५ वैशाख २०८१ बुधबार
कला

'चपली गर्ल'को उपन्यास 'जुइनो' सार्वजनिक

काठमाडौं- फिल्म खेल्दाखेल्दै अर्गानिक खेतीमा लागेकी अभिनेत्री बिनिता बराललाई कृषिले यति आकर्षित गरिन् कि उनले कृषिकै पृष्ठभूमि रहेको प्रेमकथालाई उपन्यासका रुपमा उतारेकी छन्। उनको पहिलो उपन्यास 'जुइनो'को बिहीबार काठमाडौंमा विमोचन गरियो। अभिनेत्री ऋचा शर्मा र उनी स्वयंले उक्त कृति सार्वजनिक गरेका हुन्।

अभिनय गर्ने उत्कट इच्छाका साथ चितवनबाट काठमाडौं आएकी बिनिताले 'चपलीहाइट' फिल्मबाट नायिकाका रुपमा ब्रेक पाएकी थिइन्। उक्त फिल्म हिट भएकोले उनलाई 'चपली गर्ल'को नामले पनि सम्बोधन गरिन्छ। फिल्मअघि म्युजिक भिडियोमा छाएकी बिनिता अमेरिकाको हरदिङ विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेकी छन्। उनी उपन्यास विमोचनकै लागि नेपाल आएकी हुन्।

विमोचन समारोहमा उनको लेखन अनुभवबारे अभिनेत्री ऋचा शर्माले संवाद गरेकी थिइन्। ‘कृषि व्यवसायमा लागेपछि कृषिप्रति युवालाई आकर्षण गर्न केही लेख्नुपर्छ भनेर पुस्तक लेख्न बसेको थिएँ। तर, पुस्तक कृषिको पृष्ठभूमिमा लेखिएको प्रेमकथा बन्नपुग्छ भनेर मलाई थाहा थिएन,’ लेखिका बरालले भनिन्।

आफूले पढेको राम्रो नेपाली प्रेमकथामध्ये एक ‘जुइनो’ले वैदेशिक रोजगार, छुवाछुत, पितृसत्तात्मकताजस्तो नेपाली समाजका धेरै कुरा छोएको बताउँदै ऋचाले बरालको पढ्ने बानीबारे पनि सोधिन्। जवाफ बिनितो भनिकी थिइन्, ‘मैले पहिला अलिअलिमात्र पढ्थें। तर, उपन्यास लेखिसकेपछि त्यसलाई पुनर्लेखन गर्ने क्रममा प्राविधिक ज्ञानका लागि थुप्रै नेपाली पुस्तक पढें।’

उपन्यासको प्रमुख महिला पात्रको नाम 'कथा' राखिएको छ। आफूलाई यो नाम पहिलेदेखि नै मन पर्दै आएको बताउँदै बिनिताले भनिन्, 'कुनै दिन बिहे गरेर छोरी जन्माउँछु र छोरीको नाम पनि कथा राख्छु भन्ने मेरो सोच थियो।'

उपन्यास सिनेम्याटिक छ भन्दै अभिनेत्री ऋचाले बिनितालाई उपन्यासलाई सिनेमा बनाउने सोच छ कि भन्ने प्रश्न राख्दा कोही सिनेमा बनाउन इच्छुक भएर आयो भने बनाउन पनि सकिने कुरा बिनिताले बताइन्। फाइनप्रिन्टले प्रकाशन गरेको 'जुइनो'को मूल्य २९४ रुपैयाँ राखिएको छ। 

प्रकाशित: ३१ असार २०७३ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App