७ वैशाख २०८१ शुक्रबार
समाज

पर्सा वन्यजन्तु आरक्ष रौतहटसम्मै विस्तार गर्न वनले थाल्यो पहल

रौतहट– एउटा एक सिंगे गैँडालाई समातेर विशेष तरिकाले चितवनको राष्ट्रिय निकुञ्जमा पठाएको भोलिपल्ट रौतहटको वनमा थप दुईवटा गैँडा देखिएपछि जिल्ला वन कार्यालयले रौतहटसम्म वन्यजन्तु आरक्ष केन्द्र वा वन्यजन्तु संरक्षण केन्द्र अथवा वन्यजन्तु विशेष संरक्षण क्षेत्र विस्तारको पहल थालेको छ।

रौतहटको वन क्षेत्रमा दर्जनौं संख्यामा हात्ती देखा पर्ने गरेको, हजारौं संख्यामा मृग र हरिण रहेको, हजारौंको संख्यामा नीलगाई रहेको, समय समयमा बाघ, चितुवाजस्ता वन्यजन्तुहरु निरन्तर देखा पर्न थालेपछि समातेर बुझाइरहन सम्भव नभएपछि आरक्षको विस्तार आवश्यक भएको भन्दै यस्तो पहल थालेको जनाएको छ।

‘वन्यजन्तुले बस्न चाहेकै ठाउँमा संरक्षण पाउनुपर्ने पहल थालेको छ,’ जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घ कोइरालाले भने, ‘पर्सा वन्यजन्तु आरक्षको विस्तार निजगढको जंगलसम्म भएकोले बकैया खोला पार गरेर वन्यजन्तुहरु रौतहटको जंगलमा प्रवेश गर्ने गरेका छन्।’

रौतहटको जंगलमा वन्यजन्तुको लागि उत्तम किसिमको घाँस पाइने, बालीनाली पनि खान पाउने र पानीघाटको उपयुक्तता भएकोले वन्यजन्तुहरु आरक्ष केन्द्रबाट पौराईसम्म सजिलै पुग्ने गरेको वन प्रमुख कोइराला बताउँछन्।वन्यजन्तुको संरक्षण जिल्ला वन कार्यालयको एक्लो प्रयासमा सम्भव नहुने भएको र रौतहटको जंगलमा लोभिएर तथा रमाउन आउने वन्यजन्तुलाई समातेर पठाइरहन सम्भव नभएकोले आरक्ष केन्द्रको विस्तार आवश्यक रहेको वन कार्यालयको दाबी छ। वन्यजन्तुको लागि उपयुक्त बासस्थान भएकोले आरक्ष केन्द्रको विस्तार भएमा विभिन्न जंगली जनावरको पर्याप्तता हुने र वन क्षेत्रको संरक्षण हुने विश्वास पनि वन कार्यालयको छ ।

जिल्ला वन कार्यालय रौतहटले बिहीबार चितवन राष्ट्रिय निकुञ्जका डा. कमलप्रसाद गैरे, पर्सा वन्यजन्तु आरक्ष केन्द्रका प्रमुख वार्डेन हरिभद्र आचार्य, जिल्ला वन कार्यालय रौतहटको प्राविधिक टोली, पर्सा वन्य जन्तु आरक्ष केन्द्रको नेपाली सेनाको टोली, प्रकृति संरक्षण कोषको टोली, स्थानीय प्रहरीलगायतको सहयोगमा एउटा एक सिंगे गैंडा रौतहटको हातेमालो सामुदायिक वन क्षेत्रभित्र आँपखोला जंगलमा समातेर पठाएको थियो।

गैंडालाई समात्न ५० जना मजदुर, सातवटा हात्ती, एउटा ट्रक, एक्जाभेटर, पाँचवटा सबारी साधन र विभिन्न निकायका कर्मचारी तथा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

बिहीबार गैँडा समातिएकै ठाउँमा शुक्रबार अर्को गैँडा देखा परेको र विपि पुष्पलाल सामुदायिक वन रानीगर्जा, भैँसही क्षेत्रमा अर्को गैँडा देखा परेकोले आरक्ष केन्द्रको विस्तार आवश्यक देखिएको वन कार्यालयको दाबी छ ।

आरक्ष केन्द्रको विस्तार स्थानीय कृषक, सामुदायिक वन समूह तथा जंगल क्षेत्रबाट प्रभावित समेतको सरोकारको विषय भएको नेकपा एमाले चन्द्रपुरका कृष्णप्रसाद घिमिरेको भनाइ छ । पहिलेका वर्षहरुको तुलनामा यस वर्ष वन क्षेत्रमा डढेलो निकै कम लागेकोले पनि घाँस मन पराउने वन्यजन्तुहरुको आगमन रौतहटको वनमा धेरै भएको घिमिरेको भनाइ छ।  

प्रकाशित: ८ वैशाख २०७४ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App