७ वैशाख २०८१ शुक्रबार
कला

‘घामपानी'मा भिज्दा

पत्रकार एवं चलचित्र समीक्षक दिपेन्द्र लामाको ‘घामपानी' हेरिसकेपछि प्रायः दर्शकको प्रतिक्रिया हुने गरेको छ– नेपाली समाजको मौलिक कथा। नयाँ वर्ष २०७४ को थालनीलाई साइत पारेर प्रदर्शन सुरु भएको यो चलचित्रले हाम्रो समाजका भन्न बाँकी कथाको सम्भावनालाई प्रस्फुटित गरेको छ।

नेपाललाई हामी बाह्य जगतसँग बहुभाषी, बहुसांस्कृतिक र वहुजातीय मुलुकका रूपमा चिनाउने गर्छौं। यही बहुलता हाम्रा निम्ति सशक्त पाटो हुन्छ भन्ने अर्को एउटा उदाहरणका रूपमा पनि घामपानीलाई लिन सकिन्छ। देशभर छरिएर रहेका ५९ जनजाति समुदायमध्ये तामाङको उपस्थिति उल्लेख्य छ। अझ जनजाति समुदायमा तामाङको उपस्थिति तेस्रो ठूलो समुदायका रूपमा रहेको छ भने त्यसैसँग जोडिएका तर नसुनाइएको प्रसंग रोचक हुने नै भयो।

घामपानीमा जसरी तामाङ संस्कृति, बिहेबारी र अन्य चालचलनलाई प्रस्तुत गरिएको छ, त्यसले अरुलाई समेत आकर्षण दिन्छ। वास्तवमा जातजातिका कथा र संस्कार बोकेका यस्तै सिनेमा बने भने त्यसले हाम्रो राष्ट्रिय भावधारालाई अझ बलियो बनाउनेछ। घामपानी यस अर्थमा पनि सशक्त सिनेमा बन्न पुगेको छ।

मध्यमाञ्चल क्षेत्रअन्तर्गतको उपत्यकाआसपास क्षेत्रमा तामाङको बसोबास बढी छ। अन्य जाति तथा जनजाति समुदायसँग यहाँ सदियौँदेखि बस्दै आए पनि यिनका बारेमा कमै लेखिएको वा चलचित्रमा प्रस्तुत गरिएको छ। दीपेन्द्रले यही बस्तीको एउटा साझा कथा घामपानीमार्फत् सार्वजनिक गरेका हुन्। त्यो कथामा तामाङ र बाहुन समुदायका भावना र भावावेशलाई प्रस्तुत गरिएको छ।

कुनै बेला नागरिक समाचार कक्षकै एउटा सदस्य रहेका दीपेन्द्रले एकजना तामाङ र एक जना बाहुन साथीको मित्रता र तिनका सन्तानबीचको प्रेम सम्बन्धबाट उत्पन्न उतारचढावको कथा मौखिकरूपमा यो पंक्तिकारलाई सुनाउँदा स्वाभाविकजस्तो मात्र लागेको थियो। तर, जब उनको निर्देशकीय क्षमताबाट यो कथा क्यामेरको प्रयोगले लेखियो, निकै दिनसम्म मनमा ती दृश्य खेलिरहेका छन्।

हाम्रो समाज वास्तवमै विभिन्न जातजातिसँग मिसिएर बनेको क्वाँटीजस्तो छ। त्यसभित्रका सम्बन्धका कथा पनि उस्तै रोचक छन्– अनेकन स्वादको सम्मिश्रणजस्ता। त्यसमा पनि घामपानीमार्फत् पस्किएको प्रेमकथा त नेपाली समाजको मौलिक प्रकृति पनि हो। ‘भोकालाई भोजन, निद्रालाई ओच्छ्यान, पिरतिलाई जात छैन' भन्ने गीत गाउँदै हिँडे पनि जातीय पर्खालले छेकारो मारेको जताततै देख्न सकिन्छ। तर, यी सामान्य रूपमा देखिएका कथालाई बान्की पारेर बताउन भने सकिएको छैन।

वर्षौंदेखि हामीले हिन्दी र अंग्रेजी सिनेमाका आफ्नै बान्कीका प्रेमकथालाई सिनेमाको पर्दामा हेर्दै आएका छौँ। प्रायः ती मसला सिनेमामा दोहोरिइरहने दृश्यको आधिक्य हुन्छ। कुनै उत्सुकता भन्दा पनि एउटा नियमित मसलाको माध्यमबाट दर्शक तानिराख्ने काम हुन्छ। तर, दीपेन्द्रको घामपानीसम्म आइपुग्दा पछिल्ला दिनका नेपाली सिनेमाले लिएको मसला मार्का हिन्दी सिनेमाको बाटोभन्दा पृथक छ।

पछिल्ला दिनमा नेपाली सिनेमाहरूले पछ्याउँदै आएको शैली भिन्न छ। एउटा नायकले दर्जनौँ खलनायकलाई धुलाइ गर्नु, नायिकासँग अनायासै आँखा जुध्नु, अन्त्यमा तिनको मिलन हुनुले सिनेमा हेरुञ्जेल रमाइलो गराए पनि सकिएपछि कुनै छाप छाड्न सक्दैन। सिनेमाको कथाले एकै छिन सोच्न बाध्य पारेन भने त्यसलाई अर्थपूर्ण र प्रभावकारी मान्न सकिन्न।

पशुपतिप्रसाद, छक्कापन्जाजस्ता पछिल्ला नेपाली सिनेमाले नेपाली माटोको सुबास बोक्न थालेका छन्। हो, त्यसैको परिणाम स्वरूप दर्शकलाई सिनेमाघरसम्म डोर्‍याउन पनि सफल छन्। कुनै बेला सिनेमामा लगानीकर्ता खोज्नुलाई ‘मुर्गा फसाउने' कसरतका रूपमा लिने गरिएकोमा अब यो पनि एउटा लाभदायी क्षेत्रमा रूपान्तरित हुन थालेको देखिन थालेको छ। लगानी उठ्ने मात्र होइन मुनाफा पनि हुने देखिएपछि अन्य राम्रा सिनेमाका लागि बाटो खुल्छ। छक्कापन्जाले राम्ररी कमाइ नगरेको भए पछि आउने नेपाली सिनेमाका लागि प्रेरणा हुने थिएन।

केही नेपाली सिनेमा हेरेर फर्केपछि समय र स्रोतको नोक्सानीले थकथकी लागेको अनुभव हामी धेरैलाई छ। घामपानीसम्म आइपुगेपछि नेपाली सिनेमा भन्नासाथ ओठ लेप्राउनु पर्ने अवस्थामा परिवर्तन आएको छ।

नवीन सुब्बालगायतका निर्देशकले अघि सारेको ‘नुमाफुङ'जस्ता कथाले पक्कै पनि नेपाली स्वाद परिवर्तन गर्न भूमिका खेलेका छन्। त्यस्ता कथा बेलाबेलामा आए पनि निरन्तरता पाउन सकेका छैनन्। बेलाबेलामा नेपालीबाहेकका अन्य भाषामा पनि सिनेमा बन्छन्। तिनका कथा आफैमा रोचक भइकन पनि आमदर्शकसम्म पुग्न सकेका हुँदैनन्।

नेपाल भाषामै थुप्रै सिनेमा बनेका छन्। एउटा भिन्न स्वाद र प्रस्तुतिका निम्ति त्यस्ता सिनेमाले समेत यो पंक्तिकारलाई सिनेमाघरसम्म तान्ने गरेका छन्। नेपाल भाषाको बुद्धकालीन कथामा आधारित ‘कृषा गौतमी' हेरेपछि लागेको थियो– यस्तो सिनेमा नेपालीमा बन्यो भने अवश्य भिन्न स्वादको अनुभूति दर्शकलाई हुने थियो। नेपाल भाषा बु‰नेका लागि भने यो सिनेमाले धेरैलाई लामो समयसम्म सिनेमाघरमा तानेको थियो।

यी प्रसंग यहाँ उल्लेख गर्नुको कारण के पनि हो भने, हाम्रो समाजमा यति धेरै विविधता र विश्वास छन् जसलाई सिनेमा वा अन्य रचनात्मक माध्यमबाट सार्वजनिक गर्न सकिन्छ। दीपेन्द्रको घामपानीले अहिलेको हाम्रो विभाजित समाजलाई जोड्ने काम समेत गरेको छ। हामी सबै अहिले बाँडिएको अवस्था छ, तर प्रेमका माध्यमबाट हाम्रो समाजलाई जोड्न सक्छ।

लडाइँझगडा, मारमुंग्री आदिका लागि घामपानी हेर्न खोज्ने निराश हुन सक्छन्। कतिपयलाई यो कथाको पहिलो आधा भाग केही ढिलो अघि बढेको अनुभव पनि हुन सक्छ। तर सेट, डिजाइन आदिमा ठूलो खर्च नगरेर पनि यति सुन्दर सिनेमा बन्छ भन्ने उदाहरण पनि हो यो सिनेमा।

पछिल्लो समय नाटकबाट सिनेमामा आएका कलाकारहरूको प्रस्तुतिले पनि सिनेमामा जीवन्त अभिनय देख्न पाइएको छ। कुनै बेला सिनेमामा सुनिने संवाद कुन उपग्रहमा बोलिँदो हो जस्तो लाग्थ्यो। तिनका संवादमा वास्तविक जीवनको प्रतिनिधित्व कम र कल्पना वा बनावटीपना बढी हुन्थ्यो। बुद्धि तामाङले छक्कापन्जामा बोलेको ‘हैट' शब्दको छाप अहिले नेपाली समाजमा प्रशस्तै देख्न सकिन्छ। घामपानीका असई कमलप्रसाद अधिकारी बनेका अंकित खड्का त्यतिकै सम्झनलायक भूमिकामा देखिएका छन्।

दयाहाङ राई र केकी अधिकारीले घामपानीमा निर्वाह गरेको भूमिकाले हाम्रो समाजका अन्तर्जातीय विवाह गर्ने तमाम जोडीका समस्यालाई उजागर गरेका छन्। यी दुईजस्तै अन्य कलाकारलाई समेत सहज रूपमा उपस्थित गराउन सक्नु निर्देशकीय विशेषता हो।

नेपाली दर्शकदेखि सिनेमा निर्माता दुवैथरी विश्वव्यापीकरणको प्रभावमा छन्। नेपाली दर्शकले अहिले बलिउड वा हलिउड मात्र होइन अन्य देशका सिनेमा पनि उत्तिकै हेर्छन्। नेपाली दर्शकले चिनियाँ, कोरियाली वा अन्य मुलुकको सिनेमा हेरेर स्वाद बदलिसकेका छन्, जसरी हामी अचेल नियमित दालभात मात्र होइन पिज्जा, पास्ता वा अन्य भोजनप्रति पनि उत्तिकै तानिएका छौँ। दर्शकको स्वाद बदलिएको छ भने निर्माता–निर्देशकको कथाशैली र निर्देशनको ढाँचा पनि परिवर्तन हुनुपर्छ। त्यसलाई घामपानीलगायतका सिनेमाले आत्मसात गरेका छन्।

हाम्रा गाउँघर, संस्कार–संस्कृति सिनेमाको पर्दामा देखाउँदा झनै आकर्षक लाग्छन्। कुनै पनि संस्कृतिलाई बलियो बनाउन र त्यसलाई पछ्याउन आकर्षित गर्ने प्रभावशाली माध्यम सिनेमा हो। हलिउड वा बलिउड फेसन, खानपान, व्यवहार आदिका लागि ‘ट्रेन्ड सेटर' पनि हुन्। भारतमा हिन्दीलाई व्यापक बनाउने प्रोजेक्ट नै सिनेमाले बोकेको अनुभूति हुन्छ।

घामपानीमा जसरी तामाङ संस्कृति, बिहेबारी र अन्य चालचलनलाई प्रस्तुत गरिएको छ, त्यसले अरुलाई समेत आकर्षण दिन्छ। वास्तवमा जातजातिका कथा र संस्कार बोकेका यस्तै सिनेमा बने भने त्यसले हाम्रो राष्ट्रिय भावधारालाई अझ बलियो बनाउनेछ। घामपानी यस अर्थमा पनि सशक्त सिनेमा बन्न पुगेको छ।

सिनेमा समीक्षकको रूपमा दीपेन्द्रले अरुका कामलाई लिएर ‘यो भएन र त्यो भएन' भनी जसरी आलोचना गर्थे, त्यो आलोचना गर्ने ठाउँ उनले अरुलाई दिएका छैनन्। घामपानीमार्फत् निर्देशकीय यात्रामा अघि बढेका लामाले देखाएको सम्भावना भविष्यका अन्य सिनेमामा पनि प्रतिबिम्बित हुनेछ भन्ने आशा यहाँ गर्न सकिन्छ।

प्रकाशित: ९ वैशाख २०७४ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App