५ वैशाख २०८१ बुधबार
राजनीति

चुनाव बिथोले कडा कारबाही : गृहमन्त्री

बनेपा- उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन बिथोल्न खोज्ने जोकोहीलाई कडा कारबाही गरिने बताएका छन्। धुलिखेलमा शुक्रबार आयोजित मध्यमाञ्चल क्षेत्रीय सुरक्षा सम्मेलनमा उपप्रधानमन्त्री निधिले उक्त कुरा बताएका हुन्। उनले भने, ‘सुरक्षा प्रबन्ध विश्वासिलो र भरपर्दो हुन्छ। यत्ति हुँदाहुँदै पनि निर्वाचन बिथोल्न खोज्नेलाई कडा कारवाही हुन्छ।' सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले भने, ‘उच्च मनोबल बनाएर उम्मेदवार, मतदाता, मतदानस्थल, कर्मचारी र निर्वाचन सामग्रीलाई सुरक्षा दिन तम्तयार रहनुहोला।'

३१ गते एकैपटक स्थानीय तहको चुनाव हुने दाबी गर्दै पछिल्ला घटनाक्रमको उनले जानकारी दिए, ‘मधेसी मोर्चासँग आज बिहान कुराकानी भएको छ। उहाँहरूले हामीलाई दोषी देखाउनु भयो, हामीले उहाँहरूलाई। उहाँहरूसँग तिक्तता बढेको छ। साँझ फेरि बसेर कुरा गर्दैछौं। उहाँहरूलाई मात्रै नभई प्रतिपक्षी एमालेलाई पनि लचक हुन आग्रह गरेका छौं', निधिले भने।

 गृहसचिव लोकदर्शन रेग्मीले कानुनी अड्चन बाहेकका मापदण्ड मिचेरै भए पनि सुरक्षाको विश्वसनीय वातावरण बनाउन कुनै कसुर बाँकी नराख्ने बताए। ‘निर्वाचनमा खटिने सबै सुरक्षाकर्मीको जिम्मा म लिन्छु। कर्तव्यपथमा डटेर लाग्नुस्, केन्›ीय सुरक्षा समितिले तपाईंहरूको संरक्षण गर्छ। हनुमान जसरी दायाँबायाँ बसेर तपाईंहरूको संरक्षण गर्छौं, ढुक्क हुनुस्', रेग्मीले थपे।

सम्मेलनमा निर्वाचन सुरक्षालाई मुख्य विषयवस्तु बनाइएको भए पनि अपराध नियन्त्रण, अन्तरसीमा अपराध तथा सामाजिक अपराध नियन्त्रणलगायत सुरक्षा विषयमा छलफल भएको मध्यमाञ्चल क्षेत्रिय प्रशासक शम्भु कोइरालाले जानकारी दिए।

 सम्मेलनमा सहभागी ११ वटै जिल्लाका सुरक्षा निकाय (प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, सेना र अनुसन्धान) प्रमुखले पहाडी जिल्लामा नेत्रविक्रम चन्दको माओवादीबाट निर्वाचनमा बाधा हुने नष्कर्ष निकालेका थिए। यस्तै, निर्वाचनमा सवारी साधनको अपर्याप्तता भएको र संवेदनशील ठाँउमा सुरक्षाकर्मी पुग्न हेलिकोप्टर आवश्यक रहेको बताएका थिए।

प्रकाशित: ९ वैशाख २०७४ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App