coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

संकटमा चुँदाराको पेसा

बाग्लुङ नगरपालिका—१२ अमलाचौरका टेके चुँदाराले निर्माण गरेको काठका ठेका भाँडा । तस्बिरः संगम घर्तीमगर

बाग्लुङ – जिल्लाको अमलाचौरका टेके चुँदारा आफ्नो पेशा संकटमा पर्दै गएकोमा चिन्तित छन् । परम्परागत रुपमा काठको ठेका भाँडा बनाउने पेसा अँगाल्दै आएका चुँदाराले निर्माण गरेको भाँडाहरु बिक्री हुन छाडेपछि उनलाई परिवार धान्न मुस्किल पर्न थालेको छ । 

‘काठको भाँडा बनाउन ठूलो मेहनत लाग्छ तर बजारमा डेढ दुई सयमा प्लाष्टिकका भाँडा पाइन्छ । महङ्गो पैसा तिरेर हाम्रो भाँडो कस्ले किनिदियोस्,’

बढ्दो प्लाष्टिकको भाँडाको प्रयोगले परम्परागत रुपमा निर्माण गरिने काठको भाँडो लोप हुन थालेका छन् । सस्तो मूल्यमा बजारमा प्लाष्टिकको भाँडा वर्तन उपलब्ध हुन थालेपछि चुँदाराले मेहनत गरेर बनाएको काठका ठेका भाँडा हराउन थालेका हुन् । 

 ‘समय फेरियो, अब यसरी हामीले बनाएका भाँडा वर्तन पनि बिक्री हुन छाडिसक्यो,’ चुँदारा भन्छन्, ‘हामीलाई त समस्या पर्ने भो ।’ बाग्लुङ नगरपालिका—१२ अमलाचौरका उनले यही पेसाबाट ६ जनाको परिवार पाल्दै आएकामा अब घर परिवारको खर्च कसरी टार्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । ‘ठेका भाँडाको बिक्री हुन छाड्यो, अरु काम गर्न आउँदैन,’ उनले भने,‘हामीलाई गुजारा चलाउनै गाह्रो पर्न थाल्यो । अब अर्को उपाय सिकाइदिने मान्छेको खोजीमा छौं ।’ काठलाई कुँदेर दूध दही मोही राख्न मिल्ने ठेका भाँडा र अन्नपात राख्न मिल्ने आरी निर्माण गर्दै आएका चुँदारा प्लाष्टिक भाँडाको बढ्दो प्रयोगले आफ्नो पेसालाई अप्ठ्यारो परेको बताउँछन् ।

‘काठको भाँडा बनाउन ठूलो मेहनत लाग्छ तर बजारमा डेढ दुई सयमा प्लाष्टिकका भाँडा पाइन्छ । महङ्गो पैसा तिरेर हाम्रो भाँडो कस्ले किनिदियोस्,’ उनी भन्छन् । गाउँघरमा गाईभैंसी पाल्ने क्रम घटेसंगै आफ्नो पेशा संकटमा परेको उनको अनुभव छ । ‘गाउँघरमा बसेर गाई भैंसी पाल्ने चलन हराइसक्यो,’ उनी भन्छन्,‘गाईभैंसी नै पाल्न छोडेपछि दूध दहीका लागि भाँडो चाहिने कुरै भएन ।’ गुजारा चलाउने मुस्किल पर्न थालेपछि चुँदाराहरू बिस्तारै आफ्नो पेसा छोड्दै जान थालेको उनी बताउँछन् । ‘एक दर्जन परिवार यही पेसा अँगालेर बसेका थियौं, अहिले धेरै जसो विदेश या अन्य पेसातिर लागेका छन्,’ चुँदाराले भने,‘अहिले हामी एक दुई घर मात्र यो पेसामा बाँकी छौं ।’ 

उमेरले ५० पुग्न आँटेका उनी आफूले निर्माण गरेर काठका भाँडा बिक्री गर्न बाग्लुङ, पर्वत, म्याग्दी र गुल्मीका विभिन्न गाउँ चाहार्ने गरेकाछन् । गिथे नामक रुखको काठबाट निर्माण गरिने ठेका भाँडाका लागि कच्चा पदार्थ गुल्मीका विभिन्न ठाउँबाट ल्याउने गरेका छन् । ‘अरु काठ बलियो हुँदैन, गिथे खोज्दै गुल्मी पुग्ने गरेका छौं,’ उनले भने,‘भाँडा बनाएपछि बेच्नका लागि पनि उत्तिकै गाउँ डुल्नुपर्छ ।’ पाँच मुठी देखि बाह्र मानासम्म अटाउने क्षमताका काठका भाँडालाई न्यूनतमा एक हजार देखि चार—पाँच हजारसम्म मूल्य पर्छ । 

प्रकाशित: ७ वैशाख २०७४ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App