४ वैशाख २०८१ मंगलबार
समाज

प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजलमा निर्माणाधीन पानी  प्रशोधन केन्द्र (वाटर टि्रटमेन्ट प्लान्ट) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माणाधीन उक्त केन्द्रको ९३ प्रतिशत काम सकिएको आयोजना परामर्शदाता समूह उपप्रमुख प्रकाशरु› श्रेष्ठले बताए। श्रेष्ठले भने, ‘पूर्वाधार (भवन, ड्याम) निर्माण कार्य र पानी शुद्धीकरण गर्ने मेसिन तथा विद्युत् जडानको काम लगभग अन्तिम चरणमा पुगेको छ। जुलाई (साउन दोस्रो साता) महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्यका साथ काम भइरहेको छ।'

पहिलो चरणमा दैनिक साढे ८ करोड लिटर पानी शुद्धीकरण गर्ने क्षमताका ड्याम निर्माण गरिएको छ।

श्रेष्ठले साउन अन्तिम साता बागमतीको पानी ड्याममा ल्याएर परीक्षण गरिने बताए। ‘मेलम्चीको सुरुङ खन्ने काम बाँकी नै छ। मेलम्चीको पानी नआएसम्म बागमतीको पानी ल्याएर परीक्षण गर्ने तयारीमा छौं। अगस्ट (साउनको अन्तिम साता) देखि परीक्षण सुरु हुन्छ,' उनले भने।

परीक्षणकै क्रममा बागमतीको पानी शुद्धीकरण गरेर उपत्यकामा बिछ्याइएको पाइपमार्फत घरघरमा पठाइने उनले बताए। श्रेष्ठका अनुसार काठमाडौंका ८० प्रतिशतभन्दा बढी स्थानमा पाइप बिछ्याउने काम सकिएको छ। ‘शुद्धीकरण गरेपछि बागमतीको पानी पनि  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार हुन्छ,' उनले भने, ‘सुरुका केही दिन भने बिछ्याइएका पाइपका फोहोरले पानी खानायोग्य हुँदैन। फोहोर पखालिएर पाइप सफा भएपछि भने पानी सोझै पिउन योग्य हुन्छ।'

सुरुङबाट पानी आउन सुरु भएपछि भने मेलम्चीकै पानी वितरण गरिने श्रेष्ठले बताए। उनले भने, ‘असोज दोस्रो सातासम्म मेलम्चीको सुरुङबाट पानी ल्याउने लक्ष्य छ। सुरुङबाट आउने पानी जम्मा गरेर शुद्धीकरण गरेपछि मात्र उपत्यकाका घरघरमा वितरण गर्ने व्यवस्था गरिएको छ।'

श्रेष्ठले पहिलो चरणमा दैनिक साढे ८ करोड लिटर पानी शुद्धीकरण गर्ने क्षमताका ड्याम निर्माण गरिएको जानकारी दिए। श्रेष्ठले भने, ‘सुन्दरीजलबाहेक महांकाल, महाराजगञ्ज र आरुबारीमा प्रशोधन केन्द्र निर्माण गरिएको छ। खानेपानी वितरण गर्न उपत्यकाका दस ठाउँमा रिजर्भ ट्यांकीसमेत निर्माण भइरहेको छ।'

मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउने योजना भए पनि पहिलो चरणमा ८ करोड ५ लाख लिटर मात्र आउनेछ। मेलम्चीका याङ्ग्री र लार्के खोलाको पानीसमेत मिसाएपछि थप ३४ करोड लिटर पानी काठमाडौं ल्याउन सकिने आयोजनाले जनाएको छ। तर याङ्ग्री र लार्केको काम भने सुरु भएको छैन। आगामी तीन वर्षमा यी दुई परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको समितिले जनाएको छ।

प्रशोधन केन्द्र निर्माण जनवरी २०१४ बाट सुरु गरिएको थियो। सम्झौताअनुसार २१ मार्च २०१६ र थपिएको म्यादअनुसार ३१ मार्च २०१७ मा सम्पन्न हुनुपर्ने निर्माण कार्य भूकम्प, नाकाबन्दीलगायत कारण ढिला भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।  पछिल्लोपटक ठेकेदार कम्पनीको अनुरोधमा जुलाईसम्मको म्याद थप गरिएको छ।

प्रशोधन केन्द्र निर्माणका लागि पाँच करोड अमेरिकी डलर सहुलियत ऋण सहयोग उपलब्ध गराएको जाइकाले जनाएको छ। जाइकाले वार्षिक शून्य दशमलब १ प्रतिशत ब्याजमा ४० वर्षका लागि उक्त ऋण उपलब्ध गराएको हो। आयोजनाका लागि बाँकी लगानी नेपाल सरकार र एसियाली विकास बैंकले गरेेका छन्।

प्रकाशित: ८ वैशाख २०७४ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App