coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दलहरूलाई उम्मेद्वार छान्नै सकस

वैशाख – वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दलहरूलाई उम्मेदवार छान्न निकै सकस भएको छ । 

स्थानीय निर्वाचनका लागि वडादेखि गाउँपालिकासम्म उम्मेद्वारको लर्को लागे पछि दलहरूमा कसलाई उम्मेद्वार बनाउने भन्ने अन्यौलता देखिएको हो । दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारका आकांक्षी बढी देखिएकाले उम्मेद्वार छनौटमा निकै प्रतिस्पर्धा देखिएको छ । सबै भन्दा बढी स्थानीय तहको निर्वाचनका लागि नेपाली काँगे्रस र नेकपा एमालेमा आकांक्षीहरूको भिड देखिएको  हो । 

नेतृत्व गर्न सक्ने महिला नहुँदा दलहरूलाई प्रमुख वा उपप्रमुख अनिवार्य महिला बनाउनु पर्ने प्रावधान बोझिलो बनेको छ ।

लामो अवधिसम्म स्थानीय निर्वाचन नभएको, दुई दशक लामो अवधिसम्म नयाँ कार्यकर्ता पनि उतिकै उत्पादन भएको तथा सबै भन्दा पुरानो तथा ठूलो पाटी भएकाले पनि स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको लर्को देखिनु स्वभाविक भएको नेपाली काँग्रेस मुगुका कार्यवाहक सभापति खगेन्द्र मल्ल बताउँछन् । छायानाथ रारा नगरपालिकाको मेयर पदका लागि मात्रै आधा दर्जन आकांक्षी देखिएको उनले बताए । वडा स्तरमा पनि उम्मेद्वारका आकांक्षी धेरै छन एक दुई दिन भित्र सबै टुंगो लगाउँछौ उनले भने ।

त्यस्तै पुरानो संरचनामा दुई सय १६ वडाहरू, २४ गाविस हुँदा सबैको चित्त बुझाउने गरी उम्मेद्वार छाने पनि अहिले दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा केही समस्या भइरहेको नेकपा एमालेका अध्यक्ष धर्मबहादुर शाहीले बताए । ठूलो दलका कार्यकर्ता पनि धेरै भएकाले उम्मेद्वारका आकांक्षी धेरै देखिनु कुनै नौलो विषय नरहेको शाहीको तर्क छ । जिल्लाका तीन गाउँपालिका र एक नगरपालिकाका ४५ वटै वडाहरूका लागि उम्मेदवार छनौट गर्न दलहरू व्यस्त देखिएका छन ।

सबै राजनीतिक दलहरूमा पुरुष उम्मेद्वारको लर्को देखिए पनि महिला उम्मेद्वारको समस्या देखिएको छ । सदरमुकाममा दलहरूका महिला उम्मेद्वार देखिए पनि गाउँमा स्थानीय तहको निर्वाचनका लागि महिला उम्मेद्वार अभाव देखिएको छ । गाउँपालिका र वडापालिकामा नेतृत्व गर्न सक्ने महिला नहुँदा दलहरूलाई प्रमुख वा उपप्रमुख अनिवार्य महिला बनाउनु पर्ने प्रावधान बोझिलो बनेको छ । 

गाउँमा महिला नभएका त हैनन् तर स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनेर नेतृत्व गर्न सक्ने महिला कमै रहेको नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लले बताए । स्थानीय निकायको प्रमुख तथा उपप्रमुखमा महिला अनिवार्य गरिए पछि दलहरूलाई महिला उम्मेद्वार खोज्नु परेको छ ।
 

प्रकाशित: ७ वैशाख २०७४ ०७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App