coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

रोग निम्त्याउने गर्मी

–दीपक
गर्मी बढेयता स्वास्थ्य अधिकारीलाई एउटा चिन्ता थपिन्छ– महामारीको । अधिकांश महामारी गर्मी मौसममै फैलिन्छन् । चिकित्सकका अनुसार भाइरस र ब्याक्टेरियाका कारण हुने र सर्ने खालका रोगको मौसम गर्मी हो ।
गर्मीमा खाना, कीट, पानीका कारण झाडापखाला, हैजा, भाइरल फिभर, फुड प्वाइजनिङ, डेंगी, भाइरल हेपाटाइटिस, इन्फ्लुएन्जाजस्ता रोग फैलिन्छन् । तीबाहेक आउँ, रगतमासी, हेपाटाइटिस, टाइफाइडका प्रमुख मौसम पनि गर्मी नै हो ।
स्वाइन फ्लूजस्ता मौसमी रुघाखोकीदेखि भाइरसजन्य रोगको जोखिम पनि यही मौसममा बढी हुन्छ । कीटजन्य भनिने लामखुट्टे, भुसुनाको टोकाइबाट सर्ने औलो कालाजार पनि यही मौसममा फैलिन्छ ।
नेपालमा बिरामी तथा मृत्यु हुने कारण (रोगको भार) सर्ने खालका रोग भएको जनरल फिजिसियन डा. डीपी सिंह बताउँछन् । ‘गर्मी मौसममा लाग्ने अधिकांश रोगको सम्बन्ध खानपिन र सरसफाइसँग जोडिन्छ,’ डा. सिंह भन्छन्, ‘अधिकांश सर्ने खालका रोगको सामान्य सरसफाइ, खोप, दैनिक आनीबानीजस्ता कुरामा ध्यान दिएर रोकथाम गर्न सकिन्छ । र, रोग लागिसकेको अवस्थामा उपचारसमेत सम्भव हुन्छ ।’
धेरै रोगबारे जानकारी राखेर समयमै सावधानी अपनाए रोग लाग्नबाट बच्न सकिने डा. सिंह बताउँछन् । ‘हात धुने बानी बसाल्ने, बासी तथा सडेगलेको नखाने, फोहोरको उचित व्यवस्थापन गर्ने हो भने बिरामी दर नै घटाउन सकिन्छ,’ डा.सिंह भन्छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा झाडापखालाका कारण मात्रै प्रत्येक वर्ष करिब नौ हजारभन्दा बढीको ज्यान जाने गरेको छ ।
फिजिसियन डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार गर्मी मौसममा ब्याक्टेरियाका कारण झाडापखाला, बान्ता, फुड प्वाइजनिङ र पेट दुख्नेजस्ता समस्या बढी देखिन्छन् । ‘फोहोर खाना र प्रदूषित पानीबाट बच्ने हो भने धेरैलाई बिरामी हुनुबाट जोगाउन सकिन्छ,’ डा. बस्नेत भन्छन् ।
डा. बस्नेतका अनुसार गर्मीमा सफा खानुका साथै कम खानु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । ‘गर्मीमा खाना चाँडै बिग्रने र गल्ने हुन्छ । पानी उमालेर राख्ने र सेलाएपछि खानुपर्छ, खाना छोपेर राख्नुपर्छ, खुला सडकमा राखिएका कुनै पनि खानेकुरा खानु हुन्न,’ डा. बस्नेत भन्छन् ।
चिकित्सकका अनुसार गर्मी मौसममा भिटामिन र खनिज भएका खानेकुरा खानुपर्छ । फलफूल, हरिया सागपात, काँक्रो, गोलभेँडा, कागती, अमला, दहीलगायत खानेकुरा बढी खानुपर्छ ।
शरीरमा असर पुर्याउने ब्याक्टेरियाको सामान्यतः २५ देखि ४० डिग्री तापक्रममा विकास हुन्छ । गर्मीमा तापक्रम यति नै हुने भएकाले खाना चाँडै बिग्रन्छ । गर्मीमा बढी मसलायुक्त, प्रोटिन र क्यालोरी भएका खानेकुरा पचाउन कठिन हुन्छ । बढी तातो हुने र शरीरमा भएको पानी सोसिने हुनाले शरीरको तापक्रम सन्तुलनमा राख्न झोल पदार्थ खानुपर्ने चिकत्सक सुझाउँछन् । ‘खानामा फलफूल, सलादको मात्रा बढाउनुपर्छ । तर, यस्ता फलफूल पखाल्दा पानीमा विशेष ध्यान दिनुपर्छ,’ डा.सिंह भन्छन्, ‘सफा पानीले फलफूल, साग र तरकारी धुनुपर्छ ।’
गर्मी मौसममा धेरैले सफ्ट ड्रिंक्स बढी खान्छन् । यस्तो पेयमा चिनीको मात्रा बढी हुन्छ । जसले मधुमेह रोगको जोखिम बढाउँछ । चिकित्सकका अनुसार बढी गर्मी हुने ठाउँमा तातो हावा ‘लु’को जोखिम पनि त्यति नै हुन्छ । गर्मीमा सकेसम्म घामबाट बच्ने, प्रशस्त पानी खाने, बाहिर हिँड्दा छाता ओढ्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।
केही पहाडी र तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी, स्वाइन फ्लू, इन्सेफलाइटिस, चिकनगुनिया, लेप्टोस्पाइरोसिसजस्ता रोगको जोखिम पनि उत्तिकै हुन्छ । कीटजन्य धेरै रोग लामखुट्टे, झिंगा र भुसुनाबाट सर्ने हुँदा घर वरपरको वातावरण सफा राख्ने, पानी जम्न नदिने, थोत्रा टायर र गमलाको व्यवस्थापन गर्ने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

 

प्रकाशित: १० वैशाख २०७४ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App