७ वैशाख २०८१ शुक्रबार
समाज

‘चोरेको सामान किन्न सज्जन, भलादमी र भद्रद्वारा नै मरिहत्ये’

इटहरी–समाजका सज्जन, भलादमी र भद्र व्यक्तिले चोरलाई हेलाको दृष्टिले हेर्छन भन्ने तपाईलाई लाग्न सक्छ! त्यस्ता सबै व्यक्तिलाई यदि तपाईले निष्कलङ्कको रुपमा हेर्नेहुन्छ भने कहिलेकाँही गलत पनि हुन सक्नुहुन्छ । नक्कली सुनको ढिक्का बिक्री गरेर जिन्दगी बिताई रहेका चोरी आरोपमा प्रहरी हिरासतमा रहेका एक जनाले सज्जन, भलादमी र भद्र व्यक्ति नै चोरी गरेको सामान सस्तोमा खरीद गर्न मरिहत्ये गर्ने गरेका बताएका छन् ।

इटहरी प्रहरीले पक्राउ गरेका मोरङ उर्लावारी–१ का ४३ वर्षीय राजकुमार श्रेष्ठले झुक्काएर चोरी गरी ल्याएको भन्दाभन्दै समाजका प्रतिष्ठित व्यक्ति नै सामान किन्ने गरेको बताए। ‘पोखराका ब्रिर्टिस आर्मीको घरमा काम गर्न बस्दा तलब नदिएपछि दराजमा राखेको सुन चोरेर ल्याएको भन्दा पूर्वमा समाजका प्रतिष्ठित भनिएका थुप्रैले नक्कली सुन किने’, उनले भने। राजकुमारलाई सुन ठगी गर्ने आइडिया सिकाउने दमक घर भएका सतिस गुरुङको भने मृत्यु भइसकेको  छ ।

उनका अनुसार नक्कली धातुहरुमा सुनका जलप लगाई असली सुन भनेर झुक्काउँदा पनि पूर्वका थुप्रैले किनेको बताए। एउटा नक्कली ढिक्काबाट गिरोहले दश हजारदेखि २० हजारसम्म ठगी गर्ने गरेको थियो । ‘मैले चोरेर ल्याएको भन्दाभन्दै हल्ला नगर्नु भन्दै भटाभट नक्कली सुन पूर्वका धरान, इटहरी, दमक, उर्लाबारीलगायतका बजारमा विशेषगरी ठूला सुन व्यापारीले किनेका छन्,’ उनले भने,‘म पोखरा ब्रिटिस आर्मीकोमा काम गरेको चार बर्ष भो, घर आउँदा तलब पनि दिएनन, अनि ती आर्मीको छोरीले  घर सफा गर्दा दराजको चाबी भुइँमा खसेको भेटे र दराजबाट सुन लिएर हिँडे।’ उनका अनुसार झन्डै दश तोलाको नक्कली सुनको ढिक्का सस्तैमा दिने बताएपछि भटाभट समाजका सज्जन, भलादमी र भद्र व्यक्तिहरुले खरीद गरे ।

‘नक्कली सुन बिक्री गरेकोमा मलाई कारबाही हुन्छ भने चोरेर ल्याएको भन्दाभन्दै सुन किन्नेलाई पनि कारबाही हुनुपर्छ,’ प्रहरी हिरासतमा रहेका उनले पत्रकारसामु भने, ‘त्यसरी चोरेर ल्याएको सुन भन्दापनि किन्ने पूर्वका सवैको नाम बताउन तयार छु।’ प्रहरीले राजकुमारसँग नक्कली सुन किन्ने व्यक्तिको खोजी थालेको छ।
प्रहरीले पाँच दिनअघि मात्र राजकुमारसहित धातुमा सुनको जलप लगाएर समाजका प्रतिष्ठित ठानिएका व्यक्तिलाई नक्कली सुन बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले राजकुमारका दाजु उर्लाबारीकै ४९ वर्षीय सन्तोष श्रेष्ठ र सुनसरी ववियाविर्ताका संजु शर्मालाई पक्राउ गरि मुद्दा दर्ता गरेको  छ।

पक्राउ पर्ने समूहले नक्कली सुनमा ठगी गर्नु त छँदैछ, अर्कातिर विभिन्न उपाय अप्नाएर बृद्धबृद्धालाई लठ्याएर र नसालु पदार्थ खुवाएर पनि गरगहना लुटने गरेको खुलेको  छ। पक्राउ पर्ने समूहले अहिलेसम्म इटहरी–५ का ७५ वर्षीय दलबहादुर तामाङको नगद र सुनको औठी लुटेको खुलेको  छ। यस्तै, दुई महिनाअघि इटहरीकै पश्चिम टेम्पो स्टेण्डबाट धनकुटा चुङ्माङ्का अर्जुन राई र उनकी श्रीमती रमिता राईलाई नक्कली सुन देखाई मोवाइल र नगद नौ हजार ठगी गरेको पत्ता लागेको  छ।

पक्राउ पर्ने समूहले इटहरीको पचरुखीकी दुर्गादेवी दाहालको सुनको कानको टप, इटहरी–१ मा बस्ने जनक पुराकोटीको घाटीमा लगाएको सुनको सिक्री र पाँच हजार नगद चोरी गरेको जानकारी दियो ।
इटहरीका डिएसपी ओम अधिकारीले महंगो सुन कौडीको भाउँमा दिएको भन्दै समाजकै प्रतिस्ठित व्यक्तिले खरीद गर्ने गरेको खुल्न थालेको बताए । उनका अनुसार विस्तृत अनुसन्धान भने भइसकेको छैन ।

 

प्रकाशित: ३० असार २०७३ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App