६ वैशाख २०८१ बिहीबार
राजनीति

चुनाव चिह्न : पानको पातदेखि बाँदरसम्म

सिन्धुपाल्चोक- स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक पार्टीले मात्र दलीय चुनाव चिह्न पाएका छन्। चुनावी प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन्। संसद्मा प्रतिनिधित्व गर्ने पार्टीले मात्र दलीय चुनाव चिह्न पाएका हुन्। संसदमा प्रतिनिधित्व नगरेका बाँकी नौ दललाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको हैसियतमा चिह्न दिएको छ। जिल्लाका प्रमुख पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले दलीय चुनाव चिह्न पाएका छन्। त्यस्तै जिल्लामा दर्ता भएका तराईमधेश केन्द्रित पार्टी संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरमले पनि दलीय चिह्न पाएका छन्। नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, अखण्ड नेपाल पार्टीले पनि दलीय चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्। आयोगले सिन्धुपाल्चोकका लागि क्रम संख्या ३६ लहर भएको चिह्नसहितको मतपत्र छापेको छ।

समानुपातिक मतका आधारमा संसद्मा प्रतिनिधित्व गर्ने दललाई क्रमसंख्या १ देखि ११ सम्म लहरका चिह्न छुट्याइएको छ। ११ देखि २० क्रमसंख्यासम्मको लहरका चिह्न जिल्लामा दर्ता भएका तर संसद्मा प्रतिनिधित्व नगर्ने दलका लागि व्यवस्था गरिएको छ। उनीहरूलाई फरक–फरक चिह्न दिइएको छ।

आयोगले जिल्लामा दर्ता भएका नेपाल दलित पार्टी, तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी, नयाँ शक्ति पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल जनता पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी, माले जनसमाजवादी, चुरेभावर लोकतान्त्रिकलगायतले दलीय चुनाव चिह्न पाउन सकेनन्। उनीहरूलाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चिह्न दिइएको छ। स्वतन्त्र उम्मेदवारको आँकलन गरी आयोगले जिल्लाका लागि मतपत्रको क्रमसंख्या २१ देखि ३६ सम्मको लहरमा चुनाव चिह्नको व्यवस्था गरेको छ।

 आयोगले स्वतन्त्र उम्मेदवारलाई दिएका चुनाव चिह्न निकै रोचक छन्। पानको पात, सियोधागो, हुप, सुई, बाँदर, काग, भ्यागुतो, गंगटो, चल्ला, ढिकी, फर्सी, बिरालो, छुरा, दाह्री काट्ने मेसिनलगायत धेरै चिह्न मतदातालाई हँसाउने खालका छन्।

२ लाख मतदाता, अढाइ सय केन्द्र

 स्थानीय तह निर्वाचनमा झन्डै २ लाख मतदाताले मतदान गर्न पाउने भएका छन्। जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले जिल्लामा मतदाता १ लाख ९८ हजार ६ सय ८१ रहेको बताए। यसमा पुरुष १ लाख २ हजार ४ सय ७१ र महिला ९६ हजार २ स १० छन्। २०७० को संविधानसभा निर्वाचन तुलनामा साढे २७ हजार मतदाता बढेका छन्।

आयोगले सिन्धुपाल्चोकमा १ सय ४४ मतदान स्थल तोकेको छ। त्यहाँ २ सय ५८ केन्द्र रहने अधिकृत कार्कीले बताए। अघिल्लो निर्वाचनमा भन्दा ८ केन्द्र थपिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई त्यसले काम थालिसकेको छ। जिल्लाका सबै गाउँ, नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी सुरु गरिएको छ।

प्रकाशित: ९ वैशाख २०७४ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App