coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

कति ‘पढ् पढ्’ भनेको ?

–सृजना खड्का
‘स्कुलमा नि पढ्, घरमा नि पढ्, आफन्तले नि पढ्, छिमेकीले नि पढ् । पढ् पढ् भन्ने त शब्द सुन्दा नि दिक्क लाग्छ ।’
काठमाडौँ, बानेश्वरको भ्याली भ्यू इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा आठमा अध्ययनरत विनोद श्रेष्ठलाई सबैले पढ् पढ् भनेको सुन्दा दिक्क लाग्छ । उनलाई बुबाले ‘पढ् पढ्’ भनेर गाली गर्छन् । भन्छन्, ‘स्कुलबाट फर्किनेबित्तिकै ड्याडी पढ् भन्न थाल्नुहुन्छ । मन नलागे पनि पढेको जस्तो गर्दिन्छु ।’ बुबासँग डर लाग्ने भएकाले मन नलागे पनि पढेको जस्तो गर्ने उनले बताए । ‘परीक्षाको बेलामा त झन् ड्याडी अफिस नै बिदा लिएर मेरो गार्ड बस्नुहुन्छ,’ उनी भन्छन्, ‘ड्याडीले अफिसबाट फर्किएपछि ‘के छ ?’ भनेर कहिल्यै सोध्नुुहुन्न, जहिल्यै ‘कति पढिस् ?’ भनेर सोध्नुहुन्छ ।’
यता, काठमाडौँ, शान्तिनगरमा रहेको बेबिलोन नेसनल हाइयर सेकेन्डरी स्कुलको कक्षा चारमा पढ्ने जेम्स गौतम र कक्षा १० मा पढ्ने ज्योत्स्ना गौतमको पनि उस्तै गुनासो छ । ‘ममीले पढ् पढ् भन्दा भन्दै मलाई त बानी नै परिसक्यो, आजकाल त नपढ् भने पनि किताब भने समातेरै बसिरहन मन लाग्छ,’ ज्योत्स्ना भन्छिन् । जेम्स भने पढ्नभन्दा खेलकुदमा बढी रुचि राख्छन् । ‘स्कुलमा कहिलेकाहीँ खेल्छु, घरमा आएपछि त ममीले बाहिर जानै दिनुहुन्न,’ उनी भन्छन्, ‘अनि घरमै बसेर पढ्ने हो ।’

काठमाडौँ, काँडाघारीका ३७ वर्षीय रमेश ढुंगानाका दुई सन्तान छन् । छोरो सात र छोरी नौ कक्षामा पढ्छन् । उनलाई छोराछोरीले नपढेकोमा निकै चिन्ता छ । भन्छन् ‘हाम्रा पालामा पढ् भन्ने मान्छे पाए कस्तो हुन्थ्यो, यिनीहरूलाई यत्रो पैसा तिरेर पढाउँदा नि पढ्नमा पटक्कै ध्यान दिँदैनन् ।’ आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीले पढून् भन्ने धारणा बोकेका ढुंगाना उनीहरूकै भविष्यको लागि ‘पढ् पढ्’ भन्दै गाली गर्ने गरेको बताउँछन् ।
ज्योत्स्ना र जेम्सकी आमा मिनाको पनि उस्तै जवाफ छ । भन्छिन्, ‘उनीहरूका बुबा उनीहरूकै लागि पैैसा कमाउन विदेश जानुभएको छ, पढ् त भन्नुपरिहाल्यो नि ।’ थप्छिन्, ‘छोरा पढाइको मामिलामा अलि जिद्दी छ, भनेको टेर्दैन । छोरी भने १० कक्षामा पढ्ने भएको कारणले पढ् भन्नैपर्दैन ।’

काठमाडौँ, बानेश्वरस्थित काव्य स्कुलका प्रिन्सिपल नवराज बाँस्कोटा बच्चाले राम्रो पढोस् भन्ने उद्देश्यले अभिभावकले ‘पढ्’ भन्नु स्वाभाविक भएको बताउँछन् । तर, बालबालिकालाई जहिल्यै ‘पढ् पढ्’ भन्दै दिक्क भने लगाउन नहुने उनी सुझाउँछन् । छिमेकीका बच्चाहरूसँग आफ्ना बच्चालाई तुलना गर्दै ‘पढ् पढ्’ भन्दा बच्चाहरूमा पढाइप्रति वितृष्णा जाग्न सक्ने उनको तर्क छ । उनका अनुसार यसले बालबालिकामा नकारात्मक असर पार्छ । ‘बालबालिकाको पढाइलाई अभिभावकले व्यावहारिक जीवनसँग जोड्नसके उनीहरूले छोराछोरीलाई पढ् पढ् भनिरहनै पर्दैन,’ उनी भन्छन् ।
काठमाडौँ, जोरपाटीमा रहेको चामुण्डा उच्च माविका प्रिन्सिपल यादवप्रसाद पौडेल भन्छन्, ‘पढ् पढ् भनेर बालबालिकालाई धम्की दिनुभन्दा उनीहरूलाई मायाले सम्झाउँदा बढी प्रभावकारी हुन्छ । पढ् भन्नु आफैँमा नराम्रो होइन, तर जति बेला पनि पढ् भनेर लाद्न खोज्दा भने यो घातक हुन सक्छ ।’ सिकाइका लागि पढ् भन्नु र देखावटीका लागि पढ् भन्नुमा निकै फरक पर्ने यादवको भनाइ छ ।
काठमाडौँ, सीतापाइलास्थित युवा सहभागिता माविका प्रिन्सिपल कमलप्रसाद रिमालको तर्क छ– ‘पढ्नु भनेको किताब च्यापेर बस्नु मात्रै होइन । शिक्षक होस् वा अभिभावक, सबैले बालबालिकाले कति पढेभन्दा पनि के पढे र त्यसबाट कति उपलब्धि हासिल गरे ? त्यसमा ध्यान दिनुपर्छ ।’
स्कुलहरूमा उत्प्रेरणा कक्षा चलाउने मोटिभेटर रविन कट्वाल भन्छन्, ‘हरेक बालबालिकामा भिन्नाभिन्नै कला र क्षमता हुन्छ । जसरी बाँदरमा रूख चढ्ने र माछामा पौडने कला हुन्छ, त्यसरी नै हरेक बच्चामा एउटा न एउटा क्षमता अवश्य हुन्छ । कोही गणितमा अब्बल हुन्छन् त कोही साहित्यमा ।’ उनका अनुसार अभिभावकले परीक्षामा ल्याएको अंकलाई भन्दा क्षमतालाई ध्यान दिनुपर्छ । भन्छन्, ‘अभिभावक आफू टीभी हेरेर बस्ने अनि छोराछोरीलाई ‘पढ् पढ्’ भनेर मात्र हँुदैन । यसरी पढ् पढ् मात्रै भनिरहँदा उनीहरूमा बिस्तारै पढाइप्रति रुचि घट्ने हुन्छ । झर्को मान्ने, रिसाउने, भनेको नटेर्ने जस्ता असर पनि देखापर्न सक्छन् ।’ उनको निष्कर्ष छ– ‘जबसम्म बालबालिका आफैँमा ‘मैले पढ्नुपर्छ’ भन्ने आत्मबोध हुँदैन, तबसम्म पढ् पढ् भनेर मात्र केही हुँदैन ।’

 

प्रकाशित: १० वैशाख २०७४ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App