७ वैशाख २०८१ शुक्रबार
अन्य

महिला–पुरुष किन सोच्छन् भिन्न ?

डा. कपिलदेव उपाध्याय

नेपाली समाजमा श्रीमतीको मृत्युपछि धेरै पुरुषले अर्को विवाह गरेको पाइन्छ । छोराछोरी हुर्किसकेका एवं आ–आफ्नो पेशामा स्थापित भइसकेका र उमेर पनि ५० को हाराहारीमा पुगेका पुरुषले पनि श्रीमतीको मृत्युपछि विवाह गरेका थुप्रै उदाहरण छन् । तर, श्रीमान्को मृत्युपछि अर्को विवाह गर्ने महिला भने थोरै भेटिन्छन् । बच्चा जन्मिएपछि श्रीमान्को मृत्यु भएका कमै महिलाले अर्को विवाह गरेका हुन्छन् । श्रीमान्को मृत्युपछि अर्को विवाह गर्नुलाई हाम्रो समाजले निरुत्साहित गर्ने र यस्ता महिलासँग बिहे गर्न सजिलै कोही पनि तयार नहुने भएकाले पनि उमेर छँदै श्रीमान्को मृत्यु भएका महिला पनि दोस्रो विवाह नगरी बसेका हुन्छन् ।

 महिलाको सम्झने शक्ति, भावनात्मक समझ राम्रो हुन्छ भने सञ्चार गर्नमा पनि उनीहरू कुशल हुन्छन् । महिलामा पुरुषभन्दा बढी बोल्न सक्ने क्षमता यसैकारण भएको हो ।


तीन वर्षअघि प्रेम विवाह गरेकी २१ वर्षीया सुमी शर्माको काखमा दुई वर्षको छोरा छ । आफूलाई माया गर्ने श्रीमान् एक वर्षअघि क्यान्सरका कारण बितेपछि उनका घरपरिवारले सुमीलाई साथ दिएको छैन । माइतीको आर्थिक अवस्था कमजोर भएकाले उनले त्यहाँबाट पनि साथ पाएकी छैनन् । श्रीमान्को मृत्युपछि मानसिक समस्या भोगिरहेकी उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । काउन्सिलिङका क्रममा सुमीले श्रीमान्को मृत्युपछि चारपाँच महिना उनकै सम्झनामा बिताएको बताइन् । मनमा आत्महत्या गर्ने सोच आउँदा छोराको अनुहार हेरेर टारेको बताइन् । उपचारका क्रममा उनलाई डिप्रेसन भएको पत्ता लाग्यो । एक महिना औषधि सेवन गरेपछि केही सुधार देखियो । काउन्सिलिङका क्रममा श्रीमान्को ठाउँमा तपाईंको मृत्यु भएको भए परिस्थिति के हुन्थ्यो होला ? भनेर जिज्ञासा राख्दा उनले ‘मलाई असाध्यै माया गर्ने श्रीमान्ले अर्को विवाह गर्नु हुँदैनथ्यो र त्यसैले मैले पनि अर्को विवाह गर्दिनँ’ भनिन् ।
श्रीमतीको मृत्युपछि धेरै पुरुषले बिहे गरेर सामान्य जीवन बिताएको हामी सबैले देखेका छौँ । तर, सुमीजस्ता महिला भने समाजमा थुप्रै भेटिन्छन् । उस्तै परिस्थितिमा पुरुष र महिलाले लिने निर्णय फरक हुनुको पछाडिका कारणमा जैविक तथा भावनात्मक रूपमा महिला र पुरुषबीचको भिन्नता नै हो ।
महिला र पुरुष दुवै बराबर हुन् र उनीहरूको अधिकार पनि बराबर हुनुपर्छ । महिलामाथि भेदभाव गर्नु हुँदैन । तर, प्रकृतिले महिला र पुरुषलाई केही भिन्न बनाएको छ । यसका वैज्ञानिक आधार पनि छन् । एन मोयर र डेभिड जेसेलले ‘ब्रेन सेक्सः द रियल डिफरेन्स बिट्विन मेन एन्ड विमिन’ नामक पुस्तकमा महिलाहरूले पुरुषको तुलनामा धेरै राम्रोसँग हेर्न, सुन्न र फिल गर्न सक्ने लेखेका छन् । महिला कुनै पनि कुरालाई राम्रोसँग ग्रहण गर्ने र प्रतिक्रिया दिने मामिलामा पनि अगाडि नै हुने सो पुस्तकमा उल्लेख छ । यौन सम्बन्धका बारेमा पुस्तकमा ‘महिलाका लागि सेक्स भनेको निकटता र मायाको उपज हो’ भनी लेखिएको छ ।  
महिलाहरूमा भावनात्मक सम्बन्ध बलियो होस् र खुलेर एकापसमा कुरा गरौँ भन्ने चाहना बढी हुन्छ । श्रीमान्ले आफ्नो प्रेम बोलेर प्रकट गरून् भन्ने पनि चाहन्छन् । श्रीमान् भने आर्थिक रूपले सक्षम हुने र यौन सम्बन्ध राम्रो होस् भन्ने चाहन्छन् । सफल वैवाहिक जीवन बिताउनका लागि महिलाको बानी बुझ्ने, कुरा सुनिदिने, प्रेम प्रकट गर्ने र समय दिने गर्नुपर्छ ।
चिकित्सक लुआना ब्रिजेन्दिनले महिला र पुरुषमा किन धेरै भिन्नता हुन्छ ? डिप्रेसनजस्ता रोग महिलालाई किन बढी हुन्छ ? महिलाहरू सँगै बसेर कुराकानी गर्न किन मन पराउँछन् ? आदि जिज्ञासालाई समेटेर एउटा पुस्तक लेखेकी छिन्, ‘दी फिमेल ब्रेन’ । पुरुष र महिलाको मस्तिष्क उस्तै हुन् भने फरक के कारणले हुने रहेछ भनेर अध्ययन गरेर लेखिएको र सन् २००६ मा प्रकाशित यो पुस्तक ‘बेस्ट सेलर’ भएको थियो ।

महिला पुरुषको तुलनामा राम्रोसँग हेर्न, सुन्न र महसुस गर्न सक्छन् । कुनै पनि कुरालाई राम्रोसँग ग्रहण गर्ने र प्रतिक्रिया दिने मामिलामा पनि महिला अगाडि नै हुन्छन् ।


‘दी फिमेल ब्रेन’ का अनुसार पुरुषको मस्तिष्कभन्दा महिलाको मस्तिष्क करिब नौ प्रतिशत सानो हुन्छ । यसैकारण पुरुषको भन्दा महिलाको क्षमता नै कम हुन्छ भन्ने धारणा वैज्ञानिकहरूले अनुमान गरेका थिए । पछि थप अध्ययन गर्दा मस्तिष्कमा हुने नर्भ सेल र न्युरोन महिला र पुरुष दुवैमा बराबर नै हुने रहेछ भन्ने पत्ता लाग्यो । त्यसैले महिला र पुरुषमा बच्चा पाउने क्षमताबाहेक अन्य क्षमता बराबर नै हुन्छन् भन्ने प्रमाणित भयो । ‘दी फिमेल ब्रेन’ पुस्तकका अनुसार पुरुषको भन्दा महिलाको मस्तिष्क केही कुरामा फरक भएकाले भावना, माया, डर आदिमा फरक देखिएको हो ।  
मस्तिष्कमा प्रत्येक कामका लागि छुट्टाछुट्टै केन्द्र र क्षेत्र हुन्छन् । बोल्ने, बोलेको बुझ्ने, सुन्ने, गन्ध लिने, रिसाउने, डराउने, विचार गर्ने, हातखुट्टा चलाउने आदि । पुरुष र महिलामा ती केन्द्र मस्तिष्कको त्यही भागमा भए पनि साइजमा भने केही फरक हुन्छन् अर्थात् नर्भ सेलहरूको संख्या केही फरक हुन्छ । महिलामा बोल्ने, सुन्ने र सम्झना राख्ने केन्द्र पुरुषमा भन्दा केही ठूला हुन्छन् । त्यसैले महिलाहरूको सम्झने शक्ति, भावनात्मक समझ राम्रो हुन्छ भने सञ्चार गर्नमा पनि महिलाहरू कुशल हुन्छन् । महिलामा पुरुषभन्दा बढी बोल्न सक्ने क्षमता यसैकारण भएको हो ।
रिसाउने र आक्रामक व्यवहार गर्ने केन्द्र पुरुषमा केही ठूलो हुन्छ । पुरुषमा कुनै पनि कुरालाई विश्लेषण गर्ने र त्यसको कारणसमेत दिनसक्ने क्षमता महिलाको भन्दा बढी हुन्छ । पुरुषमा ‘सेक्सुअल सेन्टर’ पनि महिलाभन्दा ठूलो हुन्छ । त्यसैले पुरुष यौनसम्बन्धी कुरा छिनछिनमा सोच्ने गर्छन् । महिलाहरू भने दिनको एक पटकमात्र यौनसम्बन्धी कुरा सोच्ने गर्छन् । मस्तिष्कका विभिन्न केन्द्रमा थोरै मात्र फरक हुँदा पनि व्यवहारमा भने धेरै फरक हुन्छ, महिला र पुरुषमा ।

पुरुष यौनसम्बन्धी कुरा छिनछिनमा सोच्ने गर्छन् भने महिला दिनको एक पटक मात्र सोच्ने गर्छन् ।


किशोरीहरू सकभर मिल्ने साथी बनाउने र लामो समयसम्म कुराकानी गर्ने गर्छन् । किशोरहरूमा भने टेस्टोस्टेरोन हार्मोनले उनीहरूको व्यवहार नै छुट्टै खालको हुने गर्छ । ‘कि लड, कि भाग’ जस्ता प्रतिक्रिया पुरुषमै बढी हुन्छ । तर, महिलाहरू भने कसरी आफ्नो समूह बनाएर बालबच्चासहित आफू पनि सुरक्षित हुने सोच राख्छन् । महिला जब आमा बन्छिन्, मस्तिष्कमा थप परिवर्तन हुन्छ । आफ्नो बच्चासँगको प्रेम र विशेष सम्बन्धका कारण बच्चालाई माया गर्ने, स्याहारसुसार गर्ने आदि काम गर्दागर्दै यौन सम्बन्ध राख्ने चाहना या त घट्छ वा हराउँछ ।
(डा. उपाध्याय वरिष्ठ मनोचिकित्सक हुन् ।)

 

 

 

प्रकाशित: १० वैशाख २०७४ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App