coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अर्बभन्दा बढी लाभांश लिन अाएनन् लगानीकर्ता

काठमाडौं- नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले वितरण गरेको लाभांश बापतको एक अर्ब रुपैयाँभन्दा बढी रकम लगानीकर्ताले लिन आएका छैनन्। पाँच वर्षभन्दा पुरानो लाभांश लिन नआएपछि त्यस्तो रकम सरकारले छुट्टै कोष बनाएर जम्मा गर्न थालेको हो। लगानीकर्ताले नलिएको लाभांश त्यस्तो कोषमा जम्मा गर्ने र प्रमाण पुर्‍याएर आउनेलाई भुक्तानी गरिने भएको छ।

सरकारले स्थापना गरेको ‘लगानी संरक्षण कोष'मा पाँच करोड रुपैयाँभन्दा बढी जम्मा भइसकेको कम्पनी रजिस्ट्रारको कार्यालयका कम्पनी रजिस्ट्रार प्रेमकुमार श्रेष्ठले बुधबार नागरिकलाई बताए। ‘लाभांश बापतको अर्बौं रकम लगानीकर्ताले लिएका छैनन्,' उनले भने, ‘त्यसरी नलिएको रकम अहिलेसम्म लगानी संरक्षण कोषमा भने पाँच करोड रुपैयाँ मात्र जम्मा भएको छ।'

लभांश बापतको त्यस्तो रकम अझै पनि विभिन्न सूचीकृत कम्पनीमै थन्किएर बसेको छ। सूचीकृत कम्पनीको वार्षिक विवरण हेर्दा लाभांश बापतको करिब दुई अर्ब रुपैयाँभन्दा बढी रुपैयाँ लगानीकर्ताले बुझेका छैनन्। ‘आइपिओ भरेको पैसा समेत लिन आएका छैनन्,' उनले भने, ‘त्यस्तो रकम समेत कोषमा जम्मा भएको छ।'

सरकारले गत मंसिरमा मात्रै त्यस्तो कोषको स्थापना गरेको थियो। त्यस्तो लिन नआएको रकम सम्बन्धित कम्पनीले सूचना जारी गरेर लगानीकर्तालाई लिन आउन आग्रह गरिरहेका छन् र नलिएको रकम कोषमा जम्मा गर्दै छन्। सुरुदेखि नै आइपिओमा राखेको रकम समेत लिन नआएको रजिस्ट्रार श्रेष्ठले बताए।

अहिले नेपाल स्टक एक्सचेन्जमा दुई सय २२ कम्पनी सूचीकृत छन्। ती सबैको विवरण हेर्दा उक्त रकम अझै ठूलो हुने देखिन्छ।

लगानीकर्ताले नलिएको लाभांश सरकारले स्थापना गरेको लगानी संरक्षण कोषमा जम्मा हुन थालेको छ। अहिलेसम्म बोटलर्स नेपाल तराई, र बोटलर्स नेपाललगायतले पाँच वर्षसम्म लिन नआएको रकम कोषमा जम्मा गरिसकेका छन्।

कम्पनी ऐन २०६३ ले कोष स्थापनाको सैद्धान्तिक व्यवस्था गरेपछि ‘लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि,२०७३' ल्याई कार्यान्वयन गरिएको हो। कम्पनी रजिस्ट्रारको कार्यालयमा सचिवालय रहने कोष सञ्चालकमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायतका प्रतिनिधि पनि रहनेछन्।

पछिल्लो समय पैसा जम्मा हुने क्रम बढ्न थालेको कम्पनी रजिस्ट्रार श्रेष्ठले बताए। कोषले लगानीकर्ताको नाममा जम्मा भएको रकम सुरक्षित राखिदिनेछ। निश्चित समयसम्म कुनै लगानीकर्ता लाभांश नआएका कम्पनी उक्त रकम कोषमा बुझाउनु पर्नेछ। लगानीकर्ता जहिले आए पनि कोषबाट आफ्नो लाभांश लैजान सक्ने श्रेष्ठले जानकारी दिए।

६ महिनाअघि कोष स्थापना गरिएको सार्वजनिक सूचना प्रकाशित गरी कम्पनीहरुलाई लगानीकर्ताले नलिएको पाँच वर्षभन्दा पुरानो लाभांश जम्मा गर्न आग्रह गरिएको थियो। त्यही सूचनाको आधारमा दुई कम्पनीले पैसा जम्मा गरिसकेको र बाँकी पनि आउने क्रममा जारी रहेको श्रेष्ठले बताए।

पछिल्लो समय एनआइसी एसिया, सिटिजन्स बैंक इन्टनेसनल र नबिल बैंकले सार्वजनिक सूचना प्रकाशित गरी पाँच वर्ष पुरानो लाभांश लिन आउन लगानीकर्तालाई आह्वान गरेका थिए। लगानीकर्ताले दाबी नगरेको रकम कोषमा पठाउने बैंकले जनाएका छन्।  कोषमा रकम बढ्दै गएपछि कार्यविधि अनुसार प्रतिफल दिने गरी बैंकमा राख्ने एवं अन्यत्र लगानी गर्ने उनले जानकारी दिए।

सिडिएस प्रणालीको विकास गरेपछि पछिल्लो समय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको खातामा नै लाभांश जम्मा गरि दिन कम्पनीहरुलाई निर्देशन दिएको छ। त्यसैले आगामी दिनमा सेयर कारोबार गर्ने लगानीकर्ताले लाभांश नबुझ्ने क्रम घट्ने देखिए पनि यसअघिको रकम एकीकृत गर्न उक्त कोष स्थापना गरिएको हो।

लामो समय नलगेको पैसा कोष खडा गरी जम्मा हुनु राम्रो प्रयास भए पनि सम्बन्धित लगानीकर्ताकै हातमा पार्न सबै सरोकारवालाले पहल गर्नुपर्ने लगानीकर्ताको भनाइ छ।

प्रकाशित: ७ वैशाख २०७४ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App