका पशुपति शर्मा, तेस्रो वरीयताका सञ्जय लामाले १४औं वरीयताका विकास अधिकारी तथा सातौं वरीयताका दीपक थापा मगरले १०औं वरीयताका बलभद्र राईसँग प्रतिस्पर्धा गर्नेछन्। यसै गरी नेपाल नम्बर २ उमेश नगरकोटीले १५औं वरीयताका यलम्बर अधिकारीसँग खेल्नेछन्।

प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ पाउनेछ भने उपविजेताले ४० हजार, तेस्रो हुनेले २८ हजार तथा चौथो हुनेले २० हजार रुपैयाँ पाउनेछन्। क्वार्टरफाइनल पुग्ने सबैले ११ हजार रुपैयाँ पाउनेछन् भने पहिलो चरणबाटै बाहिरिने आठ खेलाडीले जनही ६ हजार रुपैयाँ पाउने बताइएको छ।

प्रकाशित: ११ वैशाख २०७४ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App