coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रमुख पदमा महिला : चर्चा मात्रै!

इलाम- जिल्लाका राजनीतिक दलहरू यतिबेला आउँदो स्थानीय तहको चुनावका लागि उम्मेदवार चयन गरिरहेका छन्। तर, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्ष पदमा महिलाको नाम भने चर्चामा आउने र सेलाउने गरिरहेको छ।

एमालेले जिल्लाका १० वटै स्थानीय तहका उम्मेदवारको नाम सिफारिस गर्ने टुंगो लगाइसकेको छ जसमा इलाम नगरपालिका प्रमुखमा महेश बस्नेत र देउमाई नगरपालिका प्रमुखमा सूर्य पोख्रेल उम्मेदवारका लागि सर्वसम्मत भएका छन्। सन्दकपुर गाउँपालिका प्रमुखको उम्मेदवारमा उदय राई र माङ्सेबुङ गाउँपालिका प्रमुखको उम्मेदवारमा सिफारिस भएका छन्।

सूर्याेदय नगरपालिकामा मेयरको उम्मेदवारका लागि खिनु लङ्वा लिम्बूको नाम चर्चामा छ तर उनीसँगै तीन पुरुषको नाम पनि चर्चामा रहेकाले महिला प्रमुखको सिफारिस निश्चित छैन।

एमालेका अनुसार सर्वसम्मत हुन नसकेका नगर र गाउँपालिामा दुई वा त्यसभन्दा बढी संख्यामा नाम सिफारिस हुँदैछ। तर, सम्भावितको सूचीमा महिलाको नाम छैन।

एमाले जिल्ला कमिटी सचिवालय सदस्य नवराज शंकरले नगरप्रमुखमा एक महिलाको नाम अन्य पुरुषसहित सिफारिस हुन लागे पनि गाउँपालिकामा महिलाको नाम नआएको बताए।

एमालेले सूर्याेदय नगरपालिका १४ मा वडाध्यक्षको उम्मेदवारका लागि मुना राईको नाम सर्वसम्मत छानेको छ। जिल्लाका ८१ वडामध्ये धेरैमा एमालेले आफ्ना उम्मेदवारको नाम टुंग्याइसकेको जनाएको छ।

माओवादी केन्द्रले जिल्लाका केही नगर र गाउँपालिकाका उम्मेदवारको नाम सर्वसम्मत चयन गरे पनि बाहिर ल्याएको छैन। उसले चैत २४ मै उम्मेदवारको टुंगो लगाइसक्ने भने पनि अहिलेसम्म सार्वजनिक भएको छैन।

माओवादी स्रोतका अनुसार पार्टीले इलाम नगरपालिकाको मेयरमा प्रभाष शर्मा, सूर्याेदय नगरपालिकाको मेयरमा छविराज राई र माई नगरपालिकाको मेयरमा भक्त लुंगेलीलाई उम्मेदवार बनाउने टुंगो करिब–करिब लगाइसकेको छ। तर, कुनैमा पनि महिला मेयर  छैनन्। यसअघि इलाम नपामा टीका घिमिरे र माई नपामा उर्मिला तामाङको नाम चर्चामा थियो।

माओवादीले सन्दकपुर गाउँपालिका प्रमुखमा प्रेम नाछिरिङ राई, रोङमा नवराज कट्टेल, फाकफोकथुममा राजकुमार गोदार, चुलाचुलीमा तुला लावती र माङ्सेबुङमा लक्ष्मण राईको नाम सर्वसम्मत रूपमा उम्मेदवारका लागि टुंगो लगाइसकेको छ।

माओवादीले पनि कुनै तह (नपा र गाउँपालिका) मा महिलालाई मेयर वा प्रमुखको उम्मेदवार बनाउने सम्भावना न्यून छ। माओवादी इलामका प्रचार संयोजक अशोक राईले चुलाचुली गाउँपालिका वडा–४ मा शुभमाया राईलाई वडाध्यक्षका लागि सर्वसम्मत सिफारिस गरेको जानकारी दिए। ‘अन्य वडाध्यक्षमा महिलाको नाम आए पनि अहिलेसम्म टुंगो लागिसकेको छैन,' उनले भने।

चैत २५ मै उम्मेदवार छानिसक्ने दाबी गरेको कांग्रेसले जिल्लाका कुनै पनि तहमा टुंगो लगाउन सकेको छैन। कांग्रेस जिल्ला सचिव निरोज खड्गीले यसै साता उम्मेदवारको खाका आउने बताए। ‘व्यापक छलफल भइरहेको छ, टुंगो लागिसकेको छैन,' उनले भने।

कांग्रेसले पनि जिल्लाका १० वटै स्थानीय तहको प्रमुख पदमा महिलालाई स्थान दिने सम्भावना कम छ। इलाम नगरपालिकाको प्रमुख पदमा विष्णु दाहालको नाम चर्चामा छ भने पार्टी सभापति हिमालय कर्माचार्य र सचिव खगेन्द्र देवानलगायत पनि आकांक्षी रहेको कांग्रेस स्रोतले जनाएको छ।

जिल्लाका अन्य तीन नगरपालिका र ६ गाउँपालिकाका प्रमुखमा पनि महिलाको नाम चर्चामा छैन।

‘क्षमता देखाउन बागी उठ्छु'

नेपाली कांग्रेस महासमिति सदस्य विष्णु दाहालले आफू इलाम नगरपालिकामा मेयरको दाबेदार भए पनि त्यस पदमा उम्मेदवार नबनाउने जानकारी आएको नागरिकलाई बताइन्। पुरुषको तुलनामा महिला सक्षम हुँदैनन् भन्ने भ्रमले गर्दा दलहरूले महिला नेतृत्व दिन नचाहेको उनको भनाइ छ।

आफूलाई इलाम नगरपालिकाको मेयर पदमा पार्टीले उम्मेदवार नबनाए स्वतन्त्र रूपमा भए पनि उम्मेदवार बन्ने उनले बताइन्। ‘महिलालाई अवसर नदिने अनि प्रमुख पद हाँक्न सक्दैनन् भन्ने?,' उनले भनिन्, ‘नेतृत्वमा रहेका पुरुषको यो भ्रम चिर्न मेयर पदका लागि बागी भए पनि उठ्छु।'

माओवादी केन्द्रकी जिल्ला सहसंयोजक उर्मिला तामाङले भनिन्, ‘महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने होइन तर, समाजको बुझाइ नै महिला कमजोर हुन्छन् भन्ने छ, जुन गलत हो।'

नेतृत्व तहले महिलालाई कमजोर ठान्ने गरेकाले नै स्थानीय तह प्रमुखमा महिला उम्मेदवार हुने सम्भावना कम हुँदै गएको उनले बताइन्। ‘यो माओवादीको मात्र होइन, सबै दलको समस्या हो', उनले भनिन्।   

प्रकाशित: १० वैशाख २०७४ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App