६ वैशाख २०८१ बिहीबार
राजनीति

‘हाम्रा होइन, राम्रा' उम्मेदवार छान

खोटाङ- जिल्लाको लामीडाँडा गाउँपालिका–३ का  शिवराज राई सिर्जनशील, निस्वार्थी र सबैले विश्वास गर्ने व्यक्ति गाउँपालिका प्रमुख भएको हेर्न चाहन्छन्। ‘हामी चाहन्छौं, हाम्रो गाउँपालिका प्रमुख निस्वार्थ भावना भएको सिर्जनलशील होस्,' उनले भने, ‘हरेक दलले जनताको हितका लागि मरिमेटेर लाग्ने, आफ्नै गाउँमा परिवर्तन गरेर देखाउन सक्ने क्षमता भएका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ।'

जनताको नजरमा असल/खराब दुबै चरित्रका नेता उम्मेदवार बन्ने दौडधुपमा 

हरेक दलले स्थानीय निर्वाचनका लागि उम्मेदवार छान्ने कामलाई तीव्रता दिइरहेका बेला सर्वसाधारणले योग्य मेयर/उपमेयर/प्रमुख/उपप्रमुखको कामना गरिरहेका छन्। अहिले मेलापात, पानीपँधेरोदेखि सामाजिक सञ्जालमा भावी मेयर/उपमेयर/प्रमुख/उपप्रमुखको योग्यता विषयमा चर्चा चलिरहेको छ। स्थानीयका हरेक छलफल र बहसको निष्कर्ष गाउँपालिका वा नगरपालिकाको नेतृत्व गर्ने उम्मेदवार जनताले ‘सोचेको, रोजेको र चाहेको' होस् भन्ने हुन्छ। रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी निर्मला राईले जुनसुकै पार्टीबाट छानिने मेयर/प्रमुख जनताको भावना बुझ्ने र आस्थाका आधारमा जनतालाई विभेद नगर्ने हुनुपर्ने बताउँछिन्। भ्रष्टआचारण भएका, आर्थिक दुरुपयोगमा मुछिएका, मादक पदार्थ सेवन गरेर झै–झगडा गर्ने, बहुबिवाहमा संलग्न, महिला हिंसा गर्ने, फौजदारी र नैतिक पतन हुने गतिविधिमा संलग्न व्यक्तिलाई उम्मेदवारका रुपमा अघि सारेको  सर्वसाधारण देख्न सक्दैननन्। ‘देश र जनताका लागि केही गर्छु' भनेर जीवन समर्पित गर्न तत्पर हुने व्यक्तिमध्येबाटै जनप्रतिनिधि हेर्न चाहन्छन् सर्वसाधारण।

वैशाख ३१ गते तोकिएको स्थानीय तह निर्वाचनका लागि दलहरूले उम्मेदवार छनोट गरिरहँदा जनभावना अनुसार हुन नसकेको सर्वसाधारणको गुनासो छ। विजयखर्कका किसान छत्रकुमार राई गाउँमा आर्थिक समृद्धिको योजना ल्याएर रोजगारी सिर्जना गर्न सक्ने व्यक्तिलाई हरेक पार्टीले उम्मेदवार छान्न सक्नुपर्ने बताउँछन्। ‘आर्थिक रुपमा कमजोर जनतालाई रोजगारी दिने योजना ल्याउन सक्ने मान्छे छानिनुपर्छ,' छत्रकुमारले भने, ‘जनताकै घरदैलोमा सेवा सुविधा पुर्‍याउन सक्ने उम्मेदवारलाई पार्टीले अगाडि सार्नुपर्छ।'

झन्डै २० वर्षपछि हुन लागेको स्थानीय  निर्वाचनमा जनताको नजरमा असल/खराब दुबै चरित्रका नेता उम्मेदवार बन्ने दौडधुपमा छन्। खोटाङमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायत उम्मेदवार छान्ने आन्तरिक कसरतमा छन्। योग्य उम्मेदवारले जनतालाई मात्र नभई पार्टीलाई समेत हित गर्ने भएकाले  स्थान दिन हरेक दलमाथि नैतिक दबाब परिरहेको छ। ‘खराब पात्र' लाई छेक्नका लागि स्वयं राजनीतिक पार्टीले उम्मेदवारको हकमा न्यूनतम योग्यता तथा मापदण्ड बनाउनुपर्ने सर्वसाधारणको भनाइ छ।  गुटउपगुटको राजनीतिले गर्दा कतिपय अवस्थामा खराब चरित्रले पनि स्थान पाएको विगतको इतिहास छ। त्यही भएर असल नेतालाई मात्र स्थानीय तहमा निर्वाचित गर्ने वातावरण बनाउन दल सचेत हुनुपर्ने हलेसी तुवाचुङ नगरपालिका–४ च्यास्मीटारका खविराज राई बताउँछन्। ‘भर्खरै कार्यान्वयनमा आएका गाउँपालिका र नगरपालिका आर्थिक रुपमा कमजोर छन्। यसको परिवर्तन सहज छैन,' खबिराजले भने, ‘त्यही पिछडिएको गाउँको ढोका खोल्न सक्ने जनप्रतिनिधि अबको आवश्यकता हो।'

नगरपालिका वा गाउँपालिकामा कृषिको व्यावसायीकरण, पर्यटन विकास, व्यावसायिक शिक्षा, उद्योग तथा कलकारखाना खोल्ने, विकास र परिवर्तनको ‘भिजन' बोकेका व्यक्ति जनप्रतिनिधि हुनुपर्ने आवश्यकता छ। ‘भिजन' बिनाको प्रतिनिधिबाट गाउँको विकास नहुने भएकाले सर्वसाधारण असल र भिजन भएका उम्मेदवार चाहन्छन्। निर्वाचन आयोगले तोकेको उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्था र मापदण्डलाई दलले कार्यान्वयन गरे पनि खराब व्यक्तिले अवसर पाउने सम्भावना कम रहने स्थानीय बताउँछन्। स्थानीय तहको अधिकार, कार्यक्षेत्र तथा स्रोत र साधनलाई उचित तरिकाले उपयोग गर्न सक्ने नेता नेतृत्वमा आउनु आवश्यक रहेको दिक्तेल बहुमुखी क्याम्पस प्रमुख प्राध्यापक हीराकुमार राईले बताए। ‘स्थानीय तहको अधिकार र कार्यक्षेत्र व्यापक छ, यो अधिकारलाई जनताको हितमा उपयोग गर्न सक्ने व्यक्ति नेतृत्वमा पुग्न जरुरी छ,' क्याम्पस प्रमुख राईले भने, ‘गाउँपालिकामा भएका स्रोतसाधनलाई उपयोग नै गरेर समृद्धिको ढोका खोल्न सक्ने मान्छे आवश्यक छ।'

खराब व्यक्तिलाई छेक्नका लागि निर्वाचन आयोगले पनि भ्रष्टाचार, करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्रीवितरण तथा निकासी पैठारी, अपहरण वा नैतिक पतन देखिने अन्य कसूरमा सजाय पाएका, जातीय भेदभाव, छुवाछुत वा बहुबिवाहसम्बन्धी कसुरमा कैद सजाए पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष नभएको, प्रचलित कानुनले अयोग्य ठहराएका व्यक्तिलाई उम्मेदवार बन्न बन्देज लगाएको छ।

गाउँगाउँमा मतदाता शिक्षा

 स्थानीय तह निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउन खोटाङका गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। स्थानीय निर्वाचनका लागि १ गतेदेखि गाउँपालिका र नगरपालिकाका वडावडामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो। निर्वाचनसम्बन्धी उठ्ने जिज्ञासा र अस्पष्टता समाधान गर्दै आठ गाउँपालिका र दुई नगरपालिकाका मतदातालाई मतदानका लागि जागरुक बनाउन एक सय ७५ जना सामाजिक परिचालकलाई तालिम दिएर मतदाता शिक्षा स्वयंसेवकका रूपमा खटाइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

तालिमपछि गाउँगाउँ पुगेका मतदाता शिक्षा स्वयंसेवकले मतदाताको घरदैलोबाहेक मेला र हाटबजारमा पुगेर समेत मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालन गरिरहेका छन्। उनीहरूले मतदातालाई स्थानीय निर्वाचनसम्बन्धी जानकारी गराउँदै निर्वाचनमा सहभागी हुन र मतदान गर्न जान प्रोत्साहन गर्ने, मतदाताले निर्वाचनसम्बन्धी राखेका जिज्ञासा र अस्पष्टतामा स्पष्ट पार्ने, मतको महŒव बुझाएर मतदान गर्न सल्लाह दिने, स्थानीय निर्वाचन प्रणाली र सरकार गठनसम्बन्धी व्यवस्था बारे जानकारी गराउने, हरेक दलका घोषणापत्र हेर्न आग्रह गर्ने, सही तरिकाले मतदान गर्ने, मताधिकार प्रयोग गोप्यताबारे आश्वस्त पार्नेलगायत विषयमा जानकारी दिइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

एक सय ७३ मतदान केन्द्र रहेको जिल्लाका गाउँगाउँमा खटाइएका मतदाता शिक्षा स्वयंसेवक प्रत्येकलाई एक/एक हजार मतदातालाई प्रशिक्षण दिने जिम्मेवारी दिइएको जिल्ला निर्वाचन अधिकारी खत्रीले जनाए। स्थानीय निर्वाचनमा जिल्लाका एक लाख १५ हजार ६४४ मतदाताले मताधिकार प्रयोग गर्दैछन्।

प्रकाशित: ९ वैशाख २०७४ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App