८ वैशाख २०८१ शनिबार
राजनीति

गाउँ–गाउँमा मतदाता शिक्षा

खोटाङ – स्थानीय तहको निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउन खोटाङको गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि वैशाख १ गतेदेखि जिल्लाभरका गाउँपालिका र नगरपालिकाका हरेक वडा–वडामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।

 निर्वाचन सम्बन्धि उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै आठ गाउँपालिका र दुई नगरपालिकाको मतदातालाई मतदानका लागि जागरुक बनाउन १७५ जना सामाजिक परिचालकलाई तालिम दिएर मतदाता शिक्षा स्वयंसेवककारुपमा खटाइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । 

तालिमपछि गाउँ–गाउँमा पुगेका मतदाता शिक्षा स्वयंसेवकले मतदाताको घरदैलो बाहेक मेला र हाटबजारमा पुगेर समेत मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालन गरिरहेका छन् । उनीहरूले सबै जात, जाति, लिंग वर्ग वा समुदायका मतदातालाई स्थानीय तहको निर्वाचन सम्बन्धि जानकारी गराउँदै निर्वाचनमा सहभागी हुन र मतदान गर्न जान प्रोत्साहन गर्ने, मतदाताले निर्वाचन सम्बन्धि राखेका जिज्ञासा र अस्पष्टतालाई स्पष्ट बनाउने, मतको महत्व बुझाएर मतदान गर्न सल्लाह दिने, स्थानीय तहको निर्वाचन प्रणाली र सरकार गठन सम्वन्धी व्यवस्था बारे स्पष्ट बनाउने, हरेक दलका घोषणा पत्र हेर्न आग्रह गर्ने, मताधिकार प्रयोगको गोप्यताका बारेमा आश्वस्त पार्ने, उम्मेदवारी दिने प्रकृया लगायतका विषयमा जानकारी दिइरहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

गाउँका दलित, महिला समूह, वडानागरिक मञ्च, नागरिक सचेतना केन्द्रका सदस्य, युवा समूह, वन समूह लगायतसँग अन्तरक्रिया गर्दै मतदातालाई निर्वाचनकालागि तयारी अवस्थामा रहन आग्रह गर्ने, निर्वाचनको दिन, समय र स्थानका विषयमा स्पष्ट बनाउने, मतदानका लागि आवश्यक कागजात, मतपत्र तथा सही तरिकाले मतदान गर्ने बिधिकाबारेमा जानकारी दिने, निर्वाचन सम्वन्धीका पर्चा, पोष्टरहरु बितरण गर्ने, लगायतका क्रियाकलापमा मतदाता शिक्षा स्वयंसेवक व्यस्त बनेका छन् । 

१७३ मतदान केन्द्र रहेको जिल्लाका गाउँ–गाउँमा खटाइएका मतदाता शिक्षा स्वयंसेवकलाई प्रतिजना एक÷एक हजार मतदातालाई प्रशिक्षण दिने जिम्मेवारी दिइएको जिल्ला निर्वाचन अधिकारी खत्रीले जनाए । स्थानीय तहको निर्वाचनमा जिल्लाका १ लाख १५ हजार ६४४ मतदाताले मताधिकार उपयोग गर्दैछन् । 

प्रकाशित: ७ वैशाख २०७४ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App