coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा देखिएको एकसिँगे गैँडालाई चितवन पठाइयो

रौतहट– एक हप्तादेखि रौतहटको जंगलमा देखा पर्दै आएको एक सिँगे गैँडालाई नियन्त्रणमा लिई बिहीबार साँझ चितवन पठाइएको छ। रौतहटको वनमा एक हप्तादेखि विभिन्न स्थानमा देखिँदै आएको गैँडालाई तीन दिनको कठिन प्रयासपछि नियन्त्रणमा लिन सफल भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घ कोइरालाले बताएका छन्।

चितवन राष्ट्रिय निकुञ्जबाट आवास खोजीमा भौतारिँदै आएको एक सिँगे गैँडालाई स्थानीयले देखेर जिल्ला वन कार्यालयमा खबर गरेका थिए। धेरैजनाले गैँडालाई देखेपछि जिल्ला वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए। निकुञ्जको टोली आएपछि तीन दिनदेखि वनमा गैँडाको खोजीमा जुटेको थियो । निकुञ्जका डा. कमल प्रसाद गैरे, पर्सा वन्यजन्तु आरक्ष केन्द्रका प्रमुख वार्डेन हरिभद्र आचार्य, जिल्ला वन कार्यालय रौतहटको प्राविधिक टोली, पर्सा वन्य जन्तु आरक्ष केन्द्रको नेपाली सेनाको टोली, प्रकति संरक्षण कोषको टोली, स्थानीय प्रहरी लगायतको सहयोगमा तीन दिनको अथक प्रयासपछि एक सिंगे रौतहटको हातेमालो सामुदायिक वन क्षेत्रभित्र आँपखोला जंगलमा जिल्ला वन कार्यालयको डेढ किलोमिटर दक्षिणतर्फ विहीवार दिउँसो समातिएको थिए ।

गैँडालाई पक्राउ गर्न पचास जना मजदुर, सातवटा हाती, एउटा ट्रक, एक्जाभेटर, पाँचवटा सबारी साधन र विभिन्न निकायका कर्मचारी तथा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको वन प्रमुख कोइरालाले बताए । टोलीले गैँडालाई बेहोस बनाएर ट्रकमा लोड गरी चितवन राष्ट्रिय निकुञ्जमा विहीबार साँझ पठाइएको छ ।

एक हप्तादेखि विभिन्न स्थानमा देखा परिरहेको गैँडाको खोजीमा तस्करहरुले पनि गरिरहेको सार्वजनिक भएको थियो । गत भदौमा पनि रौतहटको जंगलमा देखिएको गैँडालाई तस्करहरुले सात वटा गोली हानी घाइते बनाएको थियो । गैँडा देखिएको सबैतिरबाट पुष्टि भएपछि भदौकोजस्तै घटना नदोहोरियोस् भनेर जिल्ला वन कार्यालय खोजीमा निकै तदारुकता देखाएको थियो । गैँडालाई जीवितै पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जमा पठाउन सफल भएकोमा निकै खुसी लागेको वन प्रमुख कोइरालाले बताए ।

प्रकाशित: ७ वैशाख २०७४ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App