७ वैशाख २०८१ शुक्रबार
राजनीति

लोकतान्त्रिक फोरम र थरुहट पार्टीबीच एकीकरण, वैकल्पिक शक्ति उदयको घोषणा

दुई अध्यक्ष विजय गच्छदार र भानुराम थारु पार्टी एकता घोषणा गर्दै। तस्बिर : मदन चौधरी

काठमाडौं- विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ। राजधानीमा आयोजित एकता घोषणा कार्यक्रममा महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरिएको थियो।

३० बुँदे भनिएको घोषणा पत्रमा पहिचानवादी पक्षधरको अधिकार सुनिश्चित गर्न सडक र सदनमा कसरी दबाब दिन सकिन्छ भन्ने उल्लेख भएको बताइएको छ। सहमति पत्रमा पार्टीको नाम, झन्डा, चुनाव चिन्ह र नेता कार्यकर्ताहरुको समायोजनबारे उल्लेख भएको सांसद डा. गोपाल दहितले बताए।

उनले थरुहटको माग, मुद्दा र पहिचानवादीको अधिकार स्थापित गर्नका लागि दुई पार्टीबीच सहमति गरी पार्टी एकीकरण गरेको बताए। यो एकताले ती माग मुद्दा सम्बोधन गराउन थप बल पुग्ने सांसद दहितले बताए। 'आजको एकीकरण ऐतिहासिक हो। यो एकीकरणले थारु मधेसीका अधिकार सुनिश्चितताका लागि थप बल पुग्नेछ,' उनले भने।

त्यस्तै नेपाल लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष विजय गच्छदारले थरुहट तराई पार्टीसँगको एकता ऐतिहासिक भएको बताए। उनले थारुको मुद्दा बोक्ने थरुहट आफूसँग आबद्ध भएजस्तै आदिवासी जनजाति नेताहरु पनि सहभागी भएर यो देशमा परिवर्तनको ढोका खोल्नुपर्ने बताए।

उनले एमाले, कांग्रेस र माओवादीले देश बर्बादीभन्दा केही नगरेकाले नेपाल लोकतान्त्रिक फोरमको शक्तिले देशमा परिवर्तन ल्याउने बताए। गच्छदारले छिट्टै नै जातजाति नेताहरुलाई पनि पार्टीमा भित्र्याउने जानकारी दिए।

वैकल्पिक शक्ति उदयको घोषणा

पार्टी एकीकरणलाई दुबै पार्टीले वैकल्पिक शक्तिको उदयको रुपमा लिएका छन्। दुबै पार्टीका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ- 'संविधानसभाबाट कथित बहुमतको नाउँमा जारी गरिएको नयाँ संविधान कार्यान्वयन हुने वातावरण बन्न सकेको छैन । संविधानले आफ्नो पहिचान, अधिकार, आत्मसम्मान, न्याय र विकास सुनिश्चित गर्न नसकेको भनी ब्यापक रुपमा बहुसंख्यक नेपाली जनताबाट निरन्तर बिरोध भइरहेको छ । मुलुकको ऐतिहासिक पक्ष, समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, भूराजनीतिक वस्तुगत धरातलको विश्लेषण गरी नेपालको राष्ट्रिय राजनीतिमा बैकल्पिक शक्ति निर्माण गरी राजनीतिक स्थायित्व, समानुपातिक प्रतिनिधित्व, प्रदेशको सिमाङ्कनमा हेरफेर गरी समृद्ध नेपाल निर्माण गर्ने दृढ अठोटका साथ पार्टी एकीकरण घोषणा गरेका छौं।'

थरुहटको चरणबद्ध आन्दोलनको क्रममा टीकापुर घट्ना लगायत विभिन्न ठाउँका आन्दोलनकारीमाथि लगाइएको मुद्दा खारेजीको माग गर्दै राजबन्दीहरुलाई निशर्त रिहा गराउने, सम्पत्तिको क्षतिपूर्ति दिलाउने जस्ता जिम्मेवारी पहिलो प्राथमिकतामा रहने विज्ञप्तीमा भनिएको छ।

'थारु, आदिवासी जनजाति, मधेसी, मुस्लिम, सील्पी, अल्पसंख्यक, बिपन्न बाहुन क्षेत्री र परिवर्तनका पक्षधरहरुको आवाज बुलन्द र मुखरित गर्ने गराउने सवालमा हामी दुबै पार्टीको राजनीतिक भावना, उद्येश्य र ध्येय एउटै भएकोले पार्टी एकीकरण गर्न सहमत भएका छौं,' विज्ञप्तीमा उल्लेख छ।

गच्छदारले यसअघि शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीबीच एकीकरण गरेको थियो। 

प्रकाशित: ७ वैशाख २०७४ १६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App