७ वैशाख २०८१ शुक्रबार
कला

सुटिङमा सास्ती भोग्दै कलाकार

काठमाडा- फिल्मको छायांकन गर्ने कामलाई सर्वसाधारण तथा दर्शकले सजिलो कामका रुपमा लिन्छन्। तर फिल्म युनिटभित्र रहेर काम गर्ने कलाकार, प्राविधिक, निर्माता र निर्देशकले भोग्ने सास्ती आफ्नै किसिमको छ।

तीन महिनाअघि ६१ दिनको समय लगाएर निर्माण गरेको फिल्म ‘हैरान'को सुटिङ सकेका निर्माता तथा नायक गजित विष्ट यतिबेला सोही फिल्मको पोष्ट प्रोडक्सनमा व्यस्त छन्। यो फिल्मको निर्देशन फिल्म ‘लभ यु बाबा' को निर्देशन गरेर विश्वकै कान्छा फिल्म निर्देशकको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाएका निर्देशक सौगात विष्टले गरेका हुन्। फिल्म ‘मायाज बार'बाट नायकका रुपमा फिल्म क्षेत्रमा डेब्यु गरेका विष्ट अधिकांश फिल्ममा नायककै भूमिकामा देखिन्छन्। फिल्मको सुटिङ बाहिरी दर्शकले देखेजस्तो सजिलो नभएको अनुभव उनको छ।

‘जतिसुकै राम्रो व्यवस्थापन भए पनि फिल्म खिच्ने समयतालिका मिलेको हुँदैन। कहिले कलाकारलाई पर्खनुपर्ने त कहिले प्राविधिक समस्या आएको हुन्छ,'गजित भन्छन्,’खानेकुराको सन्तुलन हुँदैन, अर्थात् कलाकारले मागेेअनुसारको खानेकुरा पाइँदैन। जसले गर्दा स्वास्थ्यमा पनि समस्या देखिन्छ। हामीले लगाउने लुगा राख्ने निश्चित ठाउँ नहुँदा त्यसको ‘मिस प्लेस' हुने सम्भावना बढी हुन्छ। आफूले मुड बनाएर काम गर्छु भन्दा पनि अनेक समस्याले गर्दा काम गर्ने वातावरण पनि बिग्रन्छ।' फिल्मको सुटिङ हेर्न आउने सर्वसाधारणले कलाकारलाई काममा अवरोध गर्ने गरेको समाचार सञ्चारमाध्यममा आएको आफूले सुने पनि आफ्नो हकमा भने त्यस्तो नभएको गजितले बताए। ‘म सुटिङको समयमा लगनशील भएर काम गर्छु। आफ्नो पालो सकिएपछि फ्यान अथवा सर्वसाधारणसँग गफिन थाल्छु,' उनले भने।

अष्ट्रेलियामा फिल्म ‘घामपानी' र ‘लभ सासा'को प्रमोसनसँगै प्रदर्शनमा सहभागी भएर तीन दिनअघि राजधानी फर्किएकी अभिनेत्री केकी अधिकारी सुटिङमा कलाकारका लागि शौचालयदेखि विविध समस्या हुने गरेको सुनाउँछिन्। ‘मुख्य कुरा ट्वाइलेटको समस्या हुन्छ। अप्ठ्यारो ठाउँमा सुटिङ हुँदा मौसमको ख्याल गर्दै दिनभरि सुटिङ गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा कतिपय फिल्ममा खाजाकै भरमा पनि काम गरेका छौं। खाना पकाउने स्थान टाढा भइदिँदा पनि समस्या परेको छ,' फिल्मको सुटिङमा सर्वसाधारणले कमै मात्र अवरोध गरेको सुनाउँदै केकी भन्छिन्, ‘कहिलेकाहीँ सुटिङ हेर्न आउनेले केही समस्या गर्छन्। सर्वसाधारणको भिडले सुटिङमा अवरोध गर्दा कतिपय दृश्यहरुमा रिटेक पनि गर्नु परेको छ। कतिपय अवस्थामा कलाकारहरु ढिलो आइदिनाले पनि सुटिङ तालिकाअनुसार चल्दैन।' फिल्मको सुटिङ ढिलो हुँदा पुस्तक पढ्न रुचाउने केकी आफूलाई सुटिङ नहुँदा गफ गरेर समय काट्न अल्छी लाग्ने जनाइन्। अष्ट्रेलियामा २१ दिन बसेर नेपाल फर्किएकी केकी यतिबेला नयाँ फिल्म ‘महानगर'को तयारीमा छिन्।

केही समयअघि फिल्म ‘कुम्भकरण'को प्युठानमा छायांकन भइरहँदा फिल्मका नायक गौरव पहारीले पनि अनौठो किसिमको समस्या भोगे। ‘चर्को घाममा नाच्नुपर्ने दृश्य थियो। भुइँमा चिप्लो खालको कार्पेट थियो। घामले त्यो यति छिटो ताँतिदो रहेछ कि नाच्नलाई पनि सकस पर्‍यो,' गौरवले भने, ‘मेरो बुझाइमा आउटडोरमा खास गरी चर्को घाम लागेको बेला सुटिङ गर्न समस्या हुन्छ। कतिपय अवस्थामा त्यहाँ कलाकारलाई बस्ने कुर्सीको पनि व्यवस्था हुँदैन र खानेपानीको अभाव पनि हुन्छ।'

सुटिङस्थलको विकटताले पनि फिल्मको छायांकनमा सास्ती भोग्नुपर्ने अनुभव गौरवको छ। फिल्मको छायांकन भइरहँदा हेर्न आउने दर्शकले पनि काममा अवरोध गर्ने गरेको गौरव बताउँछन्। ‘सुटिङ हेर्न आउनेले हाम्रो समस्या बुझ्दैनन्। जसले गर्दा केही समय सुटिङ रोक्नुपर्ने अवस्था आउँछ। समय व्यवस्थापन गरेर काम गरियो भने यस्तो झण्झटिलो अवस्था कहिल्यै आउँदैन।' फिल्म ‘पसिना'को पनि काम सकेर फुसर्दमा रहेका गौरवले भने। गौरव युट्युबमा भाइरल बनेको गीत ‘साइँली'का मोडल पनि हुन्।

बनाउनेलाई उस्तै सास्ती

सुटिङमा कलाकारले बढी सास्ती भोग्ने देखिए पनि फिल्ममा लगानी गर्ने निर्माता चाहिँ कलाकारभन्दा आफूहरुले बढी सास्ती भोग्ने गुनासो गर्छन्। निर्माता तथा कलाकार केशव भट्टराईको बुझाइ यस्तै छ। ‘कलाकारलाई कहिलेकाहीँ २४ सै घण्टा खट्नु पर्ने बाध्यता हुन्छ। उनीहरु ज्यान जोखिममा राखेर काम गर्छन्। विकट गाउँमा सुटिङ हुँदा उनीहरुलाई त्यहाँ लैजान समस्या पर्छ,' निर्माता भट्टराई भन्छन्, ‘तर मेरो बुझाइमा कलाकारभन्दा बढी सास्ती निर्माताले पाउँछन्। ड्राइभरदेखि निर्देशकसम्मको ६० भन्दा बढीको समूहको जिम्मेवारी निर्माताले लिएको हुन्छ। त्यसकारण पनि कलाकारभन्दा निर्माता बढी जोखिममा हुन्छन्। फिल्म युनिटसँगै मौसमले पनि निर्मातालाई सधैं चिन्तित बनाइरहेको हुन्छ।'

फिल्म ‘धनपति'को पोष्ट प्रोडक्सनको काम धमाधम भइरहेको बेला फिल्मका निर्देशक दीपेन्द्र के खनालले फिल्मको सुटिङताका पाएको दुःखलाई स्मरण गरे। ‘मेरो फिल्मले सडकमा यात्रा गर्ने पात्रको कथालाई प्रस्तुत गरेको छ। यो फिल्म सडकमा खिच्दा निकै सास्ती खेप्नुपर्‍यो। फिल्मको सट सही हुँदा पनि क्यामराको फ्रेममा अनावश्यक मान्छेको प्रवेशले रिटेक गर्नुपर्थ्यो,' दीपेन्द्रले सम्भि्कए, ‘हामीकहाँ फिल्म खिचिने स्थानदेखि अन्य प्राविधिक कुराको पनि अभाव छ। पर्याप्त मात्रामा स्टुडियो पनि छैन। जसले गर्दा आउटडोर नै खिच्नुपर्ने बाध्यता छ।'

निर्माता तथा निर्देशक आकाश अधिकारी नेपालमा फिल्म सुटिङ गर्दा छायांकनस्थलका लागि तनाव भोग्नुपर्ने बताउँछन्। ‘छायांकनस्थलसँगै फिल्म युनिटलाई सुरक्षाको प्रबन्ध पनि छैन,' नेपाल चलचित्र निर्माता संघका अध्यक्षसमेत रहेका अधिकारीले भने, ‘कुनै अप्ठ्यारो ठाउँमा फिल्म सुटिङ गर्नुपर्‍यो र त्यसका लागि निर्माताले जति पनि पैसा खर्च गर्छु भन्दा पनि राज्यले त्यसमा ध्यान दिएको पाइँदैन। कुनै निकुञ्जमा वन्यजन्तुलाई अवरोध नपुर्‍याइकन फिल्म छायांकन गर्छु भन्दा पनि त्यस्तो अवस्था भेटिँदैन।' उनले कलाकारले छायांकनका बेला दुःख दिने गरेको गुनासो आफू कहाँ आउने गरे पनि आफूले चाहिँ त्यस्तो समस्या नभोगेको बताए। ‘मैले फिल्मको काम गर्दा कलाकारसँग सम्झौता गरेको हुन्छु। त्यही सम्झौता र प्रतिबद्धताअनुसार काम गर्नाले कलाकारबाट मैले दुःख पाएको छैन,' उनले भने।

प्रकाशित: ७ वैशाख २०७४ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App