७ वैशाख २०८१ शुक्रबार
राजनीति

अध्यक्षमा सहमति नहुँदा फोरम नेपाल-नयाँ शक्ति एकता भाँडियो

काठमाडौं- एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको छ। स्रोतका अनुसार वैशाखको पहिलो साताभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो। एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाहेक अन्य विषयमा करिबकरिब सहमति जुटिसकेको थियो। तर अध्यक्षको विषयमा भने सहमति जुट्न सकेन।

स्रोतका अनुसार एकता वार्तामा  फोरम नेपालका दोस्रो तहका नेताहरूले एकीकृत पार्टीको अध्यक्ष उपेन्द्र  यादव हुनुपर्ने र बाबुराम भट्टराईलाई दोस्रो तहको नेताको रुपमा स्वीकार गर्न सकिने अडान राखेका थिए। तर नयाँ शक्तिका नेताहरूले पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई पहिलो स्थानमा हुनुपर्ने र दोस्रो स्थानमा यादव हुनुपर्ने अडान राखेका थिए। दुई पार्टीबीच एकता प्रक्रिया अघि बढिरहेका बेलामा नयाँ शक्ति पक्षधर नेताहरूले भट्टराई अध्यक्ष हुनेगरी एकता निर्णायक तहमा पुगेको प्रच्ाार गरेका थिए। फोरम नेपाल र नयाँ शक्तिबीच सहमति जुटाउन तीन–तीन सदस्यीय कार्यदल गठन गरिएको थियो। सो कार्यदलले पटकपटक संवाद र छलफल गरे पनि नेतृत्वमा सहमति जुटाउन नसकेपछि  शुक्रबार फोरम नेपालका अध्यक्ष यादव र नयाँ शक्तिका संयोजक भट्टराईल संयुक्त विज्ञप्ती जारी गरी ३ सदस्यीय एकता संयोजन समिति गठन गरेको घोषणा गरे।

दुई पार्टीले एकता संयोजन समिति गठन गरेकै दिन गत  शुक्रबार नयाँ शक्तिले चुनावमा जान सकिने निर्णय गर्‍यो। दुई पार्टीबीचको एकता तत्काल अघि बढ्न नसक्ने स्थिति भएपछि नयाँ शक्तिका संयोजक भट्टराईले चुनावमा जान सकिने निर्णय गरेका थिए। फोरम नेपालका अध्यक्ष यादवले चुनावको कडा विरोध गर्दै आएका छन्।

फोरम नेपाल स्रोतका अनुसार स्थानीय चुनावअघि दुई पार्टीबीच एकता हुने सम्भावना कम छ । ‘हाम्रो पार्टी स्थापित भइसकेको  छ।  नयाँ शक्तिको नेतृत्वमा हामी जान सक्दैनौं,' फोरम नेपालका एक नेताले भने।

चिह्न पाए नयाँ शक्ति चुनावमा

नयाँ शक्तिको वैशाख ६ देखि ८गते सम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावमा जाने निर्णय गरेको थियो।पार्टीले चुनावमा जानका लागि निर्वाचन आयोगले दलीय आधारमा चुनाव चिह्न दिनुपर्ने सर्त राखेको  छ। आयोगबाट दलीय चुनाव चिह्न प्राप्त गर्न पार्टीले  सम्पूर्ण शक्ति प्रयोग गर्ने निर्णय पनि बैठकले  गरेको छ। नयाँ शक्तिले आँखा चुनाव चिह्न मागेको छ। आयोगले भने नयाँ शक्तिलाई दलीय चुनाव चिह्न दिन अस्वीकार गरेको छ।

‘दलीय आधारमा चुनाव लड्न चुनाव चिह्न पाउनुपर्ने मागसहित चुनावमा होमिने निर्णय गरेका छांै,' कार्यकारिणी समिति सदस्य पर्शुराम खापुङले भने, ‘दलीय आधारमा चुनाव लड्न चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय अत्यन्त अलोकतान्त्रिक छ,'

पार्टीले एक साताभित्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ।   

प्रकाशित: १० वैशाख २०७४ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App