८ वैशाख २०८१ शनिबार
राजनीति

सेलायो दल खोल्ने उत्साह

काठमाडौं- दोस्रो संविधान सभाको चुनावमा उत्साहपूर्वक भाग लिएका दलमध्ये स्थानीय चुनावसम्म आइपुग्दा आधाभन्दा बढी  हराएका छन्। नयाँ दल दर्ता हुने क्रम पनि स्वाट्टै घटेको छ। २०७० को संविधानसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मध्ये आधाभन्दा बढी दल यसपटक दर्ता भएनन्। त्यस्ता दलले कार्यालय र साइनबोर्डसमेत हटाइसकेका छन्। हराएका दलका नेतामध्ये केहीले राजनीति छाडेको घोषणा गरेका छन् भने केहीले समाजसेवामा लागेको बताएका छन्। केही दलले भने नाम  फेरेका छन्।

दोस्रो संविधानसभा चुनावमा १ सय २३ दल दर्ता भएका थिए। तीमध्ये १ सय २२ दलले निर्वाचनमा भाग लिएका थिए। यसपटक स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुने दल ८० छन्। यीमध्ये कतिपय नयाँ हुन्। २०७० सालमा तत्कालीन अन्तरिम संविधानअनुसार दल दर्ता भएका थिए। यसपटक वर्तमान संविधानअनुसार दल दर्ता भएका छन्।

संविधानसभामा एक स्थान जितेको जनता दल युनाइटेड यसपटक दर्ता भएन। सो दलका अध्यक्ष विश्वनाथ अग्रवालले राजनीति छाडेको बताएका छन् । ‘मैले राजनीति नै छाडिसकें। अब किन दल दर्ता गराउने', उनले भने।

दोस्रो संविधानसभाको चुनावमा निकै ठूलो प्रचार गरेर होमिएको नवनेपाल निर्माण पार्टी सोचेजस्तो परिणाम नआएपछि एमालेमा विलय भयो। ‘दोस्रो संविधानसभा चुनावमा दल खोलेर होमिएँ। चुनावपछि एमालेसँग एकीकरण गरें,' सो दलका अध्यक्ष मोतीलाल दुगडले भने।

संविधानसभा चुनावमा नेपाल गौरवशाली पार्टीले पनि उत्साहका साथ भाग लिएको थियो तर यसपटक दर्ता नै भएन। सो दलका अध्यक्ष भविश्वर पराजुली आफू भ्रष्टाचारविरुद्धको अभियान लागेकाले दल दर्ता नगरेको बताए। ‘२०७० सालको चुनावमा हामीले दल दर्ता गराएका थियौं तर अब यसलाई भ्रष्टाचारविरुद्धको फोरम बनाउने निर्णय गरेका छौं,' उनले भने, ‘त्यसैले हामीले यसपटक दल दर्ता गरेनौं।'

दोस्रो संविधानसभा चुनावमा भाग लिएको लिग नेपाल शान्ति एकता पार्टीले यसपटक पार्टीको नाम फेरेको छ। अध्यक्ष घनेन्द्रबहादुर बस्नेतले पार्टीको नाम फेरेर मितेरी पार्टी राखेको बताए। ‘यसपटक हामीले नयाँ नामबाट भोट मागेका छौं,' बस्नेतले भने।

दोस्रो संविधानसभा चुनावमा दर्ता भएका नेपाल विकास पार्टी र  राष्ट्रिय जन विकास पार्टी यसपटक दर्ता भएनन्।  तत्कालीन राष्ट्रिय विकास पार्टीका अध्यक्ष गुवाव मिकरानीले समय नपुगेर दर्ता नगरेको बताए। ‘निर्वाचन आयोगले दल दर्ता गर्न दिएको समयमा म भारत गएको थिएँ। फर्केर आउँदा समय सिद्धिसकेको रहेछ', मिकरानीले भने, ‘दर्ता गर्न निर्वाचन आयोगका आयुक्तसँग पनि कुराकानी गरें तर आयोगले मानेन।'

२०७० सालको चुनावमा राष्ट्रिय मधेस बहुजन समाजवादी पार्टीले पनि भाग लिएको थियो। पछि नाम फेरी राष्ट्रिय मधेस त्रिमुक्ति बहुजन समाजवादी पार्टी राख्यो। तर, न पुरानो न नयाँ, कुनै पनि नाम दर्ता गराएन। सो पार्टीका उपाध्यक्ष कुन्दन सिंहले स्थानीय चुनावमा भाग नलिने भएकाले दल दर्ता नगराएको बताए।

२०७० सालमा दलित जनजाति पार्टीको नामबाट चुनावमा भाग लिएका विश्वेन्द्र पासवानले यसपटक पार्टीको नाम फेरेर बहुजन शक्ति पार्टी राखेका छन्। निर्वाचन आयोगमा बहुजन शक्ति पार्टी दर्ता भएको छ।

२०७० सालको चुनावमा भाग लिएको राप्रपा नेपाल राप्रपासँग र राष्ट्रिय सद्भावना पार्टी तराई मधेस सद्भावना पार्टीसँग एकीकृत भएका छन्। यसैगरी २०७० सालको चुनाव भाग लिएका मंगोल नेसनल अर्गनाइजेसन, जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स, जनयुनिटी कोअपरेटिभ, नेपाल न्यायिक दल र संयुक्त राष्ट्रवादी मोर्चा यसपटक दर्ता भएनन्। नेपाल नागरिक पार्टी पनि यसपटक दर्ता भएन। नागरिक पार्टीका अध्यक्ष कृष्णहरि अधिकारीले ठूला दलसँग एकीकरण प्रयास भएकाले दल दर्ता नगरेको बताए। ‘थ्रेस होल्डका कारण कुनै ठूलो दलसँग एकीकरण गर्दैछौं। त्यसैले यसपटक दर्ता गरेनौं,' उनले भने।

यसपटक दर्ता नहुनेमा हरियाली पार्टी नेपाल, सोसल रिपब्लिकन पार्टी र नेपाल गणतान्त्रिक एकता पार्टी पनि छन्। यसैगरी अमर यादवले नेतृत्व गरेको तराई मधेस फोरम, बिर्सुलाल उरवले नेतृत्व गरेको नेपाल जनसमावेशी पार्टी, रामबाबु सिंहले नेतृत्व गरेको विश्व सत्यवादी पार्टी, रामभक्त लिम्बूले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चा, शरतचन्द भट्टराईले नेतृत्व गरेको नेपाल राष्ट्रिय यातायात विकास दल, हीरामणि पौडेलले नेतृत्व गरेको सहकारी पार्टी, नारायण घिमिरले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी, युवराज शाहले नेतृत्व गरेको राष्ट्रिय एकता पार्टी पनि यसपटक दर्ता भएनन्।

यसपटक दर्ता नहुनेमा सञ्जय मिश्रले नेतृत्व गरेको नेपाल युवा किसान पार्टी, कमल राईले नेतृत्व गरेको नेपाल शान्ति समाज दल, रेसमराज न्यौपानेले नेतृत्व गरेको श्रमिक जनता पार्टी नेपाल, धनबहादुर कुँवरले नेतृत्व गरेको ओम सेना नेपाल, गुरुदेव कामतले नेतृत्व गरेको नयाँ संघीयता जनधारणा पार्टी, विजय तिम्सिनाले नेतृत्व गरेको युनाइेटड ग्रिन अर्गनाइजेसन, जीवन शाहले नेतृत्व गरेको लोकतान्त्रिक पार्टी नेपाल पनि छन्।

रमेश राउतले नेतृत्व गरेको गरिब एकता समाज पार्टी नेपाल, सूर्यबहादुर खड्काले नेतृत्व गरेको नेपाल जनभावना पार्टी र गंगाप्रसाद महराले नेतृत्व गरेको बहुजन समाज पार्टी पनि यसपटक दर्ता भएनन्।

निर्वाचन आयोग कानुन विभागका घनचन्द्र तिमिल्सिनाले नेपालको संविधान २०७२ को धारा २६९ र २७१ अनुसार स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ता भएको बताए। यी दुई धारामा दल दर्तासम्बन्धी व्यवस्था छ।

प्रकाशित: १० वैशाख २०७४ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App