coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रालयमा तामझाम

काठमाडौं- प्रमुख सत्तासाझेदार नेकपा माओवादी केन्द्रले साथ छाडेपछि अल्पमतमा परेको केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसक्दा मन्त्रीहरू भने बाँकी अवधि तामझामपूर्ण बनाउन जुटेका छन्। माओवादी केन्द्र हटेसँगै रिक्त मन्त्रालयको समेत जिम्मेवारी थपिएका उनीहरू समारोह नै गरी मन्त्रालय प्रवेश गर्दै छन्।

श्रम तथा रोजगारमन्त्री दीपक बोहोरा बिहीबार दिउँसो आपूर्ति मन्त्रालय सम्हाल्न पुगे। उनको स्वागतमा मन्त्रालयअघि भर्‍याङको गेटमा फूलसहित दुई घडा सजाएर राखिएका थिए। बोहोरालाई नयाँ मन्त्रीलाई जत्तिकै स्वागत–सत्कार गर्न कर्मचारी तम्तयार थिए। उनी दिउँसो २ बजे मन्त्रालय पुगे।

मन्त्रालयका कर्मचारीले बोहोरालाई फूलमाला, खादा पहिर्‍याए। माहोल हेर्दा लाग्थ्यो– उनी नयाँ जिम्मेवारी थपिएका पुरानै मन्त्री नभएर नवगठित मन्त्रिमण्डल सदस्य हुन्। उनी कार्यालयमा आधा घन्टाजति बसेर कर्मचारीलाई निर्देशन दिन पनि भ्याए। मन्त्रालय पुग्नुअघि उनका नाममा 'नेमप्लेट' तयार भइसकेको थियो। मन्त्रीका नाम उल्लेख हुने सबै स्थानका पुराना विवरण सच्याइसकिएको थियो।

मन्त्री बोहोरालाई निमित्त सचिव आनन्दराम रेग्मीले गेटबाटै स्वागत गरेर कार्यकक्ष लगे। अनि मन्त्रालयको गतिविधि 'ब्रिफिङ' गरे।

नौ महिनाअघि वाणिज्यबाट फुटेको आपूर्ति मन्त्रालयले दसैंमा चिनीको भाउ नबढ्ने,  रोपाइँमा मल अभाव नहुनेमा आश्वस्त पारी कर्णालीमा चामल पुर्‍याउन नसक्नुको विवशताबारे पनि मन्त्रीलाई जानकारी गराइएको निमित्त सचिव रेग्मीले बताए।

उनले भने, 'मन्त्रीज्यूलाई महŒवपूर्ण फाइल सदर गराउन पाइयो।' आगामी भदौ १६ र १७ मा नेपालमा 'सार्कस्तरीय फुड बैंक बोर्ड बैठक' बस्ने निर्णय सदर गराइएको रेग्मीले जानकारी दिए।

परराष्ट्र, कृषि मन्त्रालयबाट सोमबारै काम सकिएर आएको फाइल निवर्तमान मन्त्री गणेशमान पुनसमक्ष पुग्न पाइसकेको थिएन। पार्टीले सरकार छाडेसँगै उनी बुधबार मन्त्रालयबाट बिदा भई सहसचिवको गाडीमा घर पुगेका थिए।

मन्त्री बोहोराले कठिन परिस्थितिमा मन्त्रालय सम्हाल्न आइपुगेको बताउँदै कर्मचारीलाई आवश्यक निर्देशन दिए। उनले भने, 'जनताको चुलोसँग सम्बन्धित यो मन्त्रालयमा के समस्या छ? तपाईंहरूसँग सहजीकरण गर्न आएको छु।'

मन्त्रालयका प्रवक्ता समेत रहेका रेग्मीले जोसुकै मन्त्री आए पनि आफूहरूले स्वागत गर्नुपर्ने बताए। उनले भने, 'राजनीति र प्रशासनबीच तटस्थता हुनुपर्छ। नियम कानुनअनुसार प्रशासन, सुशासनको प्रत्याभूति हुनुपर्छ।'

अन्य मन्त्रालय सुनसान

सत्तागठन्धन त्यागेसँगै नेकपा माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाएपछि मन्त्रालय सुनसान बनेका छन्। सिंहदरबारमा दिनहुँजसो नेता, कार्यकर्ता, सेवाग्राहीको भिड लाग्ने मन्त्रीका सचिवालय कक्ष रित्ता छन्।

बिहीबार दिउँसो ऊर्जा मन्त्रालय पुग्दा त्यहाँ नयाँ मन्त्रीको नाम टाँसिसकिएको थियो तर मन्त्री भने पुगेका थिएनन्। उक्त मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ। मन्त्रालयमा कार्यरत एक कर्मचारीले मन्त्री शुक्रबार मात्र आउने हल्ला सुनेको बताइन्।  मन्त्री नहुँदा मन्त्रालयमा काम अघि नबढ्ने कर्मचारी बताउँछन्।

नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले बुधबार सामूहिक राजीनामा दिएका थिए। रिक्त मन्त्रालयमा सत्तागठबन्धका अन्य मन्त्रीलाई जिम्मेवारी दिइएको थियो।

प्रधानमन्त्री ओलीले माओवादी मन्त्रीले छाडेका आठ मन्त्रालयमा जिम्मेवारी तोकेका थिए। प्रधानमन्त्री आफैंले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीसमेत लिएका छन्। त्यसै गरी उपप्रधानमन्त्री भीम रावललाई गृह, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई वन तथा भूसंरक्षण, अर्थमन्त्री विष्णु पौडेललाई ऊर्जा मन्त्रालय, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेललाई शिक्षा मन्त्रालय, भूमि सुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बालाई सिँचाइ मन्त्रालय, पशुपक्षी विकासमन्त्री शान्ता मानवीलाई कृषि मन्त्रालय र श्रममन्त्री दीपक बोहोरालाई आपूर्ति मन्त्रालयको जिम्मेवारी थपिएको छ।

प्रकाशित: ३१ असार २०७३ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App