coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आकांक्षी बढी भएपछि एमालेमा आन्तरिक चुनाव

पोखरा- स्थानीय तह निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिकामा उम्मेदवार चयनका लागि दलहरूले अन्तिम कसरत गरिरहेका छन्। मेयर र उपमेयरका लागि अधिक आकांक्षी भएपछि उम्मेदवार चयनमा दललाई हम्मेहम्मे भएको छ। सहमतिमा मेयर र उपमेयरका उम्मेदवार छान्न नसकेपछि एमालेले आन्तरिक निर्वाचनप्रक्रिया अपनाएको छ।

सहमतिमा उम्मेदवार चयन गर्न नसकेपछि एमालेले शुक्रबार राति निर्वाचन गरेको छ। एमाले कास्की प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीका अनुसार मेयरमा एक महिलासहित आठ आकांक्षी थिए। एक मात्र महिला आकांक्षी मित्रकुमारी गुरुङ (सुवेदी) सर्वसम्मत चयन भइन्। बाँकी आकांक्षीमध्ये सबैभन्दा बढी मत मानबहादुर जिसी र कृष्ण थापाले पाए। मेयरका लागि सुवेदी, जिसी र थापाको नाम सिफारिस गरिने भएको छ।  ४ सय ५७ मतदाता मध्ये ३ सय ९९ मत खसेकोमा जिसीले २ सय ४६ र थापाले २ सय २१ मत पाएका छन्।

‘एक महिला सर्वसम्मत हुनुभयो। बाँकी सात जनाबाट दुई छान्न हामीलाई हम्मेहम्मे पर्‍यो,' अधिकारीले भने, ‘त्यही भएर निर्वाचन प्रक्रिया अपनाएका हौं।' निर्वाचनपछि सर्वाधिक मत ल्याएका दुईसहित एक महिला गरेर तीन जनालाई प्रदेश हुँदै केन्द्रीय कमिटिमा सिफारिस गर्ने उनले बताए। ‘आकांक्षी धेरै भए। घन्टौंसम्म छलफल गर्दा पनि चयन गर्न सकेनांै। त्यही भएर निर्वाचनमा जान बाध्य भयौं,' उनले भने। उनका अनुसार मेयरका अन्य आकांक्षीमा श्रीनाथ बरालले ११७, राजीव पहारीले ८५, पुष्पज्योती ढुंगानाले २०, नारायणप्रसाद बाँस्तोलाले १३ र मदनकाजी श्रेष्ठले १३ मत पाए।

त्यस्तै उपमेयर छान्न पनि आन्तरिक निर्वाचन भएको छ। उपमेयरमा पनि सात महिला आकांक्षी थिए। तीमध्ये प्रभा कोइराला (२७५), मञ्जु गुरुङ (२११) र देवका पहारी (१५६) चुनिएका छन्। उपमेयरका अन्य आकांक्षीमध्ये पोखरा–११ कि मीना गुरुङ (१३४), उमा परियार (११९), लामाचौरकी मीना गुरुङ (१०३) र छलीकुमारी सुवेदीले (६२) बाहिरिए।

‘हामीले मेयर र उपमेयरमा ३–३ जनाको नाम सिफारिस गरेका छौं। ती मध्ये १–१ जना उम्मेदवार बन्नेछन्,' अधिकारीले भने, ‘त्यसको टुंगो केन्द्रले लगाउनेछ।' उनका अनुसार महानगरका ३३ वडामध्ये केहीमा सर्वसम्मत अध्यक्ष र सदस्य चयन भएको र सर्वसम्म नभएका केही वडाका लागि तीनतीन जनाका दरले सिफारिस आएको बताए। कतिपय वडामा तीनभन्दा बढी आकांक्षी रहेकोले मिलाउने प्रयास भइरहेको उनले बताए। कास्कीका चार गाउँपालिकामा उम्मेदवार चयनमा समस्या नरहेको उनले बताए।

 कांग्रेसमा पनि महानगरको मेयर र उपमेयर छान्न रस्साकस्सी चलिरहेको छ। आकांक्षी बढी भएपछि उम्मेदवार चयनमा कांग्रेसलाई धौधौ परेको हो। मेयरका लागि कांग्रेसमा कम्तीमा दस आकांक्षी देखिएका छन्। तीमध्ये पछिल्लो समय सबैभन्दा बढी चर्चामा देवराज चालिसे छन्। निर्वाचनमा होमिनका लागि उनले त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पदबाट राजीनामा समेत दिएका छन्।

‘पूर्णकालीन कार्यकर्ता हुनका लागि मैले त्रिवि सेवाबाट राजीनामा दिएको हुँ,' चालिसेले भने, ‘पार्टीमा लागेकाले आइपर्ने कुनै पनि जिम्मेवारीबाट भाग्न मिलेन।' उनी त्रिविमा २०५७ सालमा स्थायी भएका थिए। कांग्रेस कास्कीभित्र प्रखर वक्ताको रुपमा उनी परिचित छन्। चालिसेलगायत दस जना मेयरका आकांक्षी देखिएका छन्।

कांग्रेस कास्की प्रचारविभाग प्रमुख नवीन सिग्देलका अनुसार क्षेत्रीय कार्यसमितिले शनिबारसम्म गाउँपालिका, गाउँपालिका वडा र महानगरका वडामा उम्मेदवारको टुंगो लगाउन निर्देशन दिएको थियो। त्यस्तै १२ गतेसम्म महानगरका मेयर र उपमेयर सिफारिस गर्ने तयारी पनि हो। तर आकांक्षी बढी भएकाले मिलाउन हम्मेहम्मे परेको सिग्देलले बताए। ‘उम्मेदवार चयनका लागि आन्तरिक तयारी भइरहेको छ। अकांक्षी बढी छन्। त्यसले गर्दा मिलाउन समय लागेको हो,' सिग्देलले भने, ‘सकेसम्म सर्वसम्मत गर्न खोजेको हो।'

माओवादी केन्द्रले पनि उम्मेदवार चयनका लागि अन्तिम तयारी गरेको बताएको छ। कास्की अध्यक्ष दीपक कोइराला अझंै केही दिन उम्मेदवार चयन नहुने बताउँछन्। ‘आकांक्षी पनि बढी नै छन्। महिला, जनजातिसहित समावेशी बनाउनका लागि पनि मेहनत गर्नुपरेको छ,' उनले भने, ‘अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्नेमै छलफल भइरहेको छ।' सहमतिमै उम्मेदवार छानिने उनले बताए।

प्रकाशित: १० वैशाख २०७४ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App