४ वैशाख २०८१ मंगलबार
समाज

बाढीले अरुणको दोभान थुनियो, पानी थुनिएर साढे दुई किलोमिटर तलाउ

दिपेश श्रेष्ठ/अजित तिवारी

काठमाडौं/विराटनगर- बरुण खोलामा ‘अचानक’ आएको बाढीले संखुवासभाको फ्याक्सिला गोलास्थित अरुण नदीको दोभान थुनिएको छ। अरुण र बरुण खोलाको दोभान बाढीले थुनिदा साढे दुई किलोमिटरको तलाउ बनेको छ।

जिल्ला प्रहरी प्रमुख गौतमकुमार केसीका अनुसार नदी थुनिएर भोटखोला गाउँपालिकाको स्याक्सिला गोलाका ५४ घरका १ सय ५० जना प्रभावित भएका छन्। उद्धारका लागि इलाका प्रहरी कार्यालय हेदाङ्गनाबाट सई पासङ शेर्पाको नेतृत्वमा ४५ जनाको टोलीले बिहीबार साँझ ४ बजेदेखि प्रभावित क्षेत्रमा खटिएका छन्।

हिँउ पग्लेर बग्ने बरुण नदीमा बाढीले बगाएर ल्याएको माटो, रुखबिरुवाले नदी थुनिएको डिएसपी केसीले बताए। नदी थुनिएर अरुण नदीको ७५ प्रतिशत पानी थुनिएको छ। थुनिएको बाँध फुटे फ्याक्सिन्दा, दिदिङ, चेवाबेसी, तुम्लिङटारलगायत संखुवासभा, भोजपुर र धनकुटा जिल्लाका केही वस्ती प्रभावित हुनेछन्।

हालसालै सम्पन्न दैवीप्रकोप उद्धार समितिको बैठकले काठमाडौंबाट हेलिकोप्टर मगाएर प्रभावितहरुको उद्धारमा खटिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्छ।

यता पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका डिआइजी रमेशकुमार भट्टराईले अरुण खोला थुनिएपछि त्यसबाट हुने क्षति न्यूनीकरणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताए। बरुण खोलामा आएको बाढीले ढुंगा, माटो, रुख–बिरुवा ल्याएर थुपार्दा अरुणको दोभान थुनिएको डिआइजी भट्टराईले जानकारी दिए।

‘नदी थुनिएर लामो तलाउ बनेको छ,’ डिआइजी भट्टराईले भने दुबैतर्फबाट नदी थुनिँदा तलाउको पानीको घनत्व निकै छ।’ अरुण नदीको थुनिएको तलाउ फुट्दा त्यसको असर कोसी नदीमा पनि पर्ने भएकाले पूर्व क्षेत्र प्रहरी कार्यालयले अरुण र कोसी नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिरहेको छ।

 ‘अरुण नदी पहिरोले थुनिएको होइन,’ डिआइजी भट्टराईले भने, ‘बरुण नदीमा बिहीबार साँझ धमिलो पानीको स्तर बढेको थियो, त्यसैले बाढी नै आएर अरुणको दोभान थुनिएको हाम्रो अनुमान छ।’ अरुण नदी थुनिएर बनेको बाँघ(तलाउ) जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले त्यस क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थान सार्न थालिएको छ। ‘जोखिममा पर्ने घरबाट मानिसहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ,’ डिआइजी भट्टराईले भने, ‘कोसी नदीको तटिय क्षेत्रबाट पनि मानिसहरुलाई टाढा बसाउन प्रहरी परिचालन भइसकेको छ।’

बरुण खोलामा काहाँबाट बाढी आयो? त्यो यकिन भइसकेको छैन। प्रहरीका अनुसार माथिल्लो क्षेत्रमा हिउ परेर वा पहिरो आएर बरुणमा बाढी आएको अनुमान छ। ‘नेपाली सेनालाई हेलिकोप्टरबाट बरुण नदीको माथिल्लो भाग हेर्न अनुरोध गरिएको छ,’ डिआइजी भट्टराईले भने, ‘खराव मौसमका कारण सेनाको हेलिकोप्टर मुभ हुन सकेको छैन।’

प्रकाशित: ८ वैशाख २०७४ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App