coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था गरिएको छ’

काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको बताएका छन् । 

व्यवस्थापिका–संसद्को विहीबारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री निधिले २० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर लागू गरिएको उल्लेख गरे । 

जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा निकाय संलग्न रहने गरी समन्वयात्मक सुरक्षा योजना लागू गरिएको, प्रष्टताका साथ योजना बनाइएको र शान्ति सुव्यवस्था कायम गरी निर्वाचनको वातावरण बनाइएको र राजनीतिक दलले निर्वाचनको प्रचारप्रसारसमेत सुरु गरिसकेको जानकारी उनले दिए । 

निर्वाचनलाई भयरहित बनाउन सरकारको तर्फबाट कुनै पनि कसर बाँकी नराखिएको र सरकार पूर्ण क्षमताका साथ आवश्यक वातावरण बनाउन लागिपरेको उनले स्पष्ट पारे । 

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपछि पनि पूर्णरुपमा सुरक्षा प्रदान गर्ने योजना बनाइएको र लागू गरिएको उनको भनाइ थियो । 

सरकारले सामान्य, संवेदनशील र अतिसंवेदशील क्षेत्र पहिचान गरी निर्वाचनका लागि सुरक्षा निकायलाई परिचालन गरिएको जानकारी पनि उनले दिए । 

गृहमन्त्री निधिले सांसद सत्यनारायण मण्डलको घरमा भएको भनिएको आक्रमण र दुव्र्यवहारमा संलग्नमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको सदनलाई जानकारी दिए । मुलुकका विभिन्न स्थानमा भएको आगलागी, चट्याङ, पहिरोमा परेर भौतिक तथा मानवीय क्षति भएकालाई सरकारले क्षतिपूर्ति प्रदान गरेको र केही स्थानमा बाँकी रहेको भए शीघ्र राहत प्रदान गरिने पनि उनले बताए। रासस 

प्रकाशित: ७ वैशाख २०७४ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App