८ वैशाख २०८१ शनिबार
समाज

आगोले जलेका राउटे युवालाई काठमाडौं लगियो

आगोले जलेर थलिएका राउटे युवा कपिल शाही । नगेन्द्र उपाध्याय

लैयाँटी (दैलेख)– आगोले जलेर एक वर्षदेखि थलिएका राउटे युवा कपिल शाहीलाई उपचारका लागि काठमाडौं लगिएको छ। अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेका थिए । आगोले पाखुरा, ढाड र पेट जलेका शाही एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएका हुन्। उनलाई उपराष्ट्रपतिका छोरा दिपेश पुनको पहलमा बुधबार काठमाडौं लगिएको छ।

राउटे समुदाय अहिले पनि झारफूक र जडिबुटीमै विश्वास राख्छ। अस्पतालमा गएर उपचार गराउन मान्दैन्। ‘एक वर्षदेखिको निरन्तरको प्रयासपछि आगोले पोलेर थलिएका कपिललाई उपचारका लागि काठमाडौं लिन सफल भयौं,’ पुनले भने, ‘काठमाडौंको सुविधासम्पन्न अस्पतालमा उपचार गराएर बस्ती फर्काउँछौं।’ कपिल राउटे मुखिया वीरबहादुर शाहीका जेठा छोरा हुन्। समयमै उपचार नपाउँदा घाउ बल्झिए उठ्नै नसक्ने भएका कपिलको उपचारका लागि बेल्जियमका डाक्टर लुक बुकुरसहितको टोली लगेर कपिल राउटे बस्दै आएको दैलेखको विन्द्रासैनी पुगेका थिए।

डाक्टर लुकले बस्तीमै उपचार संभव नभएको बताएपछि राउटे समुदाय कपिललाई उपचारका लागि अस्पताल पु¥याउन राजी भएको थियो। ‘डाक्टरले उपचार नपाए बाँच्दैन, भनेपछि काठमाडौं उपचारका लागि लग्दैछौं,’ अर्का मुखिया सूर्यनारायण शाहीले भने, ‘जनतालाई जसरी पनि बचाउनु प¥यो।’  

उपचार अभावमा कपिलजस्तै धेरै राउटे समुदाय बस्तीमै थलिएको छन्। महामुखिया ऐनबहादुर शाहीकी छोरी थलिएको पनि एक वर्ष पुग्यो। बेल्जियमका डाक्टर लुकका अनुसार उनको अवस्था पनि गम्भीर छ। उनको छाती र तल्लो पेटमा समस्या छ। मैनबहादुरले डाक्टरी उपचारप्रति आफूहरुको विश्वास नभएकाले छोरीलाई नपठाएको बताए। ‘कपिल सन्चो भएर आएपछि छोरीलाई पठाउँछु,’ उनले भने, ‘अहिलेसम्म हामीले अस्पतालमा गएर उपचार गराएका छैनौं, अस्पतालप्रति विश्वास पनि छैन।’
राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले कपिलसहित चार जना राउटेलाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको बताइन्। ‘यसरी उपचारका लागि अस्पताल लग्न लागिएको यो पहिलो घटना हो,’ उनले भनिन्, ‘कपिलको उपचार सफल भएमा अरु राउटे पनि अस्पताल आउन थाल्छन्।’

राउटेको उपचारको व्यवस्था पिपुल टु पिपुल बेल्जियमले गर्ने भएको छ। एनआरएन बेलिज्यमका महासचिव एवम् पिपुल टु पिपुलका सदस्य लोक दाहालले कपिलको उपचारको सम्पूर्ण व्यवस्था आफूहरुले गर्ने बताए। ‘डा. लुक बुकरसहितको चार जनाको टोलीले राउटे बस्तीको अनुसन्धान गरेर घाइते राउटे युवा कपिललाई पनि सँगै ल्याएर आएको छ,’ उनले भने, ‘उनको उपचारका लागि लाग्ने खर्चको सम्पूर्ण व्यवस्था हामी गर्छाैं।’

मध्यपहाडी जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हाल दैलेखको विन्द्रासैनीमा छन्। राउटे समुदाय करिव एक सय ५२ को हाराहारीमा छन्।

 

 

 

प्रकाशित: ६ वैशाख २०७४ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App