८ वैशाख २०८१ शनिबार
खेल

रूपन्देहीलाई हराउँदै विराटनगर फाइनलमा

सुजन श्रेष्ठ/दिलबहादुर छत्याल

धनगढी- सुशील कँडेलको ४ विकेटप्रेरित विराटनगर किंग्सले बुधबार रूपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनलमा स्थान पक्का गरेको छ। सुशीलले ४ ओभरमा १ मेडनसहित १५ रन दिएर ४ विकेट लिएपछि १ सय २९ रनको लक्ष्य पछ्याएको रूपेन्देहीले सबै विकेट गुमाएर ९९ रन मात्र जोड्न सकेको थियो। त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रनको योगफल बनाएको थियो।

समूहचरणका सबै खेलमा टस जितेर पहिले ब्याटिङ रूपन्देहीले बुधबार सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस हारेपछि दोस्रो ब्याटिङ गरेको थियो। विराटनगरका कप्तान शरद भेषावकरले खेल जित्नुमा टस महŒवपूर्ण रहेको प्रतिक्रिया दिए।

‘रूपन्देहीले अहिलेसम्म लक्ष्य पछ्याएर जित्न सकेको थिएन। यो विकेटमा चेज (लक्ष्य पछ्याएर) गर्न सजिलो पनि थिएन। त्यसैले हामी टस जित्यौं भने राम्रो स्कोर बनाएर उनीहरूमाथि दबाब राख्न सक्छौं भन्नेमा विश्वस्त थियौं। त्यसमा सफल पनि भयौं,' टसबारे शरदले थपे, ‘त्यसैले टस महŒवपूर्ण रह्यो। संगठित प्रदर्शन गर्न सक्यौं। खुसी छौं।'

ओपनर प्रकाश विष्टलाई शून्यमा गुमाएको विराटनगरका लागि आशिफ शेखले उकासेका थिए। ४१ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाएका आशिफले ओपनर अमित श्रेष्ठसँग दोस्रो विकेटका लागि २२ तथा दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए। त्यसपछि पवन सर्राफ र कप्तान शरदले विराटनगरको इनिङ उकासेका थिए। दुईले नवौं विकेटका लागि २३ रनको साझेदारी गरेका थिए। शरदले २२ बलमा २ छक्कासहित २४ रन बनाए भने पवनले ६ बलमा १५ रन जोडे।

रूपन्देहीका कप्तान शक्ति गौचनले ३ विकेट लिए भने दीपेश श्रेष्ठको नाममा २ विकेट रह्यो। विक्रम सोब, कृष्ण कार्की र शाहब आलमले समान १/१ विकेट लिए।

१ सय २९ रनको लक्ष्य पछ्याएको रूपन्देहीले ब्याटिङमा राम्रो सुरुआत गर्न सकेन। १४औं ओभरको पाँचौं बलमा कृष्णलाई गुमाउँदा रूपन्देही ५८–६ को स्थितिमा थियो। तर, त्यसपछि विक्रम सोब र प्रकाश केसीले सातौं विकेटका लागि ३० रनको साझेदारी गर्दै रूपन्देहीको आशा जगाएका थिए। तर १७औं ओभरको तेस्रो बलमा प्रकाश आउट भएपछि रूपन्देहीको सम्भावना कमजोर बनेको थियो। रूपन्देहीका विक्रम सोबले २३ र पुष्प थापाले २२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा जोड्न सकेनन्।

विराटनगरका कप्तान शरदले समूहचरण र प्लेअफको विकेटमा धेरै भिन्नता नरहेको बताए। उनले सबै योजनाअनुसार भएकाले जित्न सफल भएको बताए।

‘विकेटमा धेरै फरक छैन। ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे,' शरदले भने, ‘यो विकेटमा हामीले १ सय २८ रनको स्कोर बनाएका थियौं। जुन नराम्रो थिएन। १५ ओभरसम्म विकेट हातमा राख्न सक्यौं भने पछिल्लो ५ ओभरमा उनीहरूले जस्तो खेले पनि जित्न सक्छौं भन्ने थियो। त्यसमा हामी सफल भयौं।'

म्यान अफ दी म्याच घोषित विराटनगरका सुशीललाई बलिङमा सन्दीपले २ तथा पवन, जितेन्द्र मुखिया, दीपेन्द्रसिंह ऐरी र प्रकाशले १/१ विकेट लिएर साथ दिए।

प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको रूपन्देहीका कप्तान शक्ति गौचनले बुधबार प्रतियोगिताकै खराब प्रदर्शन रहेको बताए। उनले कुनै पनि पक्षले राम्रो खेल्न नसकेको बताए।

‘हाम्रो बलियो पक्ष बलिङ थियो। तर आज स्ट्राइक बलरले नै राम्रो गर्न सकेनन्। फिल्डिङमा पनि समस्या देखियो। १ सय १० सम्ममा रोक्ने योजना थियो। तर त्यो सम्भव भएन। समग्रमा हाम्रो दिन खराब रह्यो,' लक्ष्य पछ्याएर जित्न नसक्ने टोलीको आरोपलाई शक्तिले नकारे, ‘होइन। आज हामीले टस जितेको भए पनि फिल्डिङ नै रोज्थ्यौं। म आफू नै नवौं नम्बरमा ब्याटिङ गर्न आउँछु, त्यसैले हाम्रो ब्याटिङ लाइनअपलाई कमजोर भन्न मिल्दैन।'

 रूपन्देहीले अब बिहीबार धनगढी टिम चौराहसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार दोस्रो खेलमा काठमाडौं गोल्डेन्सलाई ६ विकेटले हराउँदै चौराह दोस्रो प्लेअफका लागि छनोट भएको थियो। प्रतियोगितामा राम्रो सुरुआत गर्न नसकेको चौराहले समूहचरणको अन्तिम खेलमा रूपन्देहीलाई हराउँदै प्लेअफका लागि स्थान सुरक्षित गरेको थियो।

टस जितेर ब्याटिङ गरेको काठमाडौंले ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो। अनिलकुमार मण्डल र पृथुु बास्कोटाले दोस्रो इनिङमा प्रतियोगिताकै ठूलो साझेदारी गरेपछि धनगढीले १ सय २४ रनको लक्ष्य १० बलअघि ४ विकेट गुमाएर पूरा गरेको थियो।

टिम चौराहका अनिलले ४९ बलमा ५ चौका र १ छक्कासहित ४४ रन बनाउँदै पृथुसँग दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए। वसन्त रेग्मीको बलमा विजयी चौका प्रहार गरेका आरिफ शेखले अमरसिंह रउटेलासँग २४ रनको अविजित साझेदारी गरे।

म्यान अफ दी म्याचसमेत रहेका अनिलले यो पिचमा राम्रो ब्याटिङ गर्दा ब्याट्सम्यानको मनोबल बढेको बताए।

‘ब्याटिङका लागि यो पिच निकै कठिन छ। ट्वान्टी–२० मा सुरुबाटै लामो सट खेल्न गाह्रो छ। तर आज जुन किसिमले रन बन्यो त्यसले मनोबल बढाएको छ,' लामो समयपछि लयमा देखिएका ओपनर अनिलले भने, ‘लामो समयपछि लामो इनिङ खेल्न पाउँदा खुसी लागेको छ। आरिफको साझेदारी हाम्रो लागि महŒवपूर्ण रह्यो। पृथुले पनि राम्रो ब्याटिङ गरे।'

त्यसअघि काठमाडौंका लागि सुमितले ३१ रन बनाउँदा नरेश बुढाऐरले २९ रन बनाए। रोहितकुमार पौडेल ३१ रनमा अविजित रहे। चौराहका लागि ललित राजवंशीले र अमर राउटेलाले समान २ विकेट लिँदा रामनरेश गिरी र सौरभ खनालले १/१ विकेट लिए।

प्रकाशित: ७ वैशाख २०७४ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App