coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रोनाल्डोको सय गोलमा रेफ्री सहायक

मड्रिड- विवादास्पद ह्याटि्रकका साथ क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेको खेलमा रियाल मड्रिडले बायर्न म्युनिखलाई निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेगको रोमाञ्चक खेलमा रियालले मंगलबार राति १० जनामा सीमित भएर मैदान छोडेको बायर्नमाथि ४–२ को जित हासिल गरेको थियो। अतिरिक्त समयसम्म संघर्ष गर्दै पाएको जितपछि रियाल समग्रमा ६–३ को अन्तरमा सेमिफाइनल पुगेको हो। घरेलु सान्टियागो बेर्नाबेउ रंगशालामा पाएको जितपछि रियाल लगातार सातौं पटक युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको अन्तिम चार पुगेको थियो।

रियाल अघिल्लो चरण पुग्न सफल भए पनि गत साता पहिलो लेगमा २–१ को हार भोगेको बायर्नले उत्कृष्ट पुनरागमन जनाउँदै खेल अतिरिक्त समयसम्म धकेलेको थियो। रोबर्ट लेवान्डोवस्कीको गोलमा सर्जियो रामोसको आत्मघाती गोल थपिएपछि बायर्नले खेलमा पुनरागमन गरेको थियो।

तर आर्टुरो भिडालले रातो कार्ड सामना गरेपछि भ्रमणकारी टोली १० खेलाडीमा सीमित भयो। रोनाल्डोले १ सय ४ मिनेटमा युरोपकै सबभन्दा प्रतिष्ठित क्लब प्रतियोगितामा १ सय गोलको कोसेढुंगो छोए। त्यसको पाँच मिनेटपछि उनले ह्याटि्रक पूरा गरे। तर रोनाल्डोको दोस्रो र तेस्रो गोल प्रस्ट अफसाइड हुँदा बायर्न क्रुद्ध बनेको थियो।

‘बायर्न म्युनिखजस्तो टिमविरुद्ध ६ गोल गर्नु सहज काम थिएन, त्यसैले हामी सेमिफाइनलको हकदार हौं,' रोनाल्डोले भने, ‘रियाल मड्रिड भनेको रियाल मड्रिड हो। यो क्लबको नाममा नै विशेष ओज छ। फेरि एकपटक सेमिफाइनल पुग्न सक्दा हामी निकै उत्साहित छौं।'

बायर्नको घाउमा नुन दल्ने क्रममा मार्को एसेन्सियोले १ सय १२औं मिनेटमा अर्को गोल गरेर रियालको जितअन्तर थप फराकिलो पारे।

रियालका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोको प्रदर्शनको उच्च प्रशंसा गरे। ‘महŒवपूर्ण क्षणमा उनले जहिले पनि टोलीका लागि योगदान गरेका छन्। आज पनि उनले तीन गोल गरे। रियालको टोलीमा गरेको योगदानका लागि समर्थकले पनि उनलाई सधैँ उच्च सम्मान गर्ने गरेका छन्,' जिदानले भने।

बायर्नका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने रेफ्रीको निर्णयप्रति कडा आपत्ति जनाए। ‘आर्टुरोको कार्ड (रातो) खासमा रातो कार्ड थिएन। त्यसपछि रोनाल्डोले गरेका दुई गोल प्रस्ट अफसाइड थिए। च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा यसरी हार्नुपर्दा पक्कै पनि हामी खुसी छैनौं,' एन्सेलोट्टीले भने, ‘यति ठूलो प्रतियोगिताको क्वार्टरफाइनलमा राम्रो रेफ्री राख्नुपर्छ। नत्र भने भिडियो रेफ्री ल्याउने समय आयो। युइएफएले पनि भिडियो रेफ्री राख्ने प्रयास गरिरहेको छ। रेफ्रीबाट यति धेरै गलत निर्णयहरू हुँदा फुटबललाई राम्रो गर्दैन।'

जर्मन च्याम्पियनले स्पेनको पछिल्ला चार भ्रमणमा एउटै गोल नगरी हार सामना गरेको थियो। मंगलबार पनि सेमिफाइनल पुग्न कम्तीमा दुई गोल आवश्यक भएको एन्सेलोट्टीको टोलीलाई थाहा थियो। त्यहीअनुसार लेवान्डोवस्कीको पेनाल्टी गोलबाट भ्रमणकारी टोलीले ५३औं मिनेटमा अग्रता लिएको थियो। मार्सेलोले गोल गर्ने अवसरमा रहेका थियागो अल्कान्टारालाई रोकेबापत बायर्नले पेनाल्टी पाएको थियो। रोनाल्डोले समय सकिन १४ मिनेट बाँकी रहँदा रियालका लागि बराबरी गोल गरे। त्यसको दुई मिनेटपछि रामोसले आत्मघाती गोल गरे। रामोसको आत्मघाती गोलले खेल अतिरिक्त समयतिर धकेल्यो। तर ८४औं मिनेटमा भिडालले रातो कार्ड सामना गर्नु बायर्नका लागि दुर्भाग्यजनक थियो। एसेन्सियोमाथि खराब फाउल गरेबापत उनले दोस्रो पहेंलो कार्ड दर्शन गरेका थिए। जसको फाइदा उठाउँदै अतिरिक्त समयमा रोनाल्डोले दुई गोल थपे भने एसेन्सियोले पनि च्याम्पियन्स लिग गोलमा नाम लेखाए।

च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेगअन्तर्गत मंगलबारै सम्पन्न अर्को खेलमा इङ्लिस च्याम्पियन लेस्टर सिटीसँग १–१ को बराबरी नतिजा निकाल्दै रियालको सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडले सेमिफाइनलमा स्थान पक्का गरेको छ।

गत साता पहिलो लेगमा १–० को जित हात पारेको एट्लेटिको समग्रमा २–१ को जितका साथ अन्तिम ४ मा प्रवेश गरेको हो।

लेस्टरको किंङ्स पावर रंगशालमा २६औं मिनेटमा फिलिप लुइसको पासमा साउल निग्वेजले गरेको हेड गोलमा एट्लेटिको अग्रता लिएको थियो।

६१औं मिनेटमा जेमी भार्डेले गोल गर्दै लेस्टरलाई खेलमा फर्काए पनि त्यो सेमिफाइनल प्रवेशका लागि पर्याप्त भएन।

पछिल्लो ४ सिजनमा एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको यो तेस्रो पटक हो। २००४ र २०१६ को फाइनलमा सहरी प्रतिद्वन्द्वी रियालसँग पराजित हँुदै उपाधिबाट विमुख बनेको डिएगो सिमोनको एट्लेटिकोले फेरि एक पटक च्याम्पियन्स लिग जित्ने आशा जीवित राखेको छ।

‘म मेरो टोलीले गरेको प्रदर्शनमा भावविह्वल भएको छु। मलाई टोलीको प्रदर्शनमा गर्व महसुस भइरहेको छ,’ सिमोनले भने, ‘हाम्रो प्रतिद्वन्द्वीले पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। उनीहरूसँग प्रतिस्पर्धा गर्नु आफैँमा ठूलो दबाबको काम थियो। ’

‘हामीले राम्रो र जुझारु प्रदर्शन गर्दै उनीहरूलाई निराश पारेका थियौ,’ लेस्टरका प्रशिक्षक क्राएग शेक्सपियरले भने, ‘समर्थक, खेलाडी र क्लबका मालिक सबैले हाम्रो प्रदर्शनमा गर्व महसुस गर्नुपर्छ। मैले खेलाडीलाई यस्तै प्रदर्शन निरन्तर गर्नुपर्ने बताएको छु। उनीहरूले यसमा सहमति जनाएका छन्।’

प्रकाशित: ७ वैशाख २०७४ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App