८ वैशाख २०८१ शनिबार
अर्थ

पेट्रोल स्टक नहुँदा उपभोक्तालाई सास्ती

काठमाडौं- नेपाल आयल निगमले पर्याप्त पेट्रोल स्टक नराख्दा उपभोक्ताले सधैं सास्ती झेल्दै आएका छन्। लगातार बिदा हुनासाथ उपत्यकाका उपभोक्ताले पेट्रोल भर्न घन्टौं लाइन बस्न बाध्य छन्।

निगमले मागेजति तेल नदिएपछि मंगलबार र बुधबार उपत्यकामा प्रायः सबै पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन थियो। कतिपय पम्प ‘पेट्रोल छैन' लेखिएको बोर्ड झुन्डाएका थिए।

खुलेका पम्पमा तेल भर्न धेरै कुर्नुपरेको प्रतिभा खत्रीले बताइन्। नयाँ बजारको पम्पमा तेल नपाएर भद्रकाली आएकी खत्रीले आक्रोश व्यक्त गरिन्। ‘एक/दुई दिन बिदा हुनासाथ सधैं किन पेट्रोलको अभाव हुन्छ?' खत्रीले भनिन्।

निगमसँग भण्डारण क्षमता नभएको बताए पनि विद्यमान क्षमता अनुसार पनि स्टक नराख्दा यस्तो समस्या भएको हो। निगमसँग भएको विद्यमान ७१ हजार किलोलिटर (७१करोड लिटर) पेट्रोलियम क्षमतामा आधा पनि स्टक नराखेपछि त्यसको असर उपभोक्तालाई परेकेा छ। बुधबार निगमसँग मुलुकभर २५ लाख लिटर पेट्रोल र ३२ करोड लिटर डिजेल रहेको छ।

बिदामा डिपो बन्द गर्ने र मागेजति पेट्रोल उपलब्ध नगराएपछि अभाव भएको पम्प सञ्चालकले बताए। सञ्जय पेट्रोल पम्प सुन्धाराले बुधबार १२ हजार लिटर पेट्रोल माग गरेकोकोमा आठ हजार लिटरमै चित्त बुझाउनुपर्‍यो। निगमले पर्याप्त तेल नदिएको सञ्चय पेट्रोल पम्प सुन्धाराका दिनेश ढुंगानाले बताए। ‘मागेजति पेट्रोल पाएका छैनौं,' ढुंगानाले भने, ‘बिदामा नियमित वितरण नहुँदा अभाव भएको हो।' बिदाको दिनमा पेट्रोल नदिए सवारी गुडाउन रोक्नुपर्ने उनले बताए। ‘एक/दुई दिन बिदा हुनासाथ सधैं अभाव हुन्छ,' ढुंगानाले भने, ‘कि बिदाका दिन गाडी चलाउन बन्द गर्नु पर्‍यो। होइन भने बिदामा पनि तेल दिने व्यवस्था मिलाउनु पर्छ।'

बिदामा पेट्रोल वितरण नगर्दा बजार असन्तुलन भएको हो।  निगमले बुधबार पाँच लाख ४५ हजार लिटर पेट्रोल उपत्यकामा वितरण गरेको थियो। निगमको थानकोट डिपोमा आठ लाख लिटरमात्र पेट्रोल स्टक रहेको छ। एक दिन बिदा हुनासाथ राजधानीमा एक दिनमानै करिब छ लाख लिटर पेट्रोल खपत हुन्छ।

बजारमा पेट्रोलको माग बढेकाले पुर्‍याउन कठिन भएको निगमले जनाएको छ। उपत्यकाको माग धान्न हम्मे परेपछि निगमले वीरगन्जका अतिरिक्त भैरहवा र नेपालगन्जबाट पनि पेट्रोल राजधानी ल्याउन थालेको छ। नेपालगन्जबाट दैनिक एक लाख लिटर र भैरहवाबाट ६० हजार लिटर पेट्रोल पठाउन निर्देशन दिएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए। ‘माग उच्च भएपछि भैरहवा र नेपालगन्जबाट थप पेट्रोल ल्याउन थालेका छौं,' पोख्रेलले भने, ‘भारतबाट नियमित आइरहेकाले चिन्ता मान्नुपर्ने अवस्था छैन।' एक/दुई दिनमा बजार सहज हुँदै जाने उनले बताए। इन्डियन आयल कर्पोरेसन (आइओसी)का डिपोबाट नियमित लोडिङ भएकाले अभाव नहुने पोख्रेलले बताए। ‘मधेशी दलले आन्दोलन घोषणा गरेकाले उपभोक्ताले सञ्चय गर्ने क्रम बढेको छ,' उनले भने, ‘तर अभाव हुन दिँदैनौं।'

राजधानीमा सवारी साधनको संख्या वृद्धिसँगै माग पनि बढ्दै गएको हो। अहिले विकास निर्माणका काम तीव्र गतिमा अघि बढेकाले पेट्रोलियम पदार्थको खपत बढेको छ। मुलुकमा लोडसेडिङ मुक्त भए पनि इन्धन खपत घटेको छैन।

पुसयता हरेक महिना पेट्रोलको खपत निरन्तर बढेको छ। पुसमा ३० हजार ९७ किलोलिटर बिक्री भएकोमा माघमा ३१ हजार दुई सय २८ किलोलिटर , फागुनमा ३६ हजार तीन सय ५१ किलोलिटर र चैत ३० गतेसम्म ३० हजार तीन सय ३५ किलोलिटर पेट्रोल बिक्री भएको निगमले जनाएको छ। एक किलोलिटरमा एक सय लिटर हुन्छ। पछिल्ला दुई महिना फागुन र चैतमा अघिल्ला महिनाको तुलनामा करिब पाँच लाख लिटर पेट्रोलको खपत बढेको हो।

निगमले मागे जति पेट्रोल नदिँदा अभाव भएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ। ‘निर्वाचन नजिकिँदै गएकाले स्टक राख्नुपर्ने हो,' एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘स्टक राख्नु त परै जाओस् मागेजति नदिँदा उपभोक्तालाई पुर्‍याउन सकेका छैनौं।'

निगमले गत महिना आइओसीसँग इन्धन खरिद बिक्री सम्झोता नवीकरण गरेको हो। आइओसीले मागे जति तेल दिने प्रतिवद्धता जनाएको थियो। निगमको व्यवस्थापन कमजोर हुँदा समस्या भएको व्यवसायीको गुनासो छ।

सवारी साधनको बढ्दो प्रयोगले हरेक वर्ष इन्धन खपत वृद्धि हुँदा व्यवस्थापन गर्न कठिनाइ भएको निगमले जनाएको छ। हरेक वर्ष पेट्रोल खपत वृद्धिदर १२ प्रतिशत, डिजेल नौ प्रतिशत भइरहेको छ। आगामी एक दशकको अवधिमा पेट्रोलियम पदार्थ, एलपिजी ग्यासको खपत करिब तीन गुणाले वृद्धि हुने निगमको प्रक्षेपण छ।

आर्थिक वर्ष ०७२/७३ मा वार्षिक ३ लाख २४ हजार आठ किलोलिटर डिजेल खपत भएको थियो।

प्रकाशित: ७ वैशाख २०७४ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App